तिम्रो छोरो ज्ञानि भइ सक्यो :- कविता

दिपेन्द्र गिरी, पालुङटार, गाेरखा ।

साँच्चै आमा,
तिम्रो छोरो ज्ञानी भइ सक्यो।
सबथोक आंफै जान्नि भै सक्यो।
बिहान दस पटक सम्म
तिम्ले बोलाउदा पनि
बा लाई पठाउछु उठाउन भन्दै
धम्की लगाउंदा पनि
उठ्दै नउठि
ढोकै नखोलि
लम्पसार पर्ने म
नसुने झै गर्ने म ।
अचेल त
अलरामको पहिलो टिक टिक संगै
जुरुक्क उठेर
हस्याङ फस्स्याङ गर्दै
एकै छिनमा तयार हुँदै
अघिल्लो दिनको खाना
प्लास्टिकको झोलामा हालेर
हतार हतार पाइला चालेर
आँखा मिच्दै-मिच्दै
बाहिर पर्खी रहेको बसमा पुग्दछु ।
अनि सोच्दछु
अबत यो छोरो जान्नि भै सक्यो
साच्चै आमा,
तिम्रो छोरो ज्ञानि भइ सक्यो ।।
बिहान उठेर कहिल्यै
आफ्नो ओछ्यान नमिलाउने म
खाना खाएर कहिल्यै
आफ्नो थाल नउठाउने म
प्रदेस आए पछि,
लाजलाई त्यागेर
घिन लाई छोडेर
अरुका जुठा भाँडा पनि,
मस्काउन थालेको छु
चम्काउन थालेको छु
अचेल मेरो
स्वप्ना त्याग्ने अनि
रहर मार्ने त बानी भइ सक्यो ।
सांच्चै आमा
तिम्रो छोरो ज्ञानि भइ सक्यो ।
बिर्सेको छैन,
एकछिन खाना ढिलो हुंदा
अनि अलिकती भात गिलो हुँदा
तिमी संग झर्को फर्को गरेको
आँखामा तिम्रा आँसु भरेको।
सायद त्यही पापले होला
तिम्रो आँशुको श्रापले होला
चिसो रोटि अनि
अलिकती अचारको साहाराले
कति दिन बिताएको छु ।
आधा पेट खाएर पनि
कति रात निदाएको छु ।
अबत यो छोरो
सबथोक जान्नी भै सक्यो
हो!आमा
तिम्रो छोरो ज्ञानि भै सक्यो ।।
याद आउँछ
तिम्ले बा का आँखा छलेर
मलाइ कति प्यारो गरेर
हरेक दिन हातमा पैसा थमाउथ्यौ ।
मलाइ खुशी पारी, आफू रमाउथ्यौ ।
तर अचेल त मेरो
महिना नबित्दै खल्ती रित्तिन्छ
कहिले भुटुन सकिन्छ
कहिले चामल सकिन्छ
यसरी छोरो
अभाव मै ज्युने बानी भै सक्यो
सांच्चै आमा
तिम्रो छोरो ज्ञानि भइ सक्यो ।।

Back to top button