सुनचाँदी व्यवसायीले प्रहरी लाई दिए ४ थान साइकल

तनहुँ सुनचाँदी व्यवसायीले जिल्ला प्रहरी कार्यालय तनहँुलाई ४ थान साइकल हस्तान्तरण गरेको छ । जिल्लाको शान्ति सुरक्षा, चोरी, डकैती जस्ताका क्रियाकलापहरु न्यूनीकरणका लागि सुनचाँदी व्यवसायीले साइकल प्रदान गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहलाई एक कार्यक्रमका विच मंगलबार दमौलीमा साइकलको चावी हस्तान्तरण गरेका थिए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष विश्वकर्माले प्रहरी र सुनचाँदी व्यवसायी विच प्रगाढ सम्बन्ध हुनुपर्ने बताए । सुनचाँदी व्यवसायीलाई सहज रुपमा काम गर्ने वातावरण निर्माणका लागि प्रहरीले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ । देशव्यापी रुपमा भइरहेको सुनकाण्डमा सरल र निर्दोष रुपमा काम गर्ने व्यवसायीहरुलाई मुछ्न नहुने बताए । ‘सुनचाँदी व्यवसायको रुपमा बदमासी गर्ने व्यक्ति पत्ता लगाउन व्यवसायीहरु प्रहरीलाई सहयोग गर्न तयार छौँ, सुन तस्करीको रुपमा निर्दोष व्यवसायीलाई नफसाइयोस्,’ उनले भने ‘सुन तस्करी पत्ता लगाउने कार्यमा सुनचाँदी व्यवसायी पनि सचेत हुनुपर्छ, सुन तस्करीलाई पक्राउ गर्न सके हाम्रो व्यवसाय समेत सहज र सरल बन्नेछ ।’

छिमेकी जिल्लामा सिसि क्यामरा र विभिन्न प्रविधिको प्रयोग भित्रबाटै चोरी गर्ने गिरोह बढेको भन्दै उनले जिल्लालाई सचेत बनाउन आवश्यक रहेको बताए । प्रहरीसँगै व्यवसायीहरु पनि सचेत हुन आवश्यक रहेको र प्रहरीसँग सम्बन्धलाई सहज बनाइराख्न उनले सुझाए ।

प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले प्रहरीले मात्रै जिल्ला तथा मुलुकको शान्ति सुरक्षा व्यवस्थापन गर्न नसक्ने बताए । शाहले प्रहरी र समुदाय मिलेर मात्रै मुलुकको शान्ति सुव्यवस्था कायम गर्न सकिने बताउँदै बिना वर्दीको प्रहरी समुदायको सहयोग अपरीहार्य रहेको बताए । उनले चोरी, तस्करीका सुनचाँदी विक्री वितरणका लागि पसलमा आए प्रहरीलाई जानकारी गराउन सुझाए । चोरी, तस्करीका सुनचाँदी व्यवसायीले खरिद गरेर उनीहरुलाई प्रोत्साहन दिन नहुने भन्दै त्यस्ता कार्यमा व्यवसायी सचेत हुनुपर्ने बताए ।

तनहुँ सुनचाँदी व्यवसायी संघ तनहुँका अध्यक्ष कृष्ण सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तनहुँ सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष तेज बहादुर सुनार लगायतले सुनचाँदी व्यवसाय भएका क्षेत्रहरुमा बढी सुरक्षाकर्मी तैनाथ गर्न माग गरेका थिए । संघका उपाध्यक्ष विनोद कुमार विकले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हरि गहतराजले गरेका थिए ।

Back to top button