पालुङ्टार नगरपालिकामा नगरपालिका स्तरीय उपलब्धी परीक्षा मापन परीक्षा सम्पन्न

गोरखा, पालुङ्टार, २ पौष ।
गोरखाको पालुङ्टार नगरपालिका नगर शिक्षा इकाइले आज नगरपालिका स्तरीय उपलब्धी मापन परीक्षा सञ्चालन गरेको छ । नगरपालिकाका विद्यालयहरुका विद्यार्थीहरुको शैक्षिक अवस्थाका बारेमा जानकारी प्राप्त गर्न तथा विद्यार्थी तथा शिक्षकहरुलाई सदैव शिक्षण सिकाई गतिविधीमा तयारी अवस्थामा राख्नको लागी परीक्षा लिइएको नगर शिक्षा इकाई पालुङ्टारका शाखा अधिकृत शितल पाण्डेले बताउनुभयो । यसबाट विद्यार्थीहरुमा जहिलेसुकै जुनकुनै निकायबाट पनि परीक्षा हुन सक्ने भनी विद्यार्थीहरुको पठनपाठनमा लगाव हुने विश्वास लिएको उहाँले बताउनुभयो । उपलब्धीमापन परीक्षा भएका कारण पूर्व जानकारी विना नै विद्यार्थीहरुमाझ पुगेर परिक्षा लिएको समेत पाण्डेले बताउनुभयो । अनिवार्य विषयहरु अंग्रेजी, गणित, सामाजिक, विज्ञान र नेपाली गरी ५विषयको परीक्षा लिइएको छ । परीक्षामा नगरपालिका भित्र रहेका कक्षा १० सम्म सञ्चालित १३ विद्यालयका कक्षा १० मा अध्ययनरत ५९० जना विद्यार्थीहरु सहभागी भएका छन भने कक्षा ८ मा १९ विद्यालयका ८२४ जना र कक्षा ५ मा १९ विद्यालयका ६४५ गरी कूल २०५९ जना सहभागी भएका छन् ।
गत वर्ष पनि परीक्षा लिइएको र त्यसैको निरन्तरता स्वरुप नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षाप्रेमी तथा प्रधानाध्यापक तथा शिक्षकहरुको विशेष चासो र सहभागितामा परीक्षा सञ्चालन गरिएको समेत शाखा अधिकृत पाण्डेले बताउनुभयो । साथै परीक्षाबाट आएको नतीजाका आधारमा पृष्ठपोषण गर्दै शैक्षिक गुणस्तर सुधारतर्फ अघि बढने बताउनुभयो ।

Back to top button
Skip Add
Close