
गोरखा संसार,
माघ २३, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिकामा डकर्मीहरुका लागी क्षमता अभिवृृद्धि तालिम शुरु भएको छ । जसअन्तर्गत पहिलो चरणको तालिम नगरपालिकाको वडा नं. ७ बिरुवाटार र वडा नं. ९ को शेरामा डकर्मीहरुका लागी ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना गोरखाले पालुङ्टार नगरपालिकामा स्थानीय डकर्मीलाई निजी आवास पुन निर्माणमा सहजीकरण गर्ने उदेश्यका साथ क्षमता अभिवृद्धि तालिम प्रदान गरिएकोे पालुङ्टार नगरपालिका क्लष्टर २ का परियोजना संयोजक नरेश निदालले बताउनुभयो । कार्यक्रमको समापन मा बोल्दै वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले तालिम पाएका डकर्मीहरुद्धारा निजी आवास निर्माण गराउँदा अझ बलियो र टिकाउ हुने विश्वास व्यक्त गर्नुभयो ।
तालिममा १६ जना डकर्मीहरु सहभागी रहेका थिए भने तालिममा इन्जिनियर श्यामकृष्ण न्यौपाने, सहजकर्ता दयाराम लामिछाने, आवास निर्माण साथी क्रा लामा, विपिन के.सी., कोपिला कुमाल र रामेश्वरी पाण्डे ले सहजीकरण गरेका थिए ।
तालिममा ढुंगाको गारोमा माटो मसलाको जोडाई, इँटाको गारोमा सिमेन्ट मसलाको जोडाई, पिल्लरवाला घर, तारजालीको घर, ठाडो र तेर्सो कोठा विस्तार सहित ७ वटा विभिन्न विधामा सुरक्षित आवास निर्माण गर्ने तरिका सिकाईने इन्जिनियर न्यौपानेले जानकारी दिनुभयो । तालिमका दौरान स्थानीय डकर्मीलाई ६० प्रतिशत प्रयोगात्मक र ४० प्रतिशत सैद्धान्तिक ज्ञान दिइएको समेत इन्जिनियर न्यौपानेले बताउनुभयो ।
अहिलेसम्म पालुङ्टार नगरपालिका भरि ४ स्थानमा सम्पन्न तालिमबाट ६० जना डकर्मीहरुले तालिम लिइसकेको र प्रत्येक चरणको तालिममा १५ जना सहभागी गराइनुका साथै तालिम पश्चात प्रमाणपत्र समेत दिइने क्लष्टर २ का इन्जिनियर श्यामकृष्ण न्यौपानेले जानकारी दिनुभएको छ ।