
राजेन्द्र न्यौपाने
गोरखा, २९ माघ । नेपालका प्रथम सहिद लखन थापा मगरको १४३ औं स्मृति दिवस कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड फागुन २ गते गोरखा आउने भएका छन् ।
वि.सं. १९३३ सालमा गोरखा जिल्लाको बुंकोट स्थित काउलेभंगारमा खिर्राको रुखमा झुण्ड्याएर तत्कालिन राणा शासकले थापालाई मारेको थियो । उनीसँगै जैसिङ चुमि राना मगरलाई पनि सोही स्थानमा सोही शासकले मारेको थियो ।
सहिद लखन थापा गाउँपालिकाको आयोजनामा हुने उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डको स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए । सहिदको शालिक रहेको स्थान काउले भंगारमा विहान १० बजेबाट कार्यक्रम सुरु हुने उनको भनाई छ । अध्यक्ष प्रचण्ड सोही दिन धादिङको कार्यक्रममा जानुपर्ने भएकोले ढिलोमा १ बजेसम्म अध्यक्ष प्रचण्डले सम्बोधन गरिसक्ने उनले जानकारी दिए ।