
धरानः समाजमा दिनप्रतिदिन महिला हिंसा तथा यौनजन्य हिंसा बढ्दा समेत सरकारले यसको नियन्त्रण गर्न नसकेको एम्नेस्टी इन्टरनेशनल नेपालले चिन्ता जनाएको छ ।
२८ औं साधारणसभाको पूर्व सन्ध्यामा धरानमा आयोजित पत्रकार सम्मेलनमा उसले यस्तो चिन्ता व्यक्त गरेको हो । उसले एसिड आक्रमण हुँदा साथै एसिडजन्य विक्रीवितरणमा रोक्न आदेश भइसक्दा पनि खुलेआम बिक्रीवितरण हुनु दुःखद् भनेको छ । कार्तिक २२ र २३ गते धरानमा देशभरका एम्नेस्टी समूहका १३० प्रनिनिधि जम्मा हुने कार्यक्रम छ । कार्यक्रममा बोर्डका सदस्य, पुनरावेदन समितिका सदस्य, पूर्व अध्यक्ष, कर्मचारी, स्वयंसेवक, पर्यवेक्षक साथै अन्तर्राष्ट्रिय बोर्ड र अभियानका प्रतिनिधिहरूको सहभागिता रहने कार्यक्रम छ ।
धरानको होटल गजुर प्यालेसमा हुने साधारणसभा दिउँसो २ बजे राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष निराजन थपलियाले जानकारी दिए । साधारणसभाका अवसरमा एसिड आक्रमणबारे सचेतनाका लागि नाटक समेत प्रस्तुत हुने कार्यक्रम रहेको उनले जानकारी दिए । कार्यक्रममा प्रतिनिधिहरूले गत वर्षको आफ्नो मानवअधिकारसम्बन्धी कार्यहरुको प्रभावका बारेमा चिन्तन र छलफल गर्ने कार्यक्रम रहेको उनले बताए । साधारणसभाका क्रममा जलवायु परिवर्तका विरुद्ध, दण्डहिनताको विरुद्ध, श्रमिक अधिकारबारे, महिला हिंसा न्यूनीकरणबारे निरन्तर दबाब दिने विषयमा बहस हुने उनले बताए ।
‘बन्दसत्रमा संस्थाको आर्थिक प्रतिवेदनलाई छलफल गरी अनुमोदन गर्ने तथा केही मानवअधिकारसम्बन्धी प्रस्तावमाथि पनि छलफल चलाइ पारित गरिनेछ’, वितरित विज्ञप्तिमा भनिएको छ ।
‘नेपालमा गरिहो रुपमा जरा गाडेर रहेको दण्डहीनतालाई अन्त्य गर्ने सवालमा आफ्ना गतिविधिसम्बन्धी परिदृश्यलाई साटासाट गर्दै अन्यालाई व्यक्तिगतरुपमा लिन र त्यसविरुद्ध लाग्न प्रोत्साहित गर्नेछ ।’ विज्ञप्तिमा भनिएको छ ।