च्याङ्लीमा शिवरात्री मेला २०७५ सम्पन्न, आगामी वर्षसम्ममा पिकनिक स्पोटको रुपमा बिकास गरिने

रविन्द्र कंडेल, फागुन २१
पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीको पुरानो ऐतिहासिक मन्दिर मंगलेश्वर महादेव मन्दिरमा शिवरात्री पर्वको दिन बृहत शिवरात्री मेला २०७५ सम्पन्न भएको छ । मेलामा प्रमुख अतिथिको रुपमा बोल्दै पालुङटार नगरपालिकाका प्रमुख दिपक बाबु कंडेलले यस स्थानलाई आगामी बर्षसम्ममा पिकनिक स्पोटको रुपमा विकास गर्नको लागी नगरपालिकाको तर्फबाट योजना निर्माण गर्ने बताउनुभयो । नगरप्रमुख कंडेलका अनुसार निकै लामो इतिहास बोकेको यस मन्दिरमा धेरै कुराहरु व्यवस्थित गर्न बांकी रहेकाले वडा संगको समन्वयमा छिटै नै यस क्षेत्रका अतिक्रमित जग्गाहरु नियन्त्रण गरी यस स्थानमा आगामी वर्षहरुमा महोत्सव सञ्चालन गर्नको लागी समेत आवश्यक पहल गर्ने बताउनुभयो ।
सो अवसरमा दिनभर उक्त स्थानमा बन्दीपुर ४ याम्पास्थित प्रगति महिला समूहको आयोजनामा एक दिने शिव पुरायण समेत बाचन गरिएको थियो । बिहानैदेखि भक्तजनहरुको घुईंचो रहेको सो मन्दिर परिसरमा रातमा समेत ५० बढी महिलाहरुले दिप प्रज्ववलन गरी जाग्राम बसेका थिए । शिवपुरायण लगाउनको लागी नजीकमा रहेको पुरानो धार्मिक इतिहास बोकेको यस मंगलेश्वर मन्दिरमा आएको र पुरायण बाचनका क्रममा उठेको रकम मन्दिर पुननिर्माणमा सहयोग गर्नको लागी मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको समूहकी अध्यक्ष रिता तिवारीले बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख पम्फा बसेलले यस स्थानलाई धार्मिक स्थलको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
पुरायण समाप्तिपछि पालुङटार वडा नं. ७ कार्यालयको आयोजनामा वडाध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा बृहत शिवरात्री मेला सञ्चालन गरिएको थियो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण भण्डारीले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा दिगो महिला समूहकी सचिव सरस्वती कुमालले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यस्तै गरी मेलामा कलाकारहरु अक्कल विरही गुरुङ, शंकर परियार, मनोज घताने, कविराज ढकाल, रिता तिवारी सहित स्थानीय कलाकारहरु राजेश परियार, अमर गुरुङ लगायकाको प्रस्तुतिले रातभर संगीतमय बनेको थियो । सो अवसरमा सञ्चालित नृत्य प्रतियोगितामा शिवानी थापाले प्रथम स्थान हासिल गरी नगद रु.३००० र प्रमाण पत्र हात पारेकी छन भने शान्ति गुरुङले दोश्रो स्थान हासिल गरी नगद रु.२००० र प्रमाण पत्र हात पार्न सफल भएकी थिइन भने ममता सुनारले तृतीय स्थान हासिल गरी नगद रु.१००० र प्रमाण पत्र हात पारेकी थिइन । कार्यक्रमको सञ्चालन गोरखा संसार मिडिया प्रा.लि.का रविन्द्र कंडेलले गर्नुभएको थियो ।
त्यस्तै गरी शिवरात्रीको अवसरमा १८ र १९ गते आयोजित भलिबल प्रतियोगितामा प्रथम हुने बिरुवाटार भलिबल समूहलाई १०,००० र प्रमाण पत्र एवं द्धितीय हुने कोटगढी भलिबल समूहलाई नगद रु. ५,००० र प्रमाण पत्र पनि सोही अवसरमा वितरण गरिएको थियो । भलिबल खेलका उत्कृष्ट खेलाडी रोशन कोइरालाई नगद रु १५०० का साथमा प्रमाण पत्र प्रदान गरिएको थियो ।
मेलामा १० वटा स्टलहरु राखिएको थियो । मन्दिर परिसर वरपर मदिरा विक्रीवितरणमा भने रोक लगाइएको थियो । गत वर्षहरुमा भन्दा यस वर्ष मेला भर्न आउने भक्तजनहरुको घुईंचो रहेको थियो भने स्टल निर्माण गरी व्यवस्थित गर्दा आकर्षक समेत देखिएको स्थानीयहरुले बताएका छन् ।
नेपालको धार्मिक इतिहास बोकेको मन्दिरहरु मध्ये च्याङली स्थित खोलाघाटमा रहेको सो मन्दिरको प्रचार प्रसार एवं संरक्षणको लागी कार्यक्रम आयोजना गरिएको हो । हरेक वर्ष जस्तै यस वर्ष पनि सो स्थानमा विविध साँस्कृतिक कार्यक्रमहरुसहित मेला आयोजना गरिएको मेला आयोजक समितिका अध्यक्ष रामकृष्ण भण्डारीले बताउनुभयो । अध्यक्ष भण्डारीका अनुसार मन्दिर जीर्णोद्धारका काम पनि भइरहेको हुँदा यस वर्ष अलिक कठिनाइ भएपनि आगामी वर्षदेखि यस स्थानको प्रचार प्रसारको लागी यस स्थानमा महोत्सव सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ । हाल मन्दिर जीर्ण बन्दै गएपछि नेपालकै ठूलो गाइ फार्म कामधेनु गाई फार्मका सञ्चालक राजेन्द्रराज पन्तले आफ्नै निजी लगानीमा मन्दिर पुननिर्माण गराइरहनुभएको छ ।
सो स्थानमा धेरै अघिसम्म ५, ६ दिनसम्म मेला लाग्ने र देशको राजनितीक परिवेश संगै सुस्ताउँदै गएकोमा स्थानीयहरु यसलाई पुरानै विरासतमा फर्काउनुपर्छ भन्नेमा लागी परेका छन् । त्यसको लागी आगामी वर्षदेखि शिवरात्री को अवसर पारेर शिवरात्री महोत्सव सञ्चालन गर्नुपर्ने उनीहरु बताउँछन् ।
यस वर्ष भने मन्दिर निर्माण कार्य सञ्चालन भइरहेको हुँदा महोत्सवको रुपमा सञ्चालन गर्न गाह्रो भएकोले शिवरात्री विशेष कार्यक्रमलाई व्यवस्थित गरिने जनाइएको छ भने आगामी वर्षदेखि यस स्थानमा च्याङ्ली शिवरात्री महोत्सव सञ्चालन गर्ने योजना रहेको वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले बताउनुभयो ।
पालुङ्टार नगरपालिका वडा नं. ७ को कार्यालयको आयोजनामा सञ्चालित सो कार्यक्रमको संयोजन गोरखा संसार मिडिया प्रा.लि.ले गरेको थियो ।

Back to top button