अजिरकोटको शिल्ड ज्ञानज्योतिलाई

रविन्द्र कंडेल
गोरखा, ४ बैशाख ।
अजिरकोट गाउँपालिकाद्धारा आयोजित माध्यमिक विद्यालय स्तरीय रनिङ शिल्ड प्रतियोगिताको शिल्ड ज्ञानज्योति मा.वि.ले हात पारेको छ । गाउँपालिकाका अध्यक्ष एवं साविक पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष फणिन्द्र धितालको अध्यक्षतामा सम्पन्न भएको कार्य २१ खेलहरुमा प्रतिस्पर्धा गराइएको थियो ।
जसमध्ये ज्ञानज्योति मा.वि. लप्सीबोट ९ स्वर्ण र २ रजत पदकसहित प्रथम हुन सफल भएको छ भने प्रभा मा.वि. खरीबोट ५ स्वर्ण र २ रजत र ३ काश्य सहित द्धितीय भएको छ । त्यस्तै गरी चतुर्माला मा.वि ३ रजत र १ काश्य पदक सहित तृतीय बनेको छ । प्रतियोगितामा गाउँपालिका भित्रका ८ विद्यालयहरु सहभागी रहेका थिए ।
आज सम्पन्न समापन समारोहका बोल्दै अध्यक्ष धितालले खेलकुदको विकासले विद्यार्थीको पठन पाठन लगायत चौतर्फी विकास हुने र अनुशासित हुने हुँदा खेल क्षेत्रलाई सवै विद्यालयहरुले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
भच्चेक बजारमा सम्पन्न कार्यक्रममा अजिरकोट गाउँपालिका शिक्षा शाखा प्रमुख सिताराम पन्त, प्रमुख प्रशाशकिय अधिकृत परमेश्वर पन्त, अजिरकोट गाउँपालिका वडा नं.३ का वडाध्यक्ष तोयाराज गुरुङ, ज्ञानज्योति मा.वि.का प्रधानाध्यापक विष्णुदत्त अधिकारी, चतुर्माला मा.वि.का प्र.अ. बुद्धि बहादुर वि.क., शिक्षक महासंघका अध्यक्ष कालिकाप्रसाद अधिकारी, धनशिला मा.वि.घ्याच्चोकका प्र.अ.तिल बहादुर गुरुङ, प्रभा मा.वि. अपुनका प्र.अ. दिपक प्रसाद दवाडी लगायतकाले मन्तव्य राखेका थिए ।
छात्र भलिबल तर्फ ज्ञानज्योति मा.वि.का आनन्द परियार र छात्रातर्फ चतुर्माला मा.वि.की सम्झना देवकोटालाई उत्कृष्ट खेलाडी घोषित गरिएकोे छ । त्यस्तै गरी एथलेटिक्स तर्फ छात्रतर्फबाट ज्ञानज्योति मा.वि.का विनोद तामाङ र छात्रातर्फ ज्ञानज्योति मा.वि.कै मञ्जु ढकाल उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

Back to top button