
सन्ताेष बस्नेत, जापान
जापानको कावासाकी शहरमा बालबालिका माथि एक व्यक्तिले अन्धाधुन्द चक्कु प्रहार गरेका छन । हमला मंगलबार बिहान स्कुल जानको लागि बसको प्रतिक्षा गरिरहेका स्कुले बालबालिकामाथि भएको हो । उक्त घटनामा घाइते भएका तीन जनाको मृत्यु भएको र कम्तिमा १६ जना घाइते भएको बीबीससीले जनाएको छ । घटनामा विधालयको छौटौं तहमा अध्ययन गर्ने एक बालिका, ३० बर्षिय एक पुरुष र आक्रमणकारीको पनि मृत्यु भएको छ । आक्रमणकारीले अन्य मानिसलाई हमला गरे पश्चात आफ्नो घाँटी आफैले काटेका थिए । घाँटी काटेर घाइते भएका आक्रमणकारीलाई अस्पताल लगिएपनि त्यहाँ उनको मृत्यु भएको थियो । कावासाकी फायर डिपार्टमेन्टका प्रवक्ताले दिएको जानकारी अनुसार मंगलबार बिहान स्थानीय समयअनुसार ७ः४४ मा इमर्जेन्सी फोन आएको थियो । फोनमा एक युवकले मानिसहरुमाथि चक्कु हमला गरेको जानकारी प्राप्त भएको उनले बताए ।स्रोतका अनुसार पुलिसले घटनास्थलबाट दुई चक्कु पनि बरामद गरेको छ । अधिकारीका अनुसार उक्त घटना प्राथमिक विद्यालय नजिकै एक बस स्टपसँगै भएको पार्कमा भएको हो । मृत्यु हुने बालिका पार्कमा खेलिरहेकी थिइन् । प्रहरीले हालसम्म आक्रमणको कारण पत्ता लगाउन सकेको छैन ।