कक्षा ११ को रजिष्टेशन फाराम अब अनलाइनबाटै भर्नुपर्ने, टोल फ्रि नं.१६१८०६१४६६६१२ मा सम्पर्क गर्न सकिने

गोरखा,
रविन्द्र कंडेल, असोज ३
कक्षा ११ को रजिष्टेशन फाराम शैक्षिक शत्र २०७६ देखि अनलाइनबाटै भर्नुपर्ने भएको छ । फाराम भर्दा देखिएका विभिन्न खालका प्राविधिक त्रुटीहरु तथा अन्य कमिकमजोरीहरु हटाउन एवं प्रविधिको बढ्दो प्रयोगसंगै प्रविधिमैत्री बातावरणमा अघि बढने उद्धेश्यका साथ यसै शैक्षिक सत्रदेखि रजिष्टेशन फाराम अनलाइनबाट भर्ने व्यवस्था मिलाइएको प्रदेश परीक्षा बोर्ड पोखरा कार्यालयका निर्देशक विष्णु नारायण श्रेष्ठले बताउनुभयो ।
गोरखाको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको सभाहलमा भएको अनलाइन रजिष्टेशन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै श्रेष्ठले सो कुरा बताउनुभएको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय गोरखामा जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख विष्णु मिश्रको अध्यक्षतामा भएको माध्यमिक विद्यालयका शिक्षकहरुका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा परीक्षा बोर्डकी निर्मला बरालले अनलाइन रजिष्टेशन गर्ने तरीका प्रस्तुती करण गरी प्रष्ट्याउनुभएको थियो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका सुवास आचार्यले स्वागत गर्नुुभएको थियो । सोही अवसरमा प्रदेश परीक्षा बोर्ड पोखरा कार्यालयका उपनिर्देशक नवराज पौडेलले अनलाइन बाट फाराम भर्ने लगायतका कार्य गर्न सकेमा समय र जनशक्तिको बचत हुने हुँदा अन्य खोजमूलक काम गर्न सहज हुने बताउनुभयो ।
गोरखामा २ स्थानमा गरी सञ्चालन गरिएको कार्यक्रममा करीब ७० जनाको सहभागिता रहेको थियो । यस अघि नै गण्डकी प्रदेशको कास्की जिल्लामा सो अभिमुखीकरण सम्पन्न गरिसकेको छ भने आज (असोज ३ गते) तनहुँ र गोरखामा सम्पन्न भइसकेको छ ।
गण्डकी प्रदेशका सवै जिल्लामा पुगी सवै विद्यालयका शिक्षकहरुका लागी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने उप निर्देशक पौडेलले बताउनुभयो । साथै केही समस्या परेमा प्रदेश परीक्षा बोर्ड पोखराको टोल फ्रि नं. १६१८०६१४६६६१२ मा सम्पर्क गर्न सकिने समेत पौडेलले बताउनुभयो ।

Back to top button
Skip Add
Close