प्रवलीकरण सम्बन्धी प्रशिक्षण तालिम सुरु

गाेरखा,
प्रवलीकरण सम्बन्धी तालिम दिने उद्देश्यले गोरखाको सिरानचोक गाँउपालिकामा ४ दिने प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । सामान्य क्षति पुगेका मौलिक संरचनको ढुंगामाटोको घर भएको सिरानचोकको वडा नम्बर ३ हर्मी स्थित सुक बहादुर गुरुङको घरमा प्रशिक्षकहरुलाई प्रशिक्षण तालिम दिई प्रवलीकरण सुरु भएको हो । भारत सरकारद्धारा सहयोग प्राप्त युएनीडीपको समन्वयमा सञ्चालित नेपाल आवास पुनर्निर्माण परियोजनाले सिरानचोक तथा अजिरकोटमा कार्यरत इन्जिनियर, सब इन्जिनियर, सामाजिक सहजकर्ता तथा आवास निर्माण साथीलाई प्रवलीकरण सम्बन्धी प्रशिक्षण दिन लागिएको हो । मौलिक घरको जर्गेना गर्न प्रवलीकरण सम्बन्धी जनचेतना वडास्तरमा फैलाउन आवश्यक रहेकोले प्रशिक्षण दिएर जनशक्ति उत्पादन गर्ने लक्ष्य यस तालिमले लिएको परियोजनाका जिल्ला संयोजक राम सापकोटाले बताउनुभयो । यस्तै, श्रोत व्यक्ती एवम् वरिष्ठ स्ट्रक्चरल इन्जिनियर राजेन्द्र अजित देशाईले पुनर्निर्माण तीव्र गतिमा भएपनि प्रवलीकरण तीव्र स्तरमा हुन नसेकोमा जनस्तरमा प्रवलीकरण सम्बन्धी चेतना फैलाउन प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
परियोजनाले सामान्य क्षति पुगेका घरमा समेत प्रवलीकरण (रेट्रोफिटिङ ) गरेर घर बलियो तथा भूकम्प प्रतिरोधी बनाउन सकिने तथा भविष्यमा प्रवलीकरणका लागि दक्ष जनशक्ति तयार गर्न सहज हुने हेतुले प्रशिक्षक प्रशिक्षण दिएको वरिष्ठ इन्जिनियर सन्तोष लामाले बताउनुभयो । मौलिक पहिचान भएका डेढ देखि दुई तल्ला सम्मका सामान्य क्षति पुगेका ढुंगामाटोका घरमा समेत प्रवलीकरण गरेर बलियो बनाउन सकिने लामाले बताउनुभयो ।
यसैबीच, परियोजनाले प्रवलीकरण सम्बन्धी स्थानीयस्तरमा जनचेतना फैलाउने उद्देश्यले गोरखा नगरपालिकामा १, पालुंगटार नगरपालिकामा १,आरुघाटमा १ र धार्चे गाँउपालिकाको काँशी गाँउमा १ घरमा प्रवलीकरण सम्पन्न गरि सिरानचोक गाँउपालिकामा प्रवलीकरण भईरहेको इन्जिनियर समिर भट्टराईले बताउनुभयो । भट्टराईले भन्नुभयो, प्रवलीकरण आवश्यक रहेका घरमा पूनर्निर्माणमा खटिएका प्रशिक्षकलाई प्रशिक्षण दिइएको हो । आगामी दिनमा समेत परियोजनाले स्थानीय स्तरमा जनचेतना फैलाउने उद्देश्यले करिब २० वटा घरमा प्रवलीकरण गर्ने लक्ष्य लिएको जिल्ला संयोजक राम सापकोटाले बताउनुभयो ।

Back to top button