च्याङ्ली स्वास्थ्य चौकीमा समुदाय स्वास्थ्य प्राप्ताङ्क बोर्डको आमभेला सम्पन्न

रविन्द्र कंडेल
असार ९, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित च्याङ्ली स्वास्थ्य चौकीमा समुदाय स्वास्थ्य प्राप्ताङ्क बोर्डको भेला सम्पन्न भएकोे छ ।
यू.एस.एड सुआहाराको सहयोगमा च्याङ्ली स्वास्थ्य चौकीमा सामुदायिक स्वास्थ्य सूचाङ्क प्राप्ताङ्क बोर्डको आधारमा पोषण कार्यक्रममा बृहत सुधार ल्याउने उद्धेश्यका साथ भेला सम्पन्न गरिएको हो । भेला वडा नं. ७ का वडाध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उक्त आमभेलामा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरु, जनप्रतिनिधीहरु, सेवाग्राहीहरु (१००० दिनका आमा) र सेवा प्रदायकहरुबीच अन्तरक्रिया तथा छलफल गरिएको थियो । सो कार्यक्रमद्धारा ६ वटा स्वास्थ्य र पोषणका सूचांकमा छलफल गरी राम्रा सूचांकहरुलाई निरन्तरता दिँदै सुधार गर्नुपर्ने सूचांकलाई आगामी ६ महिनाभित्र सुधार गर्ने उद्धेश्यका साथ त्रिपक्षिय सहमतिबाट कार्ययोजना निर्माण गरिएको छ । सो कार्ययोजनालाई सफल पार्नको लागी स्वास्थ्य संस्थाका कर्मचारीहरु, स्वास्थ्य संस्था व्यवस्थापन समितिका पदाधिकारीहरु, जनप्रतिनिधी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुले आ आफ्नो तर्फबाट प्रतिवद्धता गर्नुभएको थियो ।
वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले पोषण सुधार कार्यक्रमलाई मध्यनजर गर्दै आगामी ०७७/०७८ को योजना तर्जुमा मा १००० दिनका आमा र बच्चाको पोषण शिर्षकमा बजेट विनियोजन गर्ने र पोषण कार्यक्रम सञ्चालनमा रकम अभाव हुन नदिने प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन गर्दै स्वास्थ्य चौकीका प्रमुख भरतराज पाण्डेले आफ्नो संस्थाले दिँदै आएका सेवाहरुको बारेमा चर्चा गर्नुभएको थियो ।
यसअघि समुदाय स्वास्थ्य प्राप्ताङ्क बोर्ड कार्यक्रम यस नगरपालिकाको वडा नं. ९ मा पनि सञ्चालन भइसकेको छ । यस्ता कार्यक्रमहरुले स्वास्थ्य र पोषणको अवस्था सुधार्ने मात्र नभई सेवाग्राही र सेवा प्रदायकको बीचको सम्बन्धलाई सुदृढ बनाउनुका साथै १००० दिनका आमाहरुलाई सेवा लिन उत्प्रेरित गर्ने विश्वास लिइएको सुआहारा गोरखाका फिल्ड संयोजक बिक्रम तामाङले जानकारी दिनुभयो ।
के के हुन त समुदाय स्वास्थ्य प्राप्ताङ्क बोर्डका ६ वटा सूचकहरु ः
१, गर्भ जाँच तथा पूर्व तयारीको अवस्था
२, संस्थागत प्रसुती, सुत्केरी सेवा साथै प्रोेत्साहन भत्ता वितरणको अवस्था
३, २ वर्ष मुनिका बच्चाहरुको पोषणको नियमित अनुगमन र पोषण स्थिति
४, लैङ्गिक तथा सामाजिक समावेशीकरणको अवस्था
५, महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम तथा सहयोगको अवस्था
६, स्वास्थ्य सुशासन तथा स्थानीय सरोकारवालाहरुको सहयोगको अवस्था

Back to top button
Skip Add
Close