करोडौंको लगानीमा विद्यालय बनेका छन, विद्यार्थी संख्या भएन भने नयाँ पुस्ताले धिक्कार्ने छ

रविन्द्र कंडेल
गोरखा, भाद्र २९
पालुङ्टार नगरपालिका वडा नं. ६ स्थित रजगरे मा.वि. को नव निर्मित भवनको हस्तान्तरण समारोहमा बोल्दै पालुङ्टार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कंडेलले करोडौंको लगानीमा विद्यालय भवन बनेको छ, विद्यार्थी संख्या भएन भने हाम्रो पुस्ताले धिक्कार्ने बताउनुभयो ।
२०७२ सालको भूकक्पपश्चात पुन निर्माण भएको श्री रजगरे मा.वि.को १० कोठे भवन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै कंडेलले शिक्षा उत्पादनमुखी एवं रोजगारमूलक बनाउन नसक्दा सम्म विकास र समृद्धि सम्भव नहुने बताउनुभयो ।
विशेष अतिथिको रुपमा बोल्दै नगर उप प्रमुख पम्फा बसेलले अझै पनि शिक्षा गुणस्तरीय र निशुल्क हुन नसकेको प्रति इङ्गि गर्नुभयो । उहाँँले अहिले समाज कृत्रिम रुपमा अघि बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै हाम्रा परम्परा जोगाउन समेत शैक्षिक जगतले ध्यान दिनुपर्ने बताउनुभयो । फरक प्रसङ्गमा उहाँले मदिराका कारण हिंसा बढेकोले हिंसारहित समाज निर्माणको लागी मदिरा नियन्त्रणमा कडाइ गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर बाबु मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का इन्जिनियर बाबुराम देवकोटाले भवन जापान सरकारले नबनाएको तर जापान सरकारसंग ऋण लिएर नेपाल सरकारले नै बनाएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक गोविन्द मल्लले कवितामार्फत विद्यालयका समस्याहरु सुनाउँदै स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै अन्य मन्तव्य राख्नेहरुमा वडा नंं. ६ क वडाध्यक्ष गोविन्द बराकोटी, आदिबासी जनजाती महासँघ पालुङ्टारका अध्यक्ष सिद्धी बहादुर पाटा मगर, लक्ष्मी मा.वि. गाइखुरका सहायक प्रधानाध्यापक गणेश सेडाईं, अभिभावक रेशम श्रेष्ठ लगायतका रहेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जातजातीका जातीय भेषभूषा सहित आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।
जापान सरकारको सहयोग नियोग जाईकाको आर्थिक सहयोगमा निर्माण भएको विद्यालय राष्ट्रिय पुन निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन ईकाई शिक्षाले विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । कुल ३ करोड ४७ लाखमा निर्माण भएको १० कोठे विद्यालय अपाङमैत्री , बालमैत्री, सहित सौर्य उर्जा जडित सुविधाको रहेको ईन्जिनियर निशान अधिकारीले बताउनुभयो । निर्माण सुरु गरेको १५ महिनामा विद्यालयको पूर्ण निर्माण गरी भुकम्प प्रतिरोधी क्षमताका दुई भवन हस्तान्तरण गरिएको अधिकारीले जानकारी दिनुभयो । पुन निर्माण प्राधिकरण अन्तर्गत प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन ईकाई शिक्षाका अनुसार कुल पुननिर्माण गर्नुपर्ने ७ हजार ५ सय ३ विद्यालय मध्ये ५ हजार ६३ विद्यालय निर्माण सम्पन्न भएको छ । अझै १ हजार ८ सय १९ निर्माणाधिन अवस्थामा छ । अझै ६ सय ७१ विद्यालयको पुन निर्माण हुन बाकी रहेको पुन निर्माण प्राधिकरणको पछिल्लो तथ्यांक छ ।
तीमध्ये गोरखामा जाइकाद्धारा ६१ विद्यालयमध्ये २८ वटा विद्यालय हस्तान्तरण गरिसकेको छ भने बाँकीमध्ये केही निर्माण सम्पन्न भइसकेर हस्तान्तर प्रक्रियामा छन भने केही निर्माणाधीन अवस्थामा रहेका छन् ।

Back to top button
Skip Add
Close