पालुङटार ६ मा एम्बुलेन्स खरीद सहयोगार्थ महायज्ञ शुरु

रविन्द्र कंडेल
जेठ ३२, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ६ पौवाटारमा एम्बुलेन्स खरीदको लागी सहयोगार्थ महायज्ञ शुरु भएको छ । नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा आज (जेठ ३२ ) महायज्ञको उदघाटन समारोह सम्पन्न भएको छ । उदघाटन समारोहमा बोेल्दै प्रमुख अतिथि श्रेष्ठले यस महायज्ञको उदेश्यअनुरुप एम्बुलेन्स खरीद होस भन्ने कामना गर्नुका साथै एम्बुलेन्स खरीदका लागी पर्याप्त रकम उठन सकेन भने पनि कुनै तरहले यस स्थानमा एम्बुलेन्स ल्याउनको लागी आफ्नो तर्फबाट हर तरहले सहयोग गरी जसरी पनि ल्याइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सोही क्रममा उहाँले आफू जनताको समस्या समाधानका लागी घरदैलोमा आउने र यस क्षेत्रमा भएको खानेपानी समस्या तथा कृषि क्षेत्रको समस्या हल गर्न हरतरहले लाग्ने बताउनुभयो ।
पालुङ्टार नगरपालिकाका नगर उप प्रमुख पम्फा बसेलले कार्यक्रममा बोल्दै सहयोगको लागी स्वदेश तथा विदेशमा रहेका सम्पूर्णलाई समेटने गरी योजना बनाएर सहयोग उठाउन सकेमा योजना सफल हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै वडा नं. ६ का वडाध्यक्ष गोविन्द बराकोटीले स्वागत मन्तव्य राख्दै सवैलाई आ आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रम क्लबका अध्यक्ष राजीव मल्लको अध्यक्षतामा भएको थियो ।
असार ८ गतेसम्म सञ्चालन हुने सो श्रीमदभागवद महापुराण सप्ताह ज्ञान महायज्ञ को आयोजकमा प्रगतिशील युवा क्लब रहको छ भने । महायज्ञबाट उठेको रकमबाट आफ्नो क्षेत्रमा एम्बुलेन्स खरीद गर्ने क्लबका पवन अधिकारी ले जनाएका छन् । महायज्ञमा कथा शिरोमणि पं. दिपक प्रसाद पौडेलले कथाबाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
आज बिहाने बाजागाजासहित कलशयात्रा पश्चात महायज्ञको उदघाटन गरिएको थियो । त्यस्तै असार १ गतेदेखि ७ गतेसम्म कथाबाचन गरिने छ । यज्ञअवधिभर ब्रतबन्ध, पितृतर्पण, भूमिदान, तुलादान, तथा जिन्सी सामग्रीहरु दान गर्न सकिने आयोजकले जनाएको छ । आज उदघाटनकै दिन च्याङ्ली स्वास्थ्य चौकीका प्रमुख भरतराज पाण्डेले ५ हजार १ सय ९७ रुपैयाँ दान गर्नुभएको थियो । दाताहरुलाई प्रमुख अतिथि श्रेष्ठको हातबाट दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरिएको थियो ।

Back to top button