हाम फालेर युवकको मृत्यु

समीर जोशी
दमौली,माघ ४ गते ।

व्यास नगरपालिको वडा नम्बर ३ र ५ जोड्ने मादी नदी माथि निर्मित चाईना पुलबाट शुक्रबार हाम फाल्दा एक युवकको मृत्यु भएको छ । व्यास नगरपालिका–११ बेलटारीका ४४ वर्षिय कृष्णबहादुर घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्यामु अर्यालले जानकारी दिनु भयो ।
हाम फाल्ने क्रममा वगरमा खसेका घर्तिलाई प्रहरीले देखि उद्धार गरेको थियो । उद्धार गरी दमौली अस्पतालमा उपचार गर्ने क्रममा घर्तिको शुक्रबार विहान पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घर्ति दमौली बजारमा निमार्ण क्षेत्र लगायतमा ज्याला मजदुरी गर्दै जीवन निर्वाह गर्दै आएका थिए ।
श्रीमती पौईला गएकी र मानसिक तनावले गर्दा आत्महत्याको लागि हाम फालेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको डिएपी अर्यालले जानकारी दिनु भयो । घर्तिले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको र घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Back to top button