कृषक पहिचान तथा वर्गिकरण गरिदैं

अमरराज नहर्की
तनहुँ, फागुन ४ गते । गण्डकी प्रदेश सरकारले आय र प्रतिफलको आधारमा कृषकको पहिचान तथा वर्गिकरण गर्ने भएको छ । पहिचान र वर्गिकरणको अभिलेखिकरणको लागि टोली घरदैलोमा खटिन थालेका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रमले कृषि क्षेत्रको दीगो विकासको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने कार्य अनुरुप टोली खटिरहेका छन् । पहिचान गरिएको व्यवसायिक कृषकले आफ्नो व्यवसायको लगानी अनुसारको ५० प्रतिशत अनुदान प्राप्त गर्ने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक सूचना जारी गरी कृषक पहिचान तथा वर्गीकरण कार्यविधि २०७५ सार्वजानिक गरेको छ । कृषकको पहिचान, वर्गीकरण र अभिलेखीकरणको माध्यमबाट वास्तविक कृषक लाभान्वित हुने सुनिश्चितता कायम राख्न सूचना जारी गरिएको जनाईएको छ । साथै सूचनामा कृषि विकासका कार्यक्रम सञ्चालन प्रक्रियालाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक भएकोले कार्यविधि जारी गरिएको जनाईएको छ । यस कार्यक्रम अन्तर्गत पहिचान र वर्गिकरणको लागि टोली तनहुँ र नवलपुर जिल्लामा खटिन थालेको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख डा.श्रेष्ठका अनुसार कृषकको पहिचान तथा वर्गिकरण पछि अनुसार १० लाख सम्मको अनुदान जिल्ला स्थित कार्यालयबाट, १० लाख भन्दा बढी २५ लाख सम्मको पशु तथा मत्स्यविकास निर्देशानालय, २५ लाख भन्दा माथिको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलयबाट अनुदान दिईने भएको छ ।
कृषिको दीगो विकास हुने साथै सरकारी श्रोत साधनको न्यायोचित र प्रभावकारी वितरण समेत हुने भएकोले कृषको पहिचान र वर्गिकरण गर्न लागिएको हो । गण्डकी प्रदेशभरीका कृषकका लागि ४० करोड रुपैयाँ यो कार्यक्रमको लागि रकम विनियोजित गरिएको डा.श्रेष्ठले जानकारी दिनु भयो । डा. श्रेष्ठका अनुसार कृषि पेशालाई प्रमुख पेशा बनाई ५० प्रतिशत भन्दा बढी समय र परिश्रम सो पेशामा लगानी गरेको र पारिवारिक खर्चको कम्तीमा ४० प्रतिशत योगदान कृषि पेशाको आम्दानीबाट हुने कृषकले अनुदान पाउने भएका छन् ।
कृषक वर्गिकरणको लागि मापदण्ड बनाईएको छ । ३ करोड भन्दा बढी वार्षिक लगानी भएको वार्षिक कारोबार २ करोड भन्दा बढी भई मासिक ५ लाख मुनाफा गर्ने र ३० जना भन्दा बढीलाई रोजगार दिने कृषकलाई विशिष्ट वर्गको कृषक भनिने भएको छ , ५० लाख भन्दा माथि लगानी भई ४० लाखको वार्षिक कारोबार गर्ने र मासिक आम्दानी दुई लाख हुने एवं १५ जनालाई रोजगार दिनेलाई उद्यमी कृषक भनिने भएको छ । यसैगरी २४ लाख भन्दा माथि लगानी भई वर्षिक २५ लाखको कारोबार , एक लाख रुपैयाँ मासिक आम्दानी गर्ने र ९ जना भन्दा बढीलाई रोजगार दिने व्यवसाय उन्मूख कषक भनिने भएको छ । कृषकलाई व्यवसायिक कृषकको मापदण्ड बनाईएको छ । व्यावसाय उन्मूख कृषकमा ५ लाख भन्दा बढी वार्षिक १२ लाख भन्दा बढी कारोबार ३० हजार भन्दा बढी मासिक आम्दानी र ५ जना भन्दा बढीलाई रोजगार दिनेलाई सुचिकृत गरिने भएको छ । कृषि पेशामा संलग्न रहेको सम्बन्धमा वडा कार्यालयमा सम्पर्क राख्ने र वडाले आवश्यक अनुसन्धान गरि सिफारिस गर्ने केन्द्रका पशु स्वास्थ्य प्राविधिक पुष्पराज सिग्देले जानकारी दिनु भयो ।

Back to top button