शहिदलखन गाँउपालिकामा प्रवलीकरण सम्बन्धी अभिमूखिकरण तालिम सुरु

गोरखाको शहिदलखन गाँउपालिकामा प्रवलीकरण सम्बन्धी तालिम दिने उद्देश्यले ४–४ दिने डकर्मी अभिमुखिककरण तालिम सुरु भएको छ । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना गोरखाले शहिदलखन गाँउपालिकामा ४–४ दिन गरेर स्थानीय डकर्मीलाई प्रवलीकरण सम्बन्धी तालिम दिएको हो । वडा नम्बर ५ मास्किछाप स्थित स्थानीय तेज बहादुर थापाको दुई तल्ले ढुङ्गामाटोको घरमा स्थानीय डकर्मीलाई प्रवलीकरण सम्बन्धी तालिम दिइएको शहिदलखन गाँउपालिकाका परियोजना संयोजक रघुनाथ रिमालले बताउनुभयो । उहाँले प्रवलीकरण बारे तालिम प्राप्त प्राविधिकबाट स्थानीय डकर्मीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम प्रदान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘घरधनी तेज बहादुर थापो सामान्य क्षति भएको ढुङ्गामाटोको घर मौलिक पहिचान भएकाले त्यसलाई भत्काउनु भन्दा सुरक्षित बनाउन इच्छुक हुनुहुन्थ्यो’ । नयाँ घर निर्माण गर्नु भन्दा समयको समेत बचत हुने भएकाले समेत प्रवलीकरण गर्न तेजबहादुर सहमत हुनुभयो । ’ परियोजनका वरिष्ठ सामाजिक परिचालक दशरथ रौनियारले तालिम लिएका डकर्मीलाई प्रवलीकरण सम्बन्धी सामाजिक सशक्तिकरणको पक्ष तथा सुरक्षित जीविकोपार्जनका लागि समेत मद्दत पुग्ने बताउनुभयो ।
यसैबीच, परियोजनाले स्थानीयस्तरमा प्रवलीकरण सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले गोरखा नगरपालिकामा १, पालुंगटार नगरपालिकामा १,आरुघाटमा १, धार्चे गाँउपालिकाको काँशी गाँउमा १ तथा सिरानचोक गाँउपालिकामा १ घरमा प्रवलीकरण भएको जिल्ला इन्जिनियर समिर भट्टराईले बताउनुभयो । आगामी दिनमा समेत परियोजनाले स्थानीय स्तरमा जनचेतना फैलाउने उद्देश्यले करिब २० वटा घरमा प्रवलीकरण गर्ने लक्ष्य लिएको जिल्ला संयोजक राम सापकोटाले बताउनुभयो । सापकोटाले भन्नुभयो, ‘मौलिक घरको जर्गेना गर्न प्रवलीकरण सम्बन्धी जनचेतना वडास्तरमा फैलाउन आवश्यक रहेकोले प्रशिक्षण दिएर जनशक्ति उत्पादन गर्ने यस तालिमको उद्देश्य हो ।

Back to top button