प्रधान परिवारद्धारा अस्पताल बनाउन एक करोड सहयोग

अमरराज नहर्की
बन्दीपुर(तनहुँ), माघ २३ गते । तनहुँको बन्दीपुरमा जन्मिएर हाल चितवनको नारायण बस्ने समाजसेवामा सक्रिय प्रधान परिवारले बन्दीपुर अस्पतालको भवन निमार्णको लागि एक करोड रुपैयाँ सहयोग गर्नु भए पछि भवन निमार्ण कार्य अघि बढाईएको छ । भवन निमार्णमा सहयोग गर्नेमा दाजुभाई कृष्णलालभुषण प्रधान र चिरञ्जीवी प्रधान र उहाँहरुको भाउजु राधादेवि प्रधान रहनु भएको छ । भाउजु राधादेवि उहाँहरुको स्वर्गिय जेठो दाजुको श्रीमती हुनुहुन्छ ।
अस्पताल निमार्णको लागि ठुलो रकम दिई भवन निमार्ण शुरु भए पछि दुवै दाजु भाई र उहाँको भाउजुको सबैले प्रंशसा गरेका छन् । प्रधान परिवारले जनतालाई प्रत्यक्ष सरोकार रहेको स्वास्थ्य सेवा जस्तो क्षेत्रमा सहयोग प्रदान गरेकोले काम गर्नु यस्तो पो भनेर सबैले प्रशंसा गर्न थालेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा बताउनु हुन्छ । अस्पताल विकास समितिका अध्यक्ष समेत रहनु भएका गाउँपालिकाका अध्यक्ष थापाले प्रधान दाजुभाईले आफ्ना स्वर्गिय बुबा शम्भुलाल प्रधान र आमा बालकुमारी प्रधानको स्मृतिमा अस्पताललाई सो रकम दान दिनु भएको जानकारी दिनु भयो । समाजसेवी प्रधान परिवारले चितवनको एक कलेजमा ठुलो आर्थिक सहयोग गरेको छ । चितवनमा आमा बालकुमारीको नाउँमा बालकुमारी कलेज स्थापना गरेकोले उहाँहरुको सामाजिक कार्यको सबैले प्रशंशा गर्ने गरेको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनु भयो ।
तनहुँको पुरानो सदरमुका बन्दीपुरस्थित बन्दीपुर अस्पताल भवन पूरानो र जीर्ण बन्दै गएको र २०७२ सालको भुकम्पले क्षेती पुगेको उक्त अस्पतालको नयाँ भवन बन्दीपुर गाउँपालिकाले निर्माण कार्य अगाडि बढाएको छ । भवन निमार्णको लागि रकम अभाव भएपछि बुबाआमाको स्मृतिमा केही रकम सामाजिक सेवामा लगानी गर्ने उद्देश्यसहित अस्पताल बनाउन रकम सहयोग गरेको समाजसेवी कृष्णलाल प्रधानले जानकारी दिनु भयो । प्रधान परिवारको सहयोगमा निर्माण गर्न लागिएको भवनमा मानव अङ्ग प्रत्यारोपण केन्द्र तथा ज्येष्ठ नागरिक अस्पतालका रुपमा सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।
करीब छ करोड रुपैयाँको लागतमा बन्ने अस्पताल भवन चार तलाको हुनेछ । तत्कालका लागि दुई तल्लाको बनाइने र एक तल्ला प्रधान परिवारको स्मृतिमा नामाकरण हुने अस्पताल विकास समितिले जनाएको छ । भवन निर्माणका लागि गाउँपालिकाले समेत केही रकम हाल्ने र अपुग रकम बन्दीपुरवासीसँग संकलन गर्ने गाउँपालिकाले योजना बनाएको छ । अस्पतालको भवन निमार्णको लागि एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष थापाले हालै शिलान्यास गर्नु भएको छ ।
१४ रोपनीमा क्षेत्रमा रहेको १५ शैयाको बन्दीपुर अस्पताललाई ५० शैयाको बनाउन गाउँपालिका लागि परेको छ । जनतालाई सहज रुपमा उपचारको व्यवस्था मिलाउन टाढा धाउनु पर्ने बाध्यताको अन्त्य गर्न जटिल खालका रोगको उपचार गर्ने व्यवस्था गर्न शैया थप गर्न लागिएको गाउँपालिकाका अध्यक्ष थापा बताउनुहुन्छ । अस्पतालका प्रयोगशाला निरीक्षक रामप्रसाद भट्टराईका अनुसार समाजसेवी प्रधान परिवारले एक करोड रुपैयाँ दान दिने सम्झौता भई इष्टमेट अनुसारको भवन निमार्णलाई खर्च गरिएको रड , सिमेन्ट , गिट्टी , बालुवाको भुक्तानी दिने सहमती भएको छ । सहमती अनुसार भवन निमार्णको लागि जग खन्ने काम भईरहेको छ । समाजसेवी प्रधान परिवार तनहुँको बन्दीपुर बन्दीपुर, डुम्रे, बिमलनगरमा र चितवनको नाराएणगढमा कपडा , किनारा पसल गर्नु भएको थियो । हाल भने उहाँहरुले व्यवसाय छोड्नु भएको छ । उहाँहरुको व्यवसाय सन्तानहरुले सञ्चालन गर्दै आउनु भएको छ । प्रधान परिवारले भवनको ८ कोठाको लागि लाग्ने खर्च इष्टमेट अनुसार एक करोड दिने सम्झौता गरिएको अस्पतालले जनाएको छ ।

Back to top button