

गाेसंसं,
मुग्लिन नारायणगढ सडक खण्डमा पर्ने मुग्लिन नजिकै तुइन खोला भिरमा रहेको ३ नं. पुल पछिल्लो समय ज्यानामारा पुलको रुपमा देखिएको छ । उक्त पुलमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ४ वटा ठुलो दुर्घटना भै ४ जनाको ज्यान लिएको छ भने ७ जना घाईते भएको तथ्याङ्कले देखाएको छ । गत भदौमा उक्त पुलको रेलिङ्ग बार क्रस गरेर मोटरसाईकल खस्दा २ जना युवाले ज्यान गुमाए । त्यसपछि लगातार केहि महिनाको अन्तरालमा मालवाहक ट्रक सोहि पुलबाट खस्दा ३ जना घाईते भए । यस्तै सोहि पुलको मुखमा माथिबाट ढुङ्गा झरेर मिनि ट्रकका चालकको घटनास्थल मै मृत्यु भयो । केहि दिन अघि मात्र सोहि पुलबाट मालबाहक ट्रक खसेर १ जनाको मृत्यु हुनुका साथै ४ जना घाईते भयो । यसरी हेर्दा छोटो अवधिमा नै उक्त पुल बारम्बार दुर्घटना भएको देखिन्छ । उक्त पुलमा दुर्घटना बढ्नुको मुख्य कारण साघुरो पुल, पुलको दुवै भागमा ठुलो मोड हुनु, पुलको दायाँ बायाँ बारहरु कमजोर हुनु, चालकले तीव्र गतिमा सवारी चलाउनु लगायत रहेको इलाका ट्राफिक प्रहरी कार्यालय मुग्लिनका इन्चार्ज प्रहरी सहायक निरिक्षक इन्द्र घिसिङ्गले बताउनुभयो । यता उक्त स्थानमा नयाँ पुल निर्माण गर्ने तयारी भैरहेको मुग्लिन नारायणगढ सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालले बताउनुभयो । तर पुल निर्माणका लागि अहिलेसम्म बोलपत्र आह्वानको काम समेत नभएको पनि उहाँले बताउनुभयो ।