आगलागीबाट १७ लाख रुपैयाँ बराबरको क्षति

गोरखा- जिल्लाको गण्डकी गाउँपालिका–७ मा शनिबार दिउँसो भएको आगलागीबाट १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ। गण्डकी गाउँपालिकाको ज्यामिरे भन्ने स्थानमा स्थानीय दिपक रेग्मी र निर्मला रेग्मीको घरमा आगलागी हुँदा सो क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

आगलागीबाट दिपक रेग्मीको ढुङगा माटोले बनेको र जस्ताले छाएको तीनतले कच्ची घर पूर्णरुपमा जलेर नष्ट भएको छ। आगलागीबाट रेग्मीको घरमा रहेको नगद रु एक लाख लाख ५० हजारसहित दश लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब निरीक्षक रोशन थापाले बताए।

त्यसैसँगै जोडिएको निर्मला रेग्मीको ढुङगा माटोले बनेकोे एक तले घर पनि आगलागीबाट पूर्णरुपमा नष्ट भएको छ। आगलागीबाट रेग्मीको घरमा रहेको नगद ८० हजारसहित छ तोला सुन, लत्ताकपडा, अन्नपात, भाँडावर्तन गरी रु सात लाख ५३ हजार बराबर क्षति भएको प्रहरीले जनाएको छ।

बिहान करीब १० बजेतिर शुरु भएको आगलागी तीन घण्टापछि नियन्त्रणमा लिइएको थियो। बिजुली चुहावट भई आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। आगलागीबाट मानवीय र चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ।

Back to top button