जीवनी ः काे हुन शुरेस वाग्ले ?

जनयुद्धको क्रममा उच्च शहादत प्राप्त नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का तत्कालिन वैकल्पिक पोलिटब्युरो सदस्य क. सुरेश वाग्ले (वासु) को जन्म गोरखाको आँपपिपल गा.वि.स. -५ स्थित रातडाँडा भन्ने गाउँमा वि.सं. २०१० साल भाद्र २४ गते बुधबारका दिनमा पिता भोजराज वाग्लेका जेष्ठ सुपुत्रका रुपमा माता दुर्गादेवी वाग्लेको कोखवाट भएको थियो । गरिव किसान परिवारमा जन्मनुभएका क. सुरेश वाग्ले बाल्य अवस्थामा भौतिक रुपमा अत्यन्तै कमजोर तर कुशाग्रबुद्धिका हुनुहुन्थ्यो । ६ वर्षको उमेरमा संस्कृत शिक्षा पढ्नका लागि मावली घर गोरखाकै बक्राङ पुग्नु भएका क. वासुले त्यही मामा घरमै वसेर साँहिला हजुरवा श्री गणेशप्रसाद अर्याल (काना गुरु) सँग कक्षा ७ बराबरको औपचारिक शिक्षा आरम्भ हाँसिल गर्नुभएको थियो । पछि वि. सं. २०२४ सालमा काठमाडौंमा गएर रानीपोखरी स्थित भानु मा.वि. बाट कक्षा ८ मा मध्यमा द्धितिय श्रेणीमा उत्तिर्ण गर्नु भयो। त्यसैगरि रानीपोखरी संस्कृत छात्रवासमा बसेर वि. सं. २०२८ सालमा वाल्मीकी क्याम्पसवाट उत्तर मध्यमा र वि. सं. २०३० सालमा शास्त्री सम्मको अध्ययन पनि नियमित रुपमा पूरा गर्नुभएको थियो । त्यसैक्रममा वि. सं. २०२७ सालबाटै उनी नेपाल र नेपालीको मुक्तिको लागि देशीय सामन्तवाद, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका विरुद्ध लड्ने एकमात्र क्रान्तिकारी पार्टी नेपाल कम्युनिष्ट पार्टी प्रति आकर्षित हुन पुग्नुभएको थियो । त्यतिबेलै उहाँले ऐतिहासिक द्धन्द्धात्मक भौतिकवाद, कम्युनिष्ट घोषणा पत्र, मार्क्सवादी,लेनिनवादी, माओवादी ग्रन्थहरुको गहिरो अध्ययन गरेर आफूलाई पनि समाज परिवर्तनको महान् क्रान्तिकारी बाटोमा दौडाइ सक्नुभएको थियो । सृजनशील क्षमता र सहि विश्लेषण गर्न सक्ने तागत भएका क. वाग्ले विद्यार्थी अवस्था देखि क्रान्तिकारी संगठन (गण्डकी विद्यार्थी परिषद्) मा आवद्ध भई त्यसको सचिव समेत हुनुभएको थियो। उहाँले त्यसबेला गण्डकी विद्यार्थी संगठनको मुखपत्र लालुपातेमा म्याक्सिम गोर्कीको बारेमा संश्लेषणात्मक लेख समेत छपाउनुभएको थियो । वि. सं. २०३१ सालमा आफ्नै गृह जिल्ला गोरखा फर्किएर वि. सं. २०३२ मा आफ्नै गाउँ आँपपीपलको जनता मा.वि.मा शिक्षण पेशामा आवद्ध भएतापनि क. वाग्ले तत्कालिन ने.क.पा. मशालमा आवद्ध भई सक्नु भएको थियो। उहाँ आँपपिपल क्षेत्रमा कम्युनिष्टहरुको बिजारोपण गर्ने पहिलो व्यक्ति पनि हुनुहुन्थ्यो। वि. सं. २०३४ सालमा ने.क.पा.(चौम)को पार्टी सदस्यता लिएका वाग्ले तत्कालिन शिक्षकहरुको छाता संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन तदर्थ समिति गोरखाको सचिव पदमा स्थापित भइ वि.सं. २०३६ सालमा आइपुग्दा लगभग गोरखामा क्रान्तिकारी शिक्षकहरुको नेता बनिसक्नुभएको थियो। वि.सं. २०३५/३६ साल तिर गोरखाको हंसपुर गाविसको ज्ञान ज्योति मा.वि. मा सरुवा भएका क. सुरेश वाग्लेसँग त्यहाँ टुक नाथ अधिकारी, तुलसी खनाल , विन्देश्वरी यादव, ऋषि अधिकारी आदि सरहरु कार्यरत थिए। दिउँसो उनीहरु विद्यालयको शिक्षण पेशालाई अनुशासित ढंगले अगाडी बढाउँदै विहान र बेलुका स्थानिय जनताहरुलाई अन्याय र अत्याचारको विरुद्ध गोलबन्द गराउदै गरिव र निमुखाको राज्य ल्याउने मार्क्सवादी शिक्षाले प्रशिक्षीत र संगठित गर्दै लान्थे । उनीहरुका यस्ता क्रान्तिकारी गतिविधिहरुलाई पंचायतका भरौटेहरुले देखि सहेनन् । अनेक बाहना बनाएर यी संगठित शिक्षकहरुलाई पंचका भरौटेबाट षड्यन्त्रमुलक ढंगले तितरवितर बनाइयो ।त्यसपछि क.वाग्ले पुन: जनता मा. वि. आँपपीपलमै सरुवा हुनुभयो । त्यसपछि विद्यार्थीका कलिला दिमागमा ज्ञानको ज्योतिको सट्टा दमन, पक्षपात, पिडा र यातना दिइयो । कांग्रेसको भर्तीकेन्द्र बनेर विरोधी ( अखिल) विद्यार्थीहरुलाई झुट्टा आरोप लगाउने, यातना दिने, २-३ वर्ष नियोजित ढंगले फेल गरिदिने गुण्डा लगाएर पिटाउने, खेद्ने जस्ता अत्यन्तै बर्बर दमन गरियो । पिडा सहेर ज्ञान ज्योतिमा अखिलका विद्यार्थीहरुले आफ्नो अध्ययनलाई अगाडी बढाए । धेरै प्रतिकार गरेमा आफ्नो भविष्य नै खत्तम हुने डरले धेरै विद्यार्थीहरु त्राहीत्राहीमा पढ्न विवश भए । वि. सं. २०३७ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाको पहिलो जिल्ला अधिवेशनमा पुनः सचिव पदमा क. वाग्ले निर्वाचित हुनपुग्नुभयो । त्यसपछि उहाँ ने.रा.शि.संगठन गोरखाबाट केन्द्रीय प्रतिनिधि बन्नुभयो । ने.रा.शि.संगठनको प्रत्येक बैठकमा क. वाग्ले पार्टीको लाइन लिएर जानु हुन्थ्यो र प्रस्तावित त्यो लाइनको सही विश्लेषण गरी बैठकमा पास गराउने अग्रिम रोल खेल्नु हुन्थ्यो ।यसरी यस क्षेत्रमा कम्युनिष्टको नेतृत्व गरेकै कारणले तत्कालिन पञ्चे सरकारले क. वाग्लेलाई अस्थायी शिक्षकको रुपमा रहन बाध्य पारिरह्यो । स्थायी हुनै दिएन । आफ्नो घरायसी र व्यक्तिगत समस्यालाई उहाँ शिक्षक संगठन र कम्युनिष्ट पार्टीको समस्याको तुलनामा जहिले पनि गौण ठान्नुहुन्थ्यो । पार्टी र संगठनको समस्यालाई प्रधान समस्याको रुपमा लिनु हुन्थ्यो। वि. सं. २०४१ सालमा गोरखा जिल्लाका तत्कालिन पञ्चका दुतहरुले उहाँलाई “ने.रा.शि. संगठनबाट राजीनामा दिए मा.वि. स्थायी शिक्षक बनाईदिन्छौं, बरु स्थायी भएपछि तपाई पुनः ने.रा.शि. संगठनको जिम्मेवार सदस्य भएपनि त्यसमा हामीलाई कुनै मतलव छैन र तपाईले राजीनामा दिएको कुरा पनि गोप्य राख्छौं” भन्दा पनि क. वाग्ले ने.रा.शि.संगठनमा रहेर अस्थायी नै बस्नु परेपनि ठीक छ, म आफ्नो नैतिकतालाई धरौटी राखेर स्थायी शिक्षक बन्ने मेरो नैतिकताले दिंदैन भनि पञ्चका दुतहरुको प्रस्तावलाई सिधै अस्विकार गर्नुभएको थियो । कठोर साधना र तपस्यापछि वि. सं. २०४६ र ४७ को आन्दोलन पछि उहाँ स्थायी शिक्षक बन्नपुग्नुभयो। १७ वर्षसम्म शिक्षण पेशामा अविच्छिन्न सेवा गरेका वाग्लेलाई पञ्चायती शासकहरुले त्यसबेला सम्म स्थायी हुन दिएका थिएनन् । उल्टै उहाँले “उग्रवादी” को विल्ला भिर्नुपरेको थियो । उग्रवादी आरोपकै कारण वि. सं. २०३६ सालमा प्रहरी खोरमा परेका कारण उहाँ स्थायी हुन पाउनुभएको थिएन ।

Back to top button