प्रेम र उत्तरआधुनिक शैलीको अनुपम संयोजन अविश्रान्त चन्द्रावती अर्याल


अविश्रान्त (२०७५) अम्बिका अर्यालको पहिलो उपन्यास हो । यस उपन्यासमा शाश्वत प्रेमलाई मुख्य विषयवस्तु बनाइएको छ । विशेषगरी युवावस्थाको प्रेममा दिनानुदिन बढ्दै गएको भोग्य प्रवृत्तिलाई यसले मुख्य समस्याका रूपमा उठाएर त्यस्तो आत्मिक प्रेमलाई अजरामर बनाउने सन्देश प्रवाह गरेको छ यसले जो कोहीलाई कलात्मक र कौतुहलपूर्ण पाठमार्फत वासनात्मक नभएर भावनात्मक र निस्वार्थी प्रेमको पाठ सिकाउन सफल भएको छ । यसमा प्रेमरुपी सुन्दर फूललाई बुन्ने धागो सुन्दर मात्र नभएर सुगठित देखिन्छ । विशेषगरी उत्तरआधुनिक समयमा विकसित भएको साहित्य लेखनको नवीन प्रवृत्ति त्यो धागो बनेको छ । यसमा पात्रहरूले लेखकसँग गर्ने अन्तक्र्रिया तथा अब्जेक्सन, पात्रको जिज्ञासा समन गरिदिने लेखकको उपस्थिति तथा बजारमा आइसकेका उपन्यासका पात्रसँग यस उपन्यासका पात्रहरूको भेटघाट तथा कुराकानी जस्ता सन्दर्भ उत्तरआधुनिक टेक्निक बनेर आएका छन् ।
अविश्रान्त उपन्यासमा भावपक्ष र कलापक्षको सुन्दर अन्विति पाइन्छ । यस उपन्यासमा विशेषगरी नारीहरूलाई दबाएर राख्ने परिपाटीका विरुद्धमा शिक्षा दिने शिक्षकदेखि विभिन्न संस्थामा आवद्द भएर नारीकै हितमा जीवन बिताउने नारीको उल्लेखनीय भूमिका रहेको छ । यसमा नारीनारीबीच मित्रवत सम्बन्ध हुनुपर्ने विचारका साथ पुरुष हुँदैमा उसको विरोधमा नलागी पितृसत्तात्मक प्रवृत्ति बोकेका नारीहरूको चेतना तथा व्यवहार दुवैमा परिवर्तनको खाँचो भएको सन्दर्भलाई औँल्याइएको छ । शिक्षित र आत्मनिर्भर नारीले जस्तोसुकै दुःखमा पनि हरेस नखाएर अगाडि बढ्न सक्ने भएकाले यसतर्फ सबैको ध्यानकेन्द्रित गराउनमा पनि यो उपन्यास उत्तिकै सबल बनेको छ । यस्तै भावनात्मक प्रेमलाई वासनाका दृष्टिले हेर्ने अवास्तविक प्रेमीप्रेमिकालाई उचित सजायँ दिलाएर पश्चात्तापमा पु¥याइ अमर र निस्वार्थ प्रेमको जयजयकार गर्नमा समेत यो उपन्यास प्रबल बनेको छ । यसरी टेक्नोलोजीको विकास भइसकेको वर्तमान परिप्रेक्ष्यमा प्रविधिले पु¥याएको सहयोग तथा दुष्परिणामलाई समेत यसले समेटेको छ । कम्प्युटर, मोबाइल, इमेल, इन्टरनेट आदि सामाजिक सञ्जाल तथा इप्रविधिका सदुपयोगमार्फत एकथरी युवापुस्ताले लिएको लाभ तथा अर्काथरीहरू त्यसकै दुरुप्रयोगले जीवन नै समाप्त हुने अवस्थामा पुगेको सन्दर्भलाई समेत यसमा उल्लेख गरिएको छ ।
अविश्रान्त उपन्यासभित्र जीवनका विविध पाटाहरूलाई समेटिएको छ । पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिक विषयलाई सूक्ष्मातिसूक्ष्म ढङ्गले केलाइएको यस उपन्यासमा स्वदेशी भूमिमात्र नभएर विदेशी भूमिको परिवेशलाई पनि अटाइएको छ । अमेरिकामा नेपालीहरूले भोग्नुपर्ने समस्या र त्यहाँबाट नेपाली आमाको काखलाई सम्झिएर स्वदेश फर्किने पात्रदेखि लिएर आफ्नो देशको विकासका लागि मरिमेट्ने पात्रहरूको उपस्थितिले राष्ट्रप्रेमलाई समेत उपन्यासले देखाउन खोजेको भान हुन्छ । अधिकार र समानताका नारा नारामा मात्र सीमित नगरी डटेर लड्ने सन्देश बोकेको यो उपन्यास वास्तवमै विविध प्रवृत्तिको पुञ्ज बनेको छ । भाषाशैलीगत सरलता उत्तरआधुनिक टेक्निकको प्रयोग एवम् नारीवादी विचारमा कसिएको अमर प्रेमको रोचक कहानीले उपन्यासलाई रुचिपूर्ण र सफल बनाएको छ ।

Back to top button
Close