
गोरखा संसार
पौैष २६, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं.७ मा रहेको च्याङली सामुदायिक सिकाइ केन्द्रले १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सिकाई केन्द्रका अध्यक्ष रविन्द्र कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले सिकाई केन्द्र मार्फत विविध प्रकारका शैक्षिक तथा सिपमूलक कार्यक्रमहरु सञ्चालन गर्दै अघि बढनुपर्ने बताउनुभयो । सिकाई केन्द्र व्यवस्थापन समितिका सदस्य इन्द्र कोइरालाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सुन्दरबजार नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख ठाकुरजी तिवारीले सिकाई केन्द्रको इतिहास, स्थापना तथा कार्यक्षेत्रका बारेमा सहजीकरण गर्नुभएको थियो ।
पालुङ्टार नगरपालिका शिक्षा शाखाका माधव पोख्रेलको समेत कार्यक्रममा उपस्थिति रहेको थियो भने धुवाँकोट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष एवं पालुङ्टार नगरपालिका वडा नं.८ का वडाध्यक्ष शंकरराज कंडेलले सफल सिकाई केन्द्र बन्नका लागी गर्नुपर्ने कामका बारेमा जानकारी राख्नुभएको थियो । गत बर्ष साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा रहेका सिकाई केन्द्रहरुमध्येबाट उत्कृष्ट सिकाइ केन्द्रको रुपमा धुवाँकोट सिकाइ केन्द्रले पुरस्कार समेत प्राप्त गरेको समेत उहाँले सो अवसरमा बताउनुभएको थियो ।
कार्यक्रममा च्याङली सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीहरु, वडा नं. ७ भित्रका टोलविकास संस्थाका अध्यक्षहरु तथा महिला समूहका अध्यक्षहरु सहितका गरी ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन केन्द्रकी परिचालिका राममाया आलेले गर्नुभएको थियो ।
हाल नेपालमा २१५१ सामुदायिक सिकाइ केन्द्र रहेकामा गोरखा जिल्लामा २७ वटा र पालुङ्टार नगरपालिकामा ५ वटा सिकाइ केन्द्र कार्यरत रहेका छन् ।