टिम चौराहाले जित्यो डिपिएल-२ को उपाधि, काठमाडौं २१ रनले पराजित

कैलाली, ३० चैत ।

रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणको उपाधी पनि टिम चौराहा धनगढीले नै जितेको छ। सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिताको उपाधि दोस्रो पटक जित्नेक्रममा घरेलु टिमले काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेर टिम चौराहाले १८१ रन बनाएको थियो। १८२ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रनमा सिमित भयो।

काठमाडौंका लागि अमित श्रेष्ठले विष्फोटक ब्याटिङ गर्दै ५८ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्लले ३०, सन्नी पटेलले २२ र नरेश बुढाऐरले १९ रन बनाए।

बलिङतर्फ टिम चौराहाका ललित भण्डारीले ३ र रोहन मुस्ताफाले २ विकेट हात पारे र जित सुनिश्चित गरे।

टस जितेर पहिले ब्याटिङ गरेको टिम चौराहाले २० ओभरमा ४ विकेटको क्षतिमा १८१ रन बनाएको थियो। जसमा सुनिल धमलाले ७८ रनको उत्कष्ट पारी खेले। उनले ६३ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए। रोहन मुस्ताफाले ६० रन बनाए।

काठमाडौंका लागि बलिङतर्फ सुबोध भाटीले २ विकेट लिए भने सन्नी पटेलको नाममा एक विकेट रह्यो।

उपाधिसँगै धनगढीले २५ लाख रुपैयाँ नगद जितेको छ। उपविजेता काठमाडौंले १० लाख रुपैयाँ पायो।

Back to top button