
गाेरखा संसार,
माघ २१, गाेरखा ।
पालुङ्टार ७ च्याङ्लीमा २ दिने पशु स्वास्थ्य घुम्ती शिविर सम्पन्न भएको छ । नगर पशु स्वास्थ्य कार्यालयको प्राविधिक सहयोग र वडा नं. ७ कार्यालयको आर्थिक सहयोगमा १९ गते आहालेवरबाट वडाध्यक्ष बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा शुरु भएको थियो । पशु स्वास्थ्य तथा रेविज रोग नियन्त्रणको लागी शिविरको आयोजना गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । पहिलो दिनमा १२२ जनाको करीब २ हजार ५ सय पशुहरुको परीक्षण गरिएको थियो भने दोश्रो दिन २० गते डोटीपिपलमा करीब १३५ जनाको ३ हजार बढी पशुहरुको स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको पालुङटार नगरपालिका नगर पशु स्वास्थ्य कार्यालयका प्रमुख गोविन्द कुमार श्रेष्ठले बताउनुभयो । सो अवसरमा गाई, भैंसी, सुंगुर, बंगुर, कुखुरा लगायतका पशुपंक्षीहरुका लागि निशुल्क औषधी बितरण गरिएको थियो । त्यस्तै गरी कुकुरका लागि निशुल्क रेविज भ्याक्सिन उपलब्ध गराइएको थियो । २ दिनमा गरी ७० कुकुरहरुका लागि रेविज भ्याक्सिन उपलब्ध गराइएको पशु स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।