
गोरखा संसार
फागुन ७, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित खोलाघाटमा रहेको ऐतिहासिक, धार्मिक मन्दिर मंगलेश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्वको अवसर पारी फागुन ७, ८ र ९ गते च्याङ्ली शिवरात्री धार्मिक तथा साँस्कृतिक मेला आजबाट शुरु हुने भएको छ । जसअन्तर्गत आज भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, प्रमाण पत्र, मेडल र ट्रफी पाउनेछ भने द्धितीय हुनेले नगद १० हजार, प्रमाण पत्र, मेडल र ट्रफी पाउने छन । वडा कार्यालय को सहयोगमा मेला सञ्चालन समिति तथा च्याङ्ली स्पोर्ट क्लबको सह आयोजनामा विविध कार्यक्रम सहित धार्मिक मेला सञ्चालन गर्न लागिएको मेला सञ्चालन समितिका अध्यक्ष रामकृष्ण भण्डारीले बताउनुभयोे । पुरानो र ऐतिहासिक मन्दिर विविध कारणबाट पछि पर्न थाल्यो यसको प्रचार प्रसार गर्न जरुरी छ, त्यसैले यसको प्रवद्र्धन र प्रचार प्रसारको लागी मेला आयोजना गर्न लागिएको हो, उहाँले बताउनुभयो । मेलाका अवसरमा ७ र ८ गते पालुङ्टार नगरपालिकाको वडा स्तरीय भलिबल प्र्र्रतियोगिता सञ्चालन गरिने र सांझ हरेक दिन स्थानीय तथा राष्टिय कलाकारहरुको प्रस्तुति राखिने बताइएको छ ।
कार्यक्रको लागि सम्पूर्ण तयारी पूरा भइसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण भण्डारीले बताउनुभएको छ । हिजो वरपरका महिला समूह तथा स्थानीयहरु जुटेर सरसफाइ लगायतका आवश्यकीय कार्यहरु गरिसकिएको समेत भण्डारीले बताउनुभयो । उहाँका अनुसार सरसफाइका लागी स्थानीय स्तरमा रहेका खोलाघाट भट्टफाँट टोलविकास संस्था, कालिका महिला समूह, दिगो महिला समूह, सरस्वती महिला समूह, मंगलेश्वर कृषक क्लब, रियल सनस्टार युवा क्लब लगायतका हरुको उपस्थिति रहेको थियो ।
९ गते विहान देखि पूजा अर्चना गरिने र दिउँसो प्रगति महिला समूह याम्पाफाँट तनहूँको आयोजनामा शिवपुरायण बाचन गरिने र साँझ साँस्कृतिक कार्यक्रम सहित रात्री जाग्राम बस्ने कार्यक्रम रहेको छ । त्यस्तै गरी कार्यक्रमलाई मिनि महोत्सवको रुपमा विकास गर्दै लगेर पुरानो बिरासतमा फर्काउनको लागी मेला आयोजना गर्नू परेको वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनुभयो । देशमा ससस्त्र द्धन्द्ध शुरु हुनु अघिसम्म सो स्थानमा हप्तौंदिनसम्म मेला लाग्ने र मेला भर्नका लागी देशका विभिन्न भू भागबाट समेत मेला भर्न दर्शनार्थीहरु आउने गर्दथे । देशमा ससस्त्र द्धन्द्ध पश्चात प्रतिकूल बातावरणका कारण पछिल्ला दिनहरुमा बिस्तारै मेला कम हुँदै जान थालेको र त्यसपछिका दिनहरुमा जताततै मन्दिर स्थापना गरिएकोले पनि यस स्थानमा दर्शनार्थीहरुको संख्या कम हुँदै गइरहेको स्थानीयहरुको भनाई रहेको छ । त्यसैले पनि यस स्थानमा धार्मिक महोत्सवको रुपमा कार्यक्रमहरु अगाडी बढाउन सकेमा विस्तारै दर्शनार्थीहरुको समेत संख्या बढाउन सकिने स्थानीयहरु बताउँछन । कार्यक्रमको संयोजन गोरखा संसार मिडिया प्रा.लि.ले गर्नेछ ।