पालुङ्टारमा डकर्मीहरुका लागी प्रवलीकरण सम्बन्धी अभिमूखिकरण तालिम सम्पन्न

गोरखा संसार,
माघ १०, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिकामा प्रवलीकरण सम्बन्धी तालिम दिने उद्देश्यले ४ दिने डकर्मी अभिमुखिककरण तालिम सम्पन्न भएको छ । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना गोरखाले पालुङ्टार नगरपालिकामा स्थानीय डकर्मीलाई प्रवलीकरण सम्बन्धी ४ दिने तालिम दिएको हो । वडा नम्बर ६ नांगेडाँडा स्थित स्थानीय मिना परियारको दुई तल्ले ढुङ्गामाटोको घरमा स्थानीय डकर्मीलाई प्रवलीकरण सम्बन्धी तालिम दिइएको पालुङ्टार नगरपालिका क्लष्टर २ का परियोजना संयोजक नरेश निदालले बताउनुभयो । उहाँले प्रवलीकरण बारे तालिम प्राप्त प्राविधिकबाट स्थानीय डकर्मीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम प्रदान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘घरधनी मिना परियारको सामान्य क्षति भएको ढुङ्गामाटोको घर प्रबलीकरणमा परेको तर उहाँलाई प्रवलीकरण कसरी गर्ने समेत थाहा नपाएर अन्यौलमा रहेको बेला उहाँकै घरमा काम गर्ने डकर्मीहरुलाई हामीले तालिम दिएका हौंʾ । परियोजनाका वरिष्ठ सामाजिक परिचालक दशरथ रौनियारले तालिम लिएका डकर्मीलाई प्रवलीकरण सम्बन्धी सामाजिक सशक्तिकरणको पक्ष तथा सुरक्षित जीविकोपार्जनका लागि समेत मद्दत पुग्ने बताउनुभयो ।
यसैबीच, परियोजनाले स्थानीयस्तरमा प्रवलीकरण सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले गोरखा नगरपालिकामा १, पालुंगटार नगरपालिकामा १,आरुघाटमा १, धार्चे गाँउपालिकाको काँशी गाँउमा १ तथा सिरानचोक गाँउपालिकामा १ घरमा प्रवलीकरण भएको जिल्ला सिजियर इन्जिनियर सन्तोष लामाले बताउनुभयो । आगामी दिनमा समेत परियोजनाले स्थानीय स्तरमा जनचेतना फैलाउने उद्देश्यले करिब २० वटा घरमा प्रवलीकरण गर्ने लक्ष्य लिएको जिल्ला संयोजक राम सापकोटाले बताउनुभयो । सापकोटाले भन्नुभयो, ‘मौलिक घरको जर्गेना गर्न प्रवलीकरण सम्बन्धी जनचेतना वडास्तरमा फैलाउन आवश्यक रहेकोले प्रशिक्षण दिएर जनशक्ति उत्पादन गर्ने यस तालिमको उद्देश्य हो ।
तालिममा १२ जना डकर्मीहरु सहभागी रहेका थिए भने तालिममा इन्जिनियर श्यामकृष्ण न्यौपाने, सहजकर्ता दयाराम लामिछाने, आवास निर्माण साथी क्रा लामा, अशोक लामा र नर बहादुर अंगाईं ले सहजीकरण गरेका थिए । यसै गरी सिनियर इन्जिनियर सन्तोष लामा र परियोजनाका वरिष्ठ सामाजिक परिचालक दशरथ रौनियारले समेत सहजीकरण गरेका थिए ।

Back to top button