
काठमाडौं, २९ चैत ।
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सामूहिक नेतृत्वबाट अघि बढाउने प्रतिवद्धता जनाएका छन् । उच्च पदस्त अधिकारीहरुको विदाई समारोहलाई सम्बोधन गर्दै खनालले संस्थागत र सामूहिक नेतृत्वका आधारमा जिम्मेवारी निर्वाह गर्ने स्पष्ट पारेका हुन् ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले २०४६ सालमा प्रहरी सेवा प्रवेश गरेका डीआईजी खनाललाई २६ औं महानिरीक्षकमा बढुवा गरेको थियो । २०४४ चैत २८ गते सेवा प्रवेश गरेका आईजीपी प्रकाश अर्यालसहित १५ एआईजी, ८ डीआईजी र १ एसएसपीले ३० वर्षे सेवाअवधिका कारण बुधबारबाट एकैदिन अवकास पाएका छन् ।
बुधबारबाटै अवकास पाएका आईजीपी अर्यालले प्रहरी कमान्डको जिम्मेवारी नवनियुक्त आइजीपी खनाललाई हस्तान्तरण गर्दै ३० वर्षको अवधिमा धेरै आरोह–अवरोहको सामना गर्नुपरेको बताए । आफ्नो १ वर्षे कार्यकालमा प्रहरी संगठनको अहितमा कुनै काम नगरेको अर्यालले दावी गरे । नवनियुक्त आईजीपी खनाल क्षमतावान र संगठनको छवी उकास्न सक्षम अधिकृत भएको भन्दै अर्यालले संगठन र देशको हितमा बाहिर बसेर पनि सक्रिय रुपमा सहयोग गर्ने बताए ।
यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीका ३० भन्दा बढी उच्च अधिकारीले बुधबारबाटै एकैसाथ अवकास पाएका छन् । आईजीपी अर्याल, एआईजीहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, माधव जोशी, पशुपति उपाध्याय, विजयलाल कायस्थ, मधुप्रसाद पुडासैनी, कमलसिंह बम, केशरीराज घिमिरे, कमलसिंह बम, मिङमार लामा, माधवप्रसाद नेपाल, रणबहादुर चन्द, हेमन्त पाल, पंकज श्रेष्ठ, बिजय भट्ट, डीआईजीहरु केदारमानसिंह भण्डारी, गणेश केसी, रमेश भट्टराई, गोविन्द निरौला, पुस्कलराज रेग्मी, पुष्पचन्द्र रञ्जित, रोमेन्द्रसिंह देउजा र सुदीप आचार्य तथा एसएसपी विष्णुहरी गौतम बिहीबारबाट ३० वर्षे अवधिका कारण अनिवार्य अवकास पाएका हुन् । उनीहरुले २०४४ चैत २९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।
यसैगरी २०४४ चैत ८ गते नै सेवा प्रवेश गरेक सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ तथा एआईजीद्वय प्रकाश ओझा र प्रेम शाहीले पनि बुधबारबाटै अवकास पाएका छन् । सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक शैलेन्द्र खनालले तीनैजनालाई बुधबार विदाई गरेका हुन् ।