अलपत्र रुपमा रहेको अपार्टमेन्टको जग्गा कृषि क्याम्पसलाई दिइने

रविन्द्र कंडेल
भाद्र ४, गोरखा ।

गोरखा जिल्लास्थित पालुङ्टार नगरपालिका वडा नं. ७ मा अलपत्र रुपमा रहेको अपार्टमेन्टको जग्गा कृषि तथा बन विज्ञान क्याम्पस सञ्चालन गर्नको लागी दिनुपर्ने नगरप्रमुख इ. दिपक बाबु कंडेलले बताउनुभयो । भेलामा बोल्दै नगरप्रमुख कंडेलले पालुङ्टारको समृद्धिको लागी आफूले हरतरहले पहल गरिरहेको र त्यसका लागी कृषि क्याम्पस सञ्चालनले पनि महत्वपूर्ण योगदान दिने बताउनुभयो । सोही अवसरमा उहाँले नगरपालिका भित्र विभिन्न स्थानमा रहेका सुकुम्बासीहरुका लागी बनाउन लागिएको अपार्टमेन्ट भवन अलपत्र हुँदा आफूलाई दुख लागेको भएता पनि यसमा क्याम्पस सञ्चालन गर्न सकेमा पनि धेरै राहत महसूस हुने बताउनुभयो ।
उहाँले सो कुरा आज वडा नं. ७ च्याङ्लीमा कृषि तथा बन विज्ञान विश्वविद्यालयको आंगिक प्राकृतिक श्रोत तथा व्यवस्थापन क्याम्पस सञ्चालनको लागी सरोकारवालाहरुको एक बृहत भेलामा व्यक्त गर्नुभएको हो । सोही अवसरमा बोल्दै उहाँले पालुङ्टारको समृद्धिको आधार मध्येको एक औद्योगिक क्षेत्र पनि भएकाले सो को लागी पनि सबैले साथ दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । क्याम्पस सञ्चालनको लागी जग्गा क्याम्पसको आफ्नै नाममा जग्गा हुनुपर्ने प्रावधान अनुरुप च्याङ्लीमा रहेको सार्वजनिक पर्ति जग्गा दिने प्रयोजनका लागी उहाँकै अध्यक्षतामा बसेको बैठकले वडा नंं ७ स्थित जीवन ज्योति मा.वि. को स्वामित्वमा ठाँटीटारमा रहेको कि.नं. ७२२ र ७२३ को जग्गा सहित अपार्टमन्ट बनाउन शुरु गरिएको कि.नं. १२४२ को जग्गा, वडा नंं ७ कै पर्ति जग्गा कि.नं. ३११, ३२१,८९०,५२९ लगायतका गरी क्याम्पस सञ्चालन गर्न आवश्यक पर्ने जग्गा दिने निर्णय गरिएको छ ।
वडा नंं ७ का करीब ३०० जनाको उपस्थिति रहेको सो भेलामा वडाध्यक्ष वसन्त कुमार श्रेष्ठ, जीवन ज्योति माध्यमिक विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षकहरु, स्थानीय बुद्धिजिवी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । भेलामा वडाध्यक्ष श्रेष्ठले क्याम्पस सञ्चालनको लागी शुरुदेखि हालसम्म भए गरेको गतिविधीहरुको बारेमा जानकारी दिनुभएको थियो । जीवन ज्योति मा.वि. का प्रधानाध्यापक बद्री बहादुर पाण्डेले सञ्चालन गर्नुभएको सो भेलामा सरोकारवालाहरुले क्याम्पस सञ्चालन अति अपरिहार्य भएकाले सो को लागी सवैले आ आफ्नो ठाउँबाट सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

सुकुम्बासी भवनको निर्माण शुरु गरि डि पि सी लेवलसम्म काम गरेर अलपत्र अवस्थामा रहेको भवन निर्माणको प्रक्रिया अगाडी बढाउन अनुरोध गर्दै नगरप्रमुख कंडेलले यसअघि नै राष्टिय पुन निर्माण प्राधिकरण केन्द्रिय कार्यालयलाई पत्र लेखि पठाइसकिएको बताउनुभएको छ ।

Back to top button