पालुङ्टार ६ मा हाटबजार सञ्चालन, स्थानीय कृषि उपज विक्रीमा सहजता

गोरखा संसार
माघ १८, गोरखा ।
पालुङ्टार ६ मा माघ १८ गते शनिबारदेखि हाटबजार सञ्चालनमा आएको छ । राधा दामोदर सखिना कृषि समूहको संयोजनमा आज वडा नं. ६ का वडाध्यक्ष गोविन्द बराकोटीको प्रमुख आतिथ्यतामा हाटबजारको उदघाटन गरिएको छ । हाटबजार उदघाटनको क्रममा बोल्दै वडाध्यक्ष बराकोटीले हाटबजार सञ्चालनसंगै स्थानीय स्तरमा उत्पादित सामग्रीहरुको बिक्रीवितरणमा सहजता आउने र किसानहरुले आफ्नो सामान उचित मूल्यमा सिधै उपभोक्तामाझ पुर्याउन सक्ने बताउनुभयो । हाटबजार वडा नं. ६ र ७ को संगमस्थल ठाँटीटारको नयाँ चौतारोमा शुरु गरिएकोे छ । हाटबजार सञ्चालनको लागी किसान क्लब दर्ता गरी अघि बढेको र हरेक शनिबार सञ्चालन गर्ने क्लबका दिक्पाल अधिकारीले जानकारी दिनुभयो । हाटबजारमा कृषि उपज विक्रीको लागी आफ्नो टोल तथा घरमा उत्पादित कृषि सामग्रीहरु सहित उपस्थित हुन समेत क्लबले सूचना जारी गरेको थियो भने उदघाटनको पहिलो दिनमा स्थानीयहरुले आफ्नो कृषि उपजहरु ल्याएका थिए । मुख्य गरी साग लगायतका स्थानीय स्तरमा उत्पादित अर्गानिक तरकारी तथा फलफूल, स्थानीय जातका राँगा तथा खसी बोकाको मासु लगायतका सामग्रीहरु बिक्री बितरण गरिएको थियो । पहिलो दिन १८ गते शनिबार नै करीब १ लाख बराबरको आर्थिक कारोबार भएको वडा नं. ६ का वडाध्यक्ष गोविन्द बराकोटीले जानकारी दिनुभयो । रामेश्वर काफ्लेको अध्यक्षतामा उदघाटन कार्यक्रम गरिएको कार्यक्रममा समूहका सदस्य विष्णुप्रसाद रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो भने बालकल्याण मा.वि.का विद्यालय व्यवस्थापन समितिका सदस्य जनकराज भट्ट, सखिना कृषक समूहका अध्यक्ष सुब्बा पन्त, गाइखुर उपभोक्ता सहकारीका अध्यक्ष अमृत काफ्ले लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन भने केदार बराकोटीले गर्नुृभएको थियो ।

Back to top button