इलाका प्रहरी आँबुखैरेनीले भवन बनाउन जग्गा पाउन सकेन

गाेसंसं,
मुग्लिन–पोखरा सडक विस्तार गर्ने तय भएसँगै इलाका प्रहरी कार्यालय आँबुखैरेनीको पुरानो भवन भत्काएर सार्नु पर्ने भएको छ । तर पुरानो भवन भत्काएर नयाँ भवनमा कार्यालय सार्नु पर्ने भए पनि प्रहरीले नयाँ कार्यालयको भवन निर्माणको लागि जग्गा नै पाउन सकेको छैन । नयाँ कार्यालय भवनको निर्माणको लागि गण्डकी प्रदेश सरकारले बजेट रकमको व्यवस्था समेत गरिसकिएको छ तर प्रहरी कार्यालयको नयाँ भवन निर्माणको लागि अहिलेसम्म जग्गा पाउन नसकेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो –‘प्रहरी कार्यालयको नयाँ भवन बनाउन प्रदेश सरकारले करिब २७ लाखको बजेट व्यवस्था गरेको छ साथै त्यसमा स्थानीय सरकारले पनि १२ प्रतिशत बजेट थप्नेछौ’ । कार्यालय भवन निर्माणको मुख्य समस्या जग्गा कै भएकोले उक्त बजेटको लागि सम्झौता समेत हुन नसकेको अध्यक्ष थापाले जानकारी दिनुभयो । सरकारले मुग्लिन देखि पोखरासम्मको सडक खण्ड विस्तारका लागि दायाँ बायाँ २५÷२५ मिटर हटाउने भनेको छ । सोहि कारण इलाका प्रहरी कार्यालय रहेको हालको भवन पनि सडकको उक्त मापदण्ड भित्र पर्ने भएकोले हटाउनु पर्ने भएको हो । नयाँ कार्यालय भवन बनाउनका लागि प्रहरीले कि निजी जग्गा खरिद गर्नुपर्ने हुन्छ कि त कुनै सरकारी जग्गा खोज्नु पर्ने हुन्छ । तर प्रहरीले लामो समयदेखि सबै उपाय अपनाएर उपयुक्त जग्गा खोजी गर्दा पनि प्रहरीले जग्गा नसकेको हो । प्रहरीले नयाँ कार्यालय भवन निर्माणको लागि जग्गा नहेरेको भने हैन । हेरेका जग्गा मध्ये कतै पायक नपर्ने, कतै जग्गाको मुल्य नै महगों पर्ने जस्तो अवस्था सिर्जना भएको छ । अन्तिम विकल्पको रुपमा हाल ढकालटारमा रहेको विद्युत् प्राधिकरणको जग्गा हेरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका कार्यालय प्रमुख प्रहरी निरिक्षक महेशराज पाठकले बताउनुभयो । तर उक्त स्थान मुख्य राजमार्ग तथा मुख्य बजार भन्दा भित्र पर्ने भएकोले प्रहरी कार्यालय राख्न उपयुक्त स्थान भने होइन ।

Back to top button