छोरीहरुले दिए बाबुकाे शवमा दागबत्ती

रविन्द्र कंडेल
गोरखा, कार्तिक ८गते ।
छोरा नभए स्वर्ग जान पाईंदैन, मरेपछि काजक्रिया गर्न छोरा नै चाहिन्छ, दागबत्ती छोराले नै दिनुपर्छ भन्ने मान्यतालाई चुनौती दिँदै छोरीले शब बोकेर घाटसम्म पुर्याई दागबत्ती दिएर काजक्रियामा बसेका छन् ।
गोरखा जिल्ला पालुङ्टार नगरपालिका वडा नंं. ७ च्याङ्ली गोरखाका कृष्ण बहादुर कुमालको कार्तिक ३ गते ६५ वर्षको उमेरमा पेटको क्यान्सरको कारण मृत्यु भयो । ६ वटी छोरीका बाबु कृष्ण बहादुर कुमालको मृत्यु भएपछि कसले बोकेर घाटसम्म लैजानेदेखि दागबत्ती कसले दिनेजस्ता प्रश्नहरु उब्जिन थाले । यस्तै क्रममा कुमालका छोरीहरु सवै काम आफै गर्न तम्तयार भए । सोही अनुरुप छोरीहरु क्रमश ः बिमला कुमाल ,सिता कुमाल र प्रमिला कुमालले आफ्नो बुबाको शवमा दागबत्ती दिए ।
त्यस्तै गरी अहिले स्वर्गीय कुमालकी श्रीमती अतिमायाँ कुमाल र ६ जना छोरीहरु क्रियामा बसिरहेका छन् । क्रियामा बसेका छोरीहरुले हामी पनि उही बुबाका सन्तान हौं त किन उहाँको काजक्रियामा अग्रसर हुन नहुने बताए । छोराले सरह नै पूरै काजक्रिया संस्कार अनुसार हामी पूरा गछौं, उनीहरुले बताए ।
काजक्रियाको लागी भतिजाहरु भए पनि हामी पनि उहाँकै सन्तान हौं, छोराले गर्न हुने छोरीले क्रिया गर्न किन नहुने भनी छोरीहरु काजक्रियामा लागेको मृतकका कृष्ण बहादुरका माइला ज्वाइँ तथा स्थानीय शिक्षक तारा बहादुर कुमालले जानकारी दिनुभयो ।
महिलाहरुले पनि पुरुष सरह मलामी जाने देखि दागबत्ती दिने र काजक्रियामा बस्ने सम्मका सवै काम गर्न सक्छन भन्ने उदाहरण प्रष्ट भएको छ ।

Back to top button