च्यातिएको जुत्ताले परिवारको जीवनलाई बोकिरहेको छ

डडेल्धुरा सदरमुकामको बसपार्क सधैं भीड हुन्छ । गाडीहरू निरन्तर आवतजावत गरिरहने हुँदा धूलो उडिरहन्छ । धूलोसँगै सवारीसाधनबाट निस्कने धूवाँ र चर्को हर्न । केही बेर बस्न पनि सहिनसक्नु गाह्रो हुन्छ त्यहाँ ।

तर, बिहानै त्यही बसपार्कबाट सुरू हुन्छ ठगी सार्कीको दैनिकी । अनि निरन्तर चल्छ साँझसम्म । यो उनको केही दिन, हप्ता वा महिनाको दैनिकी होइन । लगातार २० वर्षदेखि उनी बसपार्कको त्यही एकै ठाउँमा छन् ।

कहिले कहाँ सहज, कहिले कता सहज भनेर ठाउँ फेर्दै पनि हिँडेका छैनन् उनी । ठाउँ परिवर्तन नगरी सडकको धूलो खाँदै डडेल्धुरा बसपार्कमा २० वर्ष बिताइसके उनले ।

सुदूरपश्चिमकोे मुटु मानिने डडेल्धुरा सदरमुकाममा ठगी सार्कीले २० वर्षदेखि जुत्ता सिलाउँदै छन् । अमरगढी नगरपालिका–२ बस्ने उनले यी २० वर्षमा केचाहिँ खपेनन् होला ?

वैशाख–जेठको उखरमाउलो गर्मी होस् या वर्षातमा भिजाउने पानीका छिटा वा पुसमाघको कठ्याङ्ग्रिने चिसो, उनलाई केहीको पर्वाह छैन । दुई दशकमा सबै पचाइसके उनले ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उनका लागि खुला आकाश नै छत हुन्छ भने डडेल्धुरा बसपार्क नै घर । आफ्ना जुत्ता सिलाउने औजार र अन्य सामान फिँजाएर उनी दिनभर जुत्ता सिलाउनमै ब्यस्त हुन्छन् ।

विद्यालय जाने उमेरमा दलितले विद्यालय जानु हुँदैन भन्ने कुसंस्कारका कारण उनले विद्यालय जान पाएनन् । पढ्ने सपना अधुरै भएपछि बाबुबाजेले गरिआएको सार्की पेसा अपनाए उनले । अहिले त्यही पेसा उनको गुजाराको सारथी बनेको छ भने त्यसैले सिंगो परिवारसमेत धानेको छ ।

‘दुई छाक टार्नका लागि कसैका सामु हात पसार्न परेको छैन, दिनहुँ चाहिने तरकारी, नुन, तेल, चामललगायत अन्य घर खर्चका लागि समस्या पर्दैन,’ सार्कीले थपे, ‘कसैले कोठा भाडा लिएर पसल गर्न सुझाव दिन्छन्, तर मेरो कमाइ यहाँबाट पनि सन्तोषजनक नै छ ।’

 

नेपालीमा एउटा उखान लोकप्रिय छ– ‘देखेको होइन लेखेको हुन्छ’ । उनको जीवनमा यो एकदमै मेल खाएको छ । उनलाई साथीभाइजस्तै विद्यालय गएर पढ्न मन थियो । तर, उनको कर्ममा कलम समाउने होइन, जुत्ता सिलाउन लेखेको रहेछ ।

सार्की पछिल्लो समय भने आफ्नो पेसाबाट असन्तुष्ट छैनन् । आफूले जानेको सिप प्रयोग गरेर जीवनयापन गर्न सकेकोमा गर्व गर्छन् उनी ।

‘आफूले सिकेको सिपलाई उपयोग गर्दै जीवन धान्न पाएकोमा मलाई गर्व छ । च्यातिएको जुत्ताले मलाई र मेरो सारा परिवारको जीवनलाई बोकिरहेको छ ।

घरमा सावरका जुत्ता निर्माण गर्ने उनको पुस्तेनी पेसा हो । करिब १८ वर्षपहिले घरमै निर्माण गरेका सावरका जुत्ताहरू १ सयदेखि ३ सय रूपैयाँसम्ममा बिक्रीवितरण गरेको उनको अनुभव छ । तर, समयसँगै उनकोे श्रमको मूल्य पनि बढेको छ । अहिले घरमै निर्माण गरेको सावरको जुत्ता २ हजारदेखि २५ सय रूपैयाँसम्ममा बिक्री हुन्छ । सुरू, सुरूमा बसपार्कमा बसेर जुत्ता सिलाउँदा हेयका दृष्टिले हेर्नेहरू पनि थिए ।

वरपरका अरू व्यापारीहरूले पनि नहोच्याएका होइनन्, तर समयसँगै उनलाई गर्ने व्यवहार पनि फेरिँदै गएको छ । यसको मुख्य कारण उनको मीठो बोली र कामप्रतिको लगाव नै हो । समाज परिवर्तनसँगै फेरिँदै गएको मान्छेको सोच देखेर उनलाई अहिले खुशी लाग्छ । जुत्ता सिलाएर दैनिक ५ सयदेखि १ हजार रूपैयाँ कमाउन उनलाई गाह्राे छैन ।

तर खटिनु भने खुब पर्छ । काममा लाग्दा घरसम्म पुगेर खाना खाने फुर्सद हुँदैन उनलाई । बिहान निस्किएर घर पुग्ने बेलुकी मात्रै हो । जीवनको ऊर्जाशील समय च्यातिएका जुत्ता सिलाएरै बिताएका ठगीको कामप्रतिको लगाव सिक्नलायक छ ।

अब घरमा नै सावरका जुत्ता बनाएर बस्ने धोको छ उनको । तर, कच्चा पदार्थको अभाव छ । पाइए पनि महँगो रकम तिरेर ल्याउनुपर्छ । महँगोमा कच्चा पदार्थ किनेपछि जुक्ता महँगोमा बेच्नुपर्छ, बजारमा सस्तो खोज्छन् ।

त्यसैले घरमा नै बनाइने जुत्ता हराऊला कि भन्ने चिन्ता छ उनमा । बाकसमा गर्दै आएको व्यापार सटरसम्म पुर्‍याउने धोको पनि उनको मनमा नै छ । तर, आजसम्म भनेजस्ताे भएको छैन । तर, उनको अथक मेहनत र प्रयास कत्ति पनि कम भएको छैन ।

आम्दानीको अन्य केही स्रोत नभएका सार्कीले विदेश जाने युवाहरूलाई समेत चुनौती दिएका छन् । आफ्नै देशमा पौरख गरेर खान राम्रो हुने भन्दै भौंतारिएर विदेश जाने केही युवाहरूलाई समेत आफ्नै ठाउँमा केही गरेर देखाउन सल्लाह दिँदै आएका छन् । आफूले गरेको यस पेसामा आफू निकै खुशी भएको उनी बताउँछन् ।

‘दुई छाक टार्नका लागि कसैका सामु हात पसार्न परेको छैन, दिनहुँ चाहिने तरकारी, नुन, तेल, चामललगायत अन्य घर खर्चका लागि समस्या पर्दैन,’ सार्कीले थपे, ‘कसैले कोठा भाडा लिएर पसल गर्न सुझाव दिन्छन्, तर मेरो कमाइ यहाँबाट पनि सन्तोषजनक नै छ ।’

Back to top button