च्याङ्लीमा शिवरात्री मेला २०७५ अन्तर्गत भलिबल प्रतियोगिता को विजेता बिरुवाटार भलिबल समूह

रविन्द्र कंडेल, फागुन १९
पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीको पुरानो ऐतिहासिक मन्दिर मंगलेश्वर महादेव मन्दिरमा हुने शिवरात्री मेला २०७५ अन्तर्गत सञ्चालन गरिएको भलिबल प्रतियोगितामा बिरुवाटार भलिबल समूह बिजयी बनेको छ ।
१८ गते सञ्चालित पहिलो चरणको खेलको पहिलो खेलमा तालदेवी युवा क्लबलाई हराउंदै कोटगढी भलिबल समूह मिरकोट, दोश्रो खेलमा अकलामाई भलिबल समूहलाई हराउँदै बिरुवाटार भलिबल समूह र तेश्रो खेलमा भूमिमाई युवा क्लब गाइखुरलाई हराउँदै लुईंटेल सिर्जनशील युवा क्लब सेमी फाइनल प्रवेश गरेका थिए ।
आजको पहिलो खेलमा कोटगढी भलिबल समूह मिरकोटसंग हार खाएको बिरुवटार भलिबल समूहले दोश्रो खेलमा लुईंटेल सिर्जनशील युवा क्लवलाई हराउँदै फाइनल को यात्रा तय गरेको थियो । त्यस्तै गरी अन्तिम खेलमा कोटगढी भलिबल समूह मिरकोटलाई पछि पार्दै बिरुवाटार प्रथम हुन सफल भएको हो ।
प्रतियोगितामा नगरपालिका भित्रका ६ टिमहरु सहभागी थिए । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. १०,००० र प्रमाण पत्र एवं दाश्रो हुनेलाई नगद रु.५,००० र प्रमाण पत्र प्रदान गरिने छ भने उत्कृष्ट खेलाडीलाई नगद रु १५०० का साथमा प्रमाण पत्र प्रदान गरिनेछ ।
त्यस्तै गरी २० गते शिवरात्रीको दिन बिहानैदेखि पूजाआजा गरिने कार्यक्रम रहेको छ भने तनहुँको याम्पाफाँटमा रहेको प्रगति महिला समूहकोे आयोजनामा बिहान ८ बजेदेखि शिवपुरायण लगाइनेछ भने ४ बजेदेखि साँस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, नृत्य प्रतियोगिता, भजन प्रस्तुति तथा रातभर दिप प्रज्ववलन गरी जाग्राम वस्ने कार्यक्रम रहेको छ ।
सोही अवसरमा सांझ सञ्चालन गरिने नृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद रु.३००० र प्रमाण पत्र द्धितीय हुनेलाई नगद रु.२००० र प्रमाण पत्र साथै तृतीय हुनेलाई नगद रु.१००० र प्रमाण पत्र प्रदान गरिनेछ ।
मेला व्यवस्थित गर्न यस वर्ष १० भन्दा बढी स्टलहरु राखिएको छ । मन्दिर परिसर वरपर मदिरा विक्रीवितरणमा भने रोक लगाइएको छ । भोली रातभर जाग्राम वस्ने तथा दिप प्रज्ववलन सहित साँस्कृतिक कार्यक्रमहरु समेत हुने हुँदा सुरक्षा व्यवस्था पनि कडा बनाइएको अस्थायी प्रहरी पोष्ट बिरुवाटारले जनाएको छ । अस्थायी प्रहरी पोष्ट विरुवाटारका इन्चार्ज मदन आचार्यले कार्यक्रममा सुरक्षा व्यवस्था गर्नको लागी अरु थप प्रहरी समेत परिचालन गरिसकेको बताउनुभएको छ ।
नेपालको धार्मिक इतिहास बोकेको मन्दिरहरु मध्ये च्याङली स्थित खोलाघाटमा रहेको सो मन्दिरको प्रचार प्रसार एवं संरक्षणको लागी कार्यक्रम गर्न लागिएको हो । हरेक वर्ष जस्तै यस वर्ष पनि सो स्थानमा विविध साँस्कृतिक कार्यक्रमहरुसहित मेला आयोजना गर्न लागिएको मेला आयोजक समितिका अध्यक्ष रामकृष्ण भण्डारीले बताउनुभयो । अध्यक्ष भण्डारीका अनुसार मन्दिर जीर्णोद्धारका काम पनि भइरहेको हुँदा यस वर्ष अलिक कठिनाइ भएपनि आगामी वर्षदेखि यस स्थानको प्रचार प्रसारको लागी यस स्थानमा महोत्सव सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार यस स्थानको महत्व नेपालका विभिन्न स्थानहरुमा चिनाउनको लागी प्रचार प्रसार को अभाव भएको अध्यक्ष भण्डारी बताउनुहुन्छ ।
हाल मन्दिर जीर्ण बन्दै गएपछि नेपालकै ठूलो गाइ फार्म कामधेनु गाई फार्मका सञ्चालक राजेन्द्रराज पन्तले आफ्नै निजी लगानीमा मन्दिर पुननिर्माण गराइरहनुभएको छ ।
सो स्थानमा धेरै अघिसम्म ५, ६ दिनसम्म मेला लाग्ने र देशको राजनितीक परिवेश संगै सुस्ताउँदै गएकोमा स्थानीयहरु यसलाई पुरानै विरासतमा फर्काउनुपर्छ भन्नेमा लागी परेका छन् । त्यसको लागी आगामी वर्षदेखि शिवरात्री को अवसर पारेर शिवरात्री महोत्सव सञ्चालन गर्नुपर्ने उनीहरु बताउँछन् ।
यस वर्ष भने मन्दिर निर्माण कार्य सञ्चालन भइरहेको हुँदा महोत्सवको रुपमा सञ्चालन गर्न गाह्रो भएकोले शिवरात्री विशेष कार्यक्रमलाई व्यवस्थित गरिने जनाइएको छ भने आगामी वर्षदेखि यस स्थानमा च्याङ्ली शिवरात्री महोत्सव सञ्चालन गर्ने योजना रहेको वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले बताउनुभयो ।
पालुङ्टार नगरपालिका वडा नं. ७ को कार्यालयको आयोजनामा सञ्चालित सो कार्यक्रमको संयोजन गोरखा संसार मिडिया प्रा.लि.ले गरिरहेको छ ।

Back to top button