गाेरखाकाे शहिद लखनमा शनिबार शनिबार हाट बजार

चित्र बहादुर गुरुङ
शहिद लखन, २७ असोज

गोरखाको शहिद लखन गाँउपालिका वडा नं.–३ स्थित रामशाहघाट दोभानको मनकामना नयाँपुलमा कृषि तथा पशु हाट बजार सुरु भएको छ । उक्त हाट बजारको आज शनिबार एक कार्यक्रमका बिच गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री लेख बहादुर थापाले समुद्घाटन गर्नुभयो । नयाँपुल कृषि तथा पशु हाट बजार सञ्चालक समिति शहिद लखन–३ गोरखाको आयोजना र शहिद लखन गाँउपालिका गोरखा र सहमती संस्था गैडाकोटको समन्यवमा अब हरेक हप्ताको शनिबार कृषि तथा पशु हाट बजार संञ्चालन गर्ने निर्णय बमोजिम आज शनिबार देखि हाटबजार सुरु भएको हो ।   हाट बजारको समुद्घाटन गर्दै प्रदेश सरकारले आगामी ५ वर्ष भित्रमा गण्डकी प्रदेशका स्थानीय तहका प्रत्येक ७५९ वटा वडामा कृषि संकलन केन्द्र र ८५ वटै प्रत्येक स्थानीय तहमा कम्तीमा १ वटा कृषि तथा पशु हाट बजार सञ्चालन गरीने मन्त्री थापाले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘त्यसका लागि स्थानीय तहमा सञ्चालनमा रहेका सहकारी संस्था, निजी कृषि फार्म, सम्बन्धित संघसंस्थाहरुलाई अनुदान उपलब्ध गराई सहकार्य गरी सञ्चालन गर्नेछ ।’’


हाट बजारमा किसानले उत्पादन गरेको कृषि तथा पशु उत्पादनको सहज बजारीकरण तथा विचौलिया नहुने हुदा किसानको उत्पादनले उचित मूल्य पाउन सक्ने भएकोले हाट बजार सञ्चालनमा ल्याएको हाट बजार सञ्चालक समितिका अध्यक्ष होमनाथ रिमालले बताउनुभयो । रिमाले थप भने–‘‘हाट बजारमा विशेषत स्थानीय किसानहरुले उत्पादन गरेका तरकारी, फलफुल, खसी, बोकाहरु किसान आफैले आएर हाट बजारमा बिक्री गर्न सकिने व्यवस्था गरिएको छ ।’’
हाट बजार सञ्चालन भएको स्थान मनकामना नयाँपुल रामशाहघाट दोभानबाट तनहुँको आँबुखैरेनी बजारबाट १५ मिनेटको पैदल दुरीमा आउन सकिन्छ भने गोरखा नगरपालिकाको देउराली बजारबाट नजिक हुनुका साथै मनकामना बजार जाने मोटरमार्गको छोटो दुरीको मुख्य प्रवेशद्वार रहेकोले हाट बजार आउने सर्वसाधारणलाई सहज देखिन्छ ।


हाट बजार सञ्चालन भएको आज पहिलो दिन भएको र निर्णय भएको छोटो समय मै सञ्चालन गरिएकाले पनि हुन सक्छ हाट बजारमा किनमेलका लागि आउने सर्वसाधारण अलि कम भए पनि व्यापार राम्रै रहेको किसानहरु बताउछन् । यस आसपास नै पहिलो हाट बजार सञ्चालन भएको हुदाँ किनमेल गर्न आउने सर्वसाधरणहरु पनि निकै उत्साही देखिन्थे ।


हाट बजारको समुद्घाटन कार्यक्रममा शहिद लखन गाँउपालिका अध्यक्ष रमेश बाबु थापा उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत जीवन आले, १, ३ र ४ नं. का वडाध्यक्षहरु क्रमशः दिप बहादुर के.सी., गणेश थापा, कृष्ण चेपाङ, गोरखा नगरपालिका–१४, का वडाध्यक्ष रण बहादुर खड्का कृषि ज्ञानकेन्द्र गोरखा प्रमुख दुर्गा प्रसाद पण्डित लगायत विभिन्न स्थानीय संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

Back to top button