दमौलीमा प्रदेश स्तरीय अन्तक्रिया श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा जोड

 

दमौली, ८ माघ

श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ तनहुँको संयोजनमा न्यूनतम पारिश्रमिक निर्धारण समितिद्वारा मंगलबार दमौलीमा आयोजित श्रमजीवि पत्रकार ऐन र न्यूनतम पारिश्रमिकमा पुनरावलाकन कार्यान्वयनको अवस्था र चुनौती विषयक गण्डकी प्रदेश स्तरीय अन्तक्रिया कार्यक्रमका सहभागीहरुले सो जोड दिएका हुन् ।

अन्तक्रियामा सहभागि पत्रकारहरुले सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीहरुले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोके अनुसारको पारिश्रमिक नपाएको गुनासो गरेका थिए । विशेष गरी मोफसलका पत्रकारहरुले अहिलेसम्म न्यूनतम पारिश्रमिक त पुरै जाओस् नियुक्ती पत्र समेत नपाएको उनीहरुले अन्तक्रियामा बताएका थिए । श्रमजीवि पत्रकार ऐन कडाइका साथ कार्यान्वयन गराउन उनीहरुले आग्रह गरेका थिए ।

अन्तक्रियामा पत्रकार महासंघका पूर्व केन्द्रिय सभापति एवं न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष डा.सुरेश आचार्यले रहरमा पत्रकारिता नगर्न सुझाएका थिए । उनले कडा संघर्ष गरी राज्यलाई दवाव दिएर ऐन ल्याइएको भन्दै कार्यान्वयनमा जोड दिए । श्रमजीवि पत्रकार ऐनका बारेमा नारा मात्रै लगाइएको जनाउँदै नारा लगाउन बन्द गरेर ऐन लागु र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले कसैले पनि सित्तैमा काम लगाउन नपाइने बताए । राज्यमुखी भएर कुनै पत्रिका चल्न नसक्ने आचार्यको भनाई थियो ।

पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले श्रमजीवि पत्रकार ऐनको मुद्धा महासंघको स्थापनाकाल देखिको भएकोले यसको कार्यान्वयनमा महासंघले खुट्टा नकमाउने स्पष्ट पारे । श्रमजीवि पत्रकार माथि श्रम शोषण गर्न नपाइने आचार्यले बताए । न्यूनतम पारिश्रमिक नदिइए महासंघमा उजुरी गर्न आग्रह गर्दै त्यसका लागि महासंघ लडेर अधिकार दिलाएर छाड्ने प्रतिवद्धता जनाए । समानुपातिक विज्ञापन नीति लागु हुनेमा विश्वस्त हुन सञ्चार माध्यमहरुलाई आग्रह गरे । पत्रकारितालाई गुणस्तरीय बनाउन आग्रह गर्दै गुणात्मक बन्न नसके पत्रकारकै भविष्य अध्यारो तर्फ धकेलिने बताए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले समितिले तोके अनुसार तलब दिन मिडिया सञ्चालकहरुलाई आग्रह गरे । ऐन कार्यान्वयन गनृ नसक्ने मिडियाहरु बन्द गरिनुपर्ने पराजुलीको भनाई थियो । उनले न्यूनतम पारिश्रमिक नपाएर उजुरी गर्न समेत पत्रकारहरुलाई आग्रह गरे । सधैँ अरुको बारेमा मात्रै समाचार छाप्ने पत्रकारले आफू अन्यायमा पर्दा पनि चुपचाप बस्न नहुने पराजुलीले बताए । पत्रकारका हकअधिकार सम्बन्धी ऐन कानुन पढ्न र बुझ्न समेत पराजुलीको सुझाव थियो ।

पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले राज्यले मिडिया हाउसलाई डण्डा लगाउने काम मात्र गर्न हुँदैन भन्दै गम्भिर बन्न पत्रकारहरुलाई आग्रह गरेका थिए ।

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यका अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महासंघका केन्द्रिय सदस्य नवीनराज कुइकेल, पत्रकार महासंघ तनहुँका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारी, निवर्तमान अध्यक्षहरु डम्बर अधिकारी र प्रकाशचन्द्र भट्टराई, पूर्व अध्यक्षहरु प्रदीप काफ्ले र प्रेम पौडेल, पत्रकार महासंघ तनहुँका उपाध्यक्ष नारायण खड्का लगायतले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गरिनुपर्ने बताएका थिए ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिकी सदस्य विमला भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासंघ तनहुँका सचिव उज्वल पौडेलले गरेका थिए ।

Back to top button