वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई तुलसीमान श्रेष्ठ लोकसंस्कृति तथा लोकसाहित्य सम्मान

काठमाडौं, २८ मंसिर, २०७६ ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई तुलसीमान श्रेष्ठ लोकसंस्कृति तथा लोकसाहित्य सम्मान अर्पण गरिएको छ । शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक विशेष समारोहकाबीच तुलसीमान श्रेष्ठ स्मृति समाज काठमाडौँले सो सम्मान अर्पण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. केदारभक्त माथेमाले दोसल्ला ओढाएर सम्मानपत्रसहित जोशीलाई सम्मान गरे । कार्यक्रममा स्व. तुलसीमान श्रेष्ठकी श्रीमती, छोरा नीरजमान श्रेष्ठ तथा उनको परिवारसहित वरिष्ठ संस्कृतिविद् प्रा.डा. प्रेमकुमार खत्री, नेपाली कांग्रेसका प्रवक्ता तथा साहित्यकार विश्वप्रकाश शर्मा, नेकपाका केन्द्रीय सदस्य तथा लेखक, साहित्यकार लेखनाथ न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा सम्मानीत व्यक्तित्व शताब्दी पुरुष सत्यमोहन जोशीले लोकसाहित्य नेपालको गहना भएको बताउँदै यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने उल्लेख गरे । आफूले नेपालको पश्चिमी क्षेत्रबाट संकलन गरेर ल्याएका लोकगीत पहिलोपटक २००३ सालमा सुधासागर पत्रिकाले छापेको प्रसङ्ग उल्लेख गर्दै कतिपय लोकसाहित्यहरु अहिले पनि संकलन गर्न नसकिएको बताए ।

कार्यक्रमका वक्ताहरुले स्व. श्रेष्ठ बहुआयामिक व्यक्तित्व रहेको भन्दै उनको शैक्षिक योगदान, राजनीतिक जीवन र साहित्य सिर्जनाको चर्चा गरे । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. केदारभक्त माथेमाले स्व. श्रेष्ठ लोकगीत र लोकसाहित्यप्रति समर्पित व्यक्तित्व भएको चर्चा गरे । उनले लोकसाहित्यको उन्नयनका लागि स्व. श्रेष्ठले जति काम गरेका छन् त्यसलाई व्यवस्थित गर्न समाज सफल होस् भन्ने पनि शुभकामना दिए ।

नेपाली कांग्रेसका प्रवक्ता तथा लेखक, साहित्यकार विश्वप्रकाश शर्माले काठमाडौँको आर.आर. क्याम्पसबाट रिटायर्ड भएका श्रेष्ठले विभिन्न क्याम्पसमा प्राध्यापन गरेकोदेखि गोरखाको च्याङ्लीमा विद्यालय स्थापना र गोरखा क्याम्पसको दर्दनाक अवस्थामा लिएको नेतृत्वको प्रशंसा गरे । शर्माले शिक्षाको विकास र राजनीतिमा देखाएको क्षमता अहिले पनि प्रशंसनीय रहेको बताए ।

नेकपाका नेता तथा लेखक, साहित्यकार लेखनाथ न्यौपानेले स्व. श्रेष्ठ लोकसहित्यको गहना भएको बताए । हिमाल र मान्छे टाढा बसेर हेर्दा नै राम्रो देखिन्छ भनेजस्तो स्व. श्रेष्ठलाई आफूले टाढैबाट चिन्दा विशिष्ट व्यक्तित्व पाएको उल्लेख गरे ।

समाजका अध्यक्ष सीताराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रा.डा. बद्रीविलास भट्टराईले सम्मानीत व्यक्तित्व शताब्दी पुरुष सत्यमोहन जोशीको परिचयसहित अतिथिहरुको स्वागत गरेका थिए । उपस्थित व्यक्तित्वहरुलाई स्व. श्रेष्ठका छोरा निरजमान श्रेष्ठले धन्यवाद दिए ।

Back to top button