बिरुवाटारमा सनराइजको सुविधाबारे जानकारी तथा छलफल, स्थनीय भन्छन शाखा चाहियोे ।

गोरखा, पालुङ्टार, ९ मंसीर ।

गोरखाको पालुङटार नगरपालिका वडा नं.७ को च्याङ्ली बिरुवाटारमा सनराइज बैंक डुम्रे शाखाको आयोजनामा बैंकको स्वास्थ्य तथा दुर्घटना बीमा र इलेक्ट्रोनिक बैंकिङ सुबिधा सम्बन्धी जानकारी तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । डुम्रे शाखाका शाखा प्रमुख लक्ष्मण भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकको प्रधान कार्यालयका ट्रेड फाइनान्स शाखाका राजेन्द्र प्रसाद जोशीले बैंकको निती तथा नयाँ योजनाहरुको विषयमा प्रष्ट्याउनुभएको थियो । सो अवसरमा टेक्नोसिस सम्बन्धी बैंकका प्रकाश पोखरेलले जानकारी दिनुभएको थियो । कार्र्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पालुङ्टार नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले यस वडा जनसंख्याको हिसावले नगरपालिकाकै ठूलो वडा भएको र हालसम्म कुनै पनि बैंकहरु नहुँदा सामाजिक सुरक्षा भत्ता वितरण लगायत अन्य धेरै आर्थिक गतिविधी सञ्चालनको लागी समेत कठिनाई भएको हुँदा एउटा बैंक अपरिहार्य भएको बताउनुभयो । यसअघि धेरै बैंकहरुले चासो देखाएको भएतापनि सुरक्षाअभावका कारण आउन मानेका थिएनन । हाल यस स्थानमा प्रहरी चौकी समेत स्थापना भैसकेको हुनाले अव सम्भव हुने समेत बताउनुभयो । त्यस्तै गरी कार्यक्रममा बोल्दै वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेलले यस स्थानमा बैंक हुँदा वडा नं. ७ मात्र नभई वडा नंं. ८ र वडा नं. ६ का सेवाग्राहीहरुले समेत सेवा लिन सक्ने हुँदा यस स्थानमा सनराइजको शाखा ल्याउनको लागी आफ्नो तर्फबाट हरतरहले सहयोग गर्ने बताउनुभयो । साथै उहाँँले बैंकले शाखा सञ्चालनको लागी आवश्यक पर्ने ग्राहकसंख्याका साथै कारोबार तोकेपनि सोही अनुुुसार पूरा गर्न तयार रहेको बताउनुभयो । यस नगरपालिकाको वडा नं. ७ मा मात्र १२९७ घरधुरी रहेका छन् भने वडा नं. ८ मा ७१९ र वडा नं. ६ मा ६०० बढी घरधुरी रहेका छन् । यी वडाहरुमा बैंकिङ सुविधा नहुँदा आर्थिक कारोबार तथा वडाबाट प्रदान गरिने सामाजिक सुरक्षा भत्ता लिनको लागी समेत डुम्रे वा आँबुखैरेनी पुग्नुपर्दा अति नै कठिन भएको स्थानीय चुडा प्रसाद कंडेलले बताउनुभयो । कार्यक्रम बिरुवाटारमा रहेको जीवन ज्योति मा.वि. को सभागृहमा सञ्चालन भएको थियो ।
२०६४ असोज २५ गतेदेखि आफ्नो सेवा औपचारिक रुपमा शुरु गरेको यस बैंकको हाल १०२ शाखा सञ्जालहरु रहेका छन भने १११ वटा एटिएम ४ वटा एक्सटेन्सन काउन्टर तथा २४ स्थानहरुमा शाखारहित बैंकिङ सेवा रहेका छन् । हाल बैंकले अहिलेसम्म अरु कुनै बैंकहरुमा नभएको स्वास्थ्य उपचार बीमा योजना ल्याएको छ । जसअन्तर्गत बचतकर्ताले व्याजको साथै १ लाख सम्मको उपचार खर्चसमेत पाउने हुँदा अत्यन्त राम्रो योजना भएको ग्राहकहरुले महसूस गरेका छन् । बैंकको हालसम्मको चुक्तापुँजी ८ अर्व १५ करोड, जगेडा कोष ३ अर्व ७५ करोड, जम्मा निक्षेप ७५ अर्वभन्दा माथि रहेको छ भने कर्जा सापटी ६६ अर्वभन्दा बढी रहेको र गत आर्थिक वर्षको खुद नाफा १ अर्व ४२ करोड रहेको र ४ लाख ५० हजार भन्दा बढी ग्राहक संख्या रहेको बैंकले जनाएको छ ।

Back to top button