नेपाल बैंक लिमिटेड आफ्नै भवनमा

अमरराज नहर्की
दमौली , असोज २३ गते । नेपाल बैंक लिमिटेड दमौली शाखाले आफ्नै भवन बनाएको छ । भाडाको घरमा सञ्चालन हुँदै आएको यस बैंकको भवन तयार भईसकेकोले चाँडै नै आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने भएको छ । भाडाको घरमा पार्किङ र कोठाहरु फराकिलो नहुँदा सेवा ग्राही र कर्मचारी दुवैलाई पर्दै आएको अप्ठारो समाधान हुने अपेक्षा गरिएको छ ।
नव निर्मित भवन सुविधा सम्पन्न रहेको छ । १२ आना क्षेत्रफल रहेको ठाउँमा पार्किङ , सेवा ग्राहीलाई भिड हुँदा बस्ने प्रतिक्षा कोठा लगायतको सुविधा रहेको छ । तीन तले सो भवन २ करोड १७ लाख रुपैयाँको लागमा निमार्ण गरिएको बैंकका शाखा प्रबन्धक पारश निरौलाले जानकारी दिनु भयो । प्रबन्धक निरौलाका अनुसार सजावटको काम बाँकी रहेको छ । तिहार लगत्तै नयाँ भवनबाट सेवा दिने काम भईरहेको शाखाले जनाएको छ ।
नयाँ भवनबाट सेवा शुरु भएपछि ग्राहकलाई लाईनमा बस्ने झन्झटको अन्त्य गर्नको लागि टोकन प्रणालीको व्यवस्था गरिएको प्रबन्धक निरौलाले जानकारी दिनु भयो । नयाँ भवन निमार्ण पछि हाल बैंकले भाडा बापतको मासिक ९० हजार रुपैयाँ बचत हुने बैंकले जनाएको छ । दमौली स्थित कालिका मार्गका सञ्चालन गर्दै आएको छ ।
दुई करोड नयाँ नोट सटही गर्ने
यसैबीच नेपाल बैंक लिमिटेड दमौली शाखाले दशैं र तिहारको लागि दुई करोड रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने जनाएको छ । ५ करोड रुपैयाँको माग भए पनि नेपाल राष्ट्रबैंकले २ करोड रुपैयाँको मात्रै नयाँ नोट पठाएको र थप माग गरिएको बैंकका प्रबन्धक पारश निरौलाले जानकारी दिनु भयो । एक व्यात्तिले २७ हजार रुपैयाँ सम्म सटही गर्ने व्यवस्था गरिएको शाखाले जनाएको छ । शाखाका अनुसार १६ जनाको दरबन्दी रहेको सो बैंकमा १० जना मात्रै कर्मचारी कार्यरत भएकोले सेवाग्राहीलाई छिटो सेवा दिन कठिन भएको छ ।

Back to top button