रक्त क्यान्सर पीडितलाई देउसीभैलो र साँस्कृतिक कार्यक्रमबाट ३ लाख

 

लमजुङ २५ कार्तिक

रक्त क्यान्सरको विरामी भई उपचाररत् यहाँका एक बालकको उपचारका लागि युवाहरुले देउसीभैलो र साँस्कृतिक कार्यक्रम गरेर झण्डै ३ लाख रुपैयाँ आर्थिक सहयोग जुटाएका छन् ।
बेसीसहर नगरपालिका ३ गाउँसहर थुम्काडाँडाका ५ वर्षीय प्रशान्त मजाकोटीको उपचारका लागि गाउँका युवाहरुले देउसीभैलो र साँस्कृतिक कार्यक्रम मार्फत् २ लाख ८५ हजार रुपैयाँ जुटाएका हुन् ।
थुम्काडाँडाका सुकबहादुर र प्रमिला मजाकोटीका छोरा प्रशान्तको उपचारमा ठूलो रकम आवश्यक पर्ने भएपछि गाउैकै जनज्योती युवाक्लवमा आवद्ध युवायुवतीले तिहारको अवसरमा देउसीभैलो र साँस्कृतिक कार्यक्रम मार्फत् सो रकम संकलन जुटाएका हुन् ।
रक्त क्यान्सर पीडित बालकको उपचारमा ठूलोराशी खर्च हुने चिकित्सकले बताएपछि आफुहरुले देउसीभैलो र साँस्कृतिक कार्यक्रम गर्दै सहयोग रकम जुटाएको बालकका ठुलोबाबा एवं क्लवका सल्लाहकार अजय मजाकोटीले बताए । सदरमुकाम बेसीसहरमा गरिएको घरदैलो कार्यक्रममा ६१ हजार ९ सय ६०, छिमेकी गाउँमा खेलिएको देउसीभैलो बाट ४३ हजार ४ सय ५० र गाउँमा आयोजित साँस्कृतिक कार्यक्रमबाट १ लाख ८० हजार गरी कूल २ लाख ८५ हजार ४ सय १० रुपैयाँ संकलन गरिएको क्लवका अध्यक्ष सञ्जय दुलालले जानकारी दिए । उक्त रकमबाट व्यवस्थापन खर्च कटाएर बाँकी रकम बालककी आमालाई हस्तान्तरण गरिने उनले बताए ।
बेसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बालकको जीवन रक्षाका लागि गाउँका युवायुवती र अभिभावकले महत्वपूर्ण र पुण्यकर्म गरेको बताए । छरछिमेकमा परेको दुःखलाई आफ्नै दुःख सम्झेर तपाईहरु लागि परेको देख्दा म भावुक भएँ,’ अर्यालले भने, ‘हामी सबैको यस्तै साझा प्रयासबाट नै विपद्को सामना गर्न सकिने, गाउँघरको विकास हुने र छुवाछुत, हिंसा, लागु औषध दुव्र्यसन लगायतका थुप्रै विसंगति हटाउन सकिने हो ।’
बालकको परिवारका अनुसार बालक अहिले चरणवद्ध उपचारमा रहेको र लामो समय उपचार गराउनु पर्ने चिकित्सकको भनाई रहेको छ । मध्यम खालको आर्थिक अवस्थाको परिवारले आवश्यक उपचार खर्च गर्न नसक्ने अवस्था रहेकाले उनीहरुले शुभेच्छुकहरु सँग सहयोगको अपिल गर्दै आएका छन् । बैशाख महिनाको सुरु देखि नै बालक विरामी परेपछि उपचारका लागि कान्ति बाल अस्पताल लगिएकोमा रगतको क्यान्सर भएको थाहा भएको आमा प्रमिलाले बताइन् ।

Back to top button