पालुङटारमा लक्ष्य भन्दा ४२ लाख बढी राजस्व संकलन

 

राजेश पौडेल
पालुङटार नगरपालिकाले २०७५÷०७६ को आर्थिक मसान्त सकिनुभन्दा दुई महिना अघि निर्धारित लक्ष्य भन्दा ४२ लाख ७२ हजार ८ सय २७ रुपैयाँ बढी राजस्व संकलन गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७५÷०७६ का लागि ३ करोड १० लाख राजस्व संकलनको अनुमानित लक्ष्य लिएकोमा आर्थिक मसान्त सकिन २ महिना बाँकी रहँदा ३ करोड ५२ लाख ७२ हजार ८ सय २७ रुपैयाँ राजस्व संकलन गरेको हो । नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा १ करोड ५० लाख राजस्व संकलनको लक्ष्य लिएको नगरपालिकाले २ करोड ८४ लाख ४० हजार ३ सय ५३ रुपैयाँ राजश्व संकलन गरेको थियो । अघिल्लो आर्थिक मसान्त सम्ममा लक्ष्य भन्दा ८९.६०% (प्रतिशत) बढी राजस्व संकलन गरेको नगरपालिकाले यस वर्ष आर्थिक मसान्त सकिनु भन्दा दुई महिना अघि १३.७८ %(प्रतिशत) राजस्व संकलन गरेको छ । बैशाख ३० गते सम्ममा नै राजस्व संकलनको लक्ष्य भन्दा १३.७८ %(प्रतिशत) राजस्व संकलन गरेको नगरपालिकाले आर्थिक वर्षको अन्त्य सम्ममा ७० देखी ८० लाख सम्म राजस्व थपिने अनुमान रहेको नगरपालिकाका लेखा अधिकृत सुवास अधिकारीले जानकारी दिएका छन् । अघिल्लो आर्थिक वर्षमा घर, जग्गाको कारोबार र नक्सा पास गरेको राजस्वका कारण लक्ष्य प्राप्ति भन्दा ८९.६०% (प्रतिशत) बढी राजस्व संकलन गर्न सम्भव रहे पनि यस वर्ष नगरपालिकाले करको रद नबढाइकन दायरा बढाएर लक्ष्य अनुसार राजस्व संकलन गरेको लेखा अधिकृत अधिकारीको भनाइ छ ।
अरु स्थानिय तहहरुमा जस्तो पालुङटार नगरपालिकामा कर नबढेको दाबी गर्दै लेखा अधिकृत अधिकारीले व्यवसाय दर्ता नगरिकन व्यवसाय सञ्चालन गर्न नपाईने जस्ता नियमहरु बनाएर पहिल्याउन नसकिएको करहरुको सङ्कलन गरिएको उनले बताएका छन् । लेखा अधिकृत अधिकारीका अनुसार नगपालिकाले यस वर्षबाट निजी विद्यालयहरुको कर, घर बहाल कर लगायतका करहरुको दायरा बढाएर कर संकलन गरेका कारण लक्ष्य अनुसार कर संकलन सम्भव भएको हो ।

Back to top button