सातै प्रदेशका श्रष्टाहरूले घन्काए सिद्द गुफा, माेहन सुवालले पाउने भए कवि क्षेत्र प्रताप अधिकारी स्मृति पुरस्कार २०७५

राजेन्द्र न्यौपाने, भदाै ६, तनहुँ ।

 

आएझैं कवि कालिदास कविता बोकेर

बन्दिपुर गाएझै कवि कुञ्ज भित्र कविता घोकेर

बन्दीपुर बाँड्छौ स्नेह बनी विनीत बहुतै

सद्भाव बन्दीपुर कोसेली

अनमोल खोल दिलको प्यारो छ बन्दीपुर

कवि नारायण पोखरेलले भनेझै देश भरीका सात वटा प्रदेशबाट आएका विभिन्न श्रष्टाहरुले बन्दीपुरको महिमा मात्र गाएनन, यहाँका नागरिकहरुले गरेको न्यानो स्वागतबाट उनीहरु मोहित हुन पुुगे । आफ्ना ठाउँलाई कसरी बन्दीपुर जस्तो बनाउन सकिन्छ भनेर उनीहरु सोच्न बाध्य भए । कतिपयले यस्तै स्वागत आफ्ना ठाउँमा गर्न अवसर दिनुपर्ने माग गरे । शुक्रबार र शनिबार बन्दीपुर गाउँपालिका वडा नं. ४ स्थित सिद्ध गुफामा आयोजित वृहत कवि गोष्ठीमा श्रष्टाहरुका रचनाले सिद्द गुफा गुञ्जायमान मात्र भएन गुफा भित्र पुग्नेहरुले ठूलो अवसरको अनुभूति प्राप्त गरे । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजना,बन्दीपुर गाउँपालिकाको प्रायोजन, सिद्द गुफा व्यवस्थापन समिति, विमलनगर सामुदायिक होमस्टे, बन्दीपुर गाउँपालिका वडा नंंंं. १ र ४ को सहयोगमा भएको कार्यक्रममा कविता, गजल, मुक्तक, नाटक, कौरा गीत तथा नृत्य प्रस्तुत भएको थियो । देशका दुई ठूला शहरहरु जोड्ने मध्य भागमा रहेको रमणीय स्थल विमलनगर,सिद्धगुफाको प्रचारप्रसार उदेश्यका साथ आयोजना गरिएको गुफा भित्रको कार्यक्रमले श्रष्टाहरु, पर्यटकहरुलाई आकर्षित गरेको छ । कार्यक्रमका अवसरमा कवि क्षेत्र प्रताप अधिकारी स्मृति पुरस्कार २०७५ जनमत साहित्यिक मासिक पत्रिकाका सम्पादक मोहन सुवाललाई प्रदान गरिएको छ । काभ्रे जिल्ला निवासी दुवाल विगत लामो समयदेखि साहित्यक पत्रकारिता गर्दै आएका छन् । साहित्यक पत्रकार संघको महासचिव समेत रहेका दुवाल विगत ३५ वर्ष देखि अनवरत रुपमा साहित्यिक क्षेत्रमा कलम चलाउँदै आएका छन् । सातवटा प्रदेशबाट आएका सर्जकहरु बावा बस्नेत, पुरु लम्साल, राजु घिमिरे, पवि खड्का, सुसिल सिं ठकुरी,रीता थापा, विमला अधिकारी, प्रदिप रोदन, विजय कुमार रानाभाट, नारायण मरासीनी, दिपक राई, अमरराज नहर्की, संगम सापकोटा, श्रीराम भट्टराई, अनिता यात्री, पुष्प अधिकारी,कमल अर्याल, रञ्जु दाहाल, केशवराज आमोदी, इन्दिरा अधिकारी,ले कार्यक्रममा आफ्ना रचनाहरु बाचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष शान्ती रमण वाग्लेले सिद्द गुफा दक्षिण एसियामा ठूलो गुफा भएको जनाउँदै यसको विकासका लागि सबै जुट्नुपर्ने बताए । कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, विमलनगर सामुदायिक होम स्टेका अध्यक्ष सीता थापा, सिद्ध गुफा व्यवस्थापन समितिका अध्यक्ष लालकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा आएका पाहुनाहरुलाई विमलनगर सामुदायिक होमस्टेले स्वागत गरी स्थानीय उत्पादन, मगर संस्कृतिको प्रदर्शन सहित आतिथ्यता प्रदान गरेको थियो । गुफा कहिले र कसले पत्ता लगायो ? वि.सं. २०४४ साल चैत महिनाको नवमीको दिन चन्द्र बहादुर थापा गाई गोठालो गएका थिए । गाई चर्दै जानेक्रममा पारीगोठ भन्ने ठाउँमा गाईले टेकेको एक ठाउँमा गाईको खुट्टा अड्किन पुग्यो । तत्काल लौरोले खोतल्दा झन ठूलो खाल्डो बन्दै गयो । त्यस दिन घर पुगेपछि चन्द्र बहादुर थापाले गाउँघरका अन्य दाजुभाईलाई दिउँसोको कुरा सुनाए । भोलिपल्ट गाउँका मानिसहरु गल र कोदालो लिएर पारीगोठको बारीमा पुगे । जति खन्यो उती गहिरो हुँदै गएपछि यसको अर्को मुख पनि होला भनेर खोज तलास गरियो नभन्दै झण्डै आधा किलोमिटर तल मुख फेला पर्यो । कसरी फेला पर्यो गुफा ? गोठालो जाने क्रममा जंगलमा खुबै हावा चल्थ्यो । हावा चुँदी खोला र मस्र्यांदी तिरबाट आउँथे । तर केही स्थानमा भने भित्रबाट हावा आउने र रुख विरुवा हल्लिन थालेपछि खोज्दै जाँदा माथिबाट आएको हावा गुफाको भित्री भाग हुँदै बाहिर आउने क्रममा रुखका पातहरु हल्लिएको थाहा पाएको थापाको भनाई छ । गुफा पत्ता लगाएका थापालाई कार्यक्रममा दोसल्ला ओडाएर सम्मान गरिएको छ । गुफा पत्ता लागेपछि सामान्य तया गुफामा सिद्धबाबाहरु बस्ने धारणा अनुसार सिद्ध गुफा नामाकरण गरिएको जानकारहरु बताउँछन् । सिद्ध गुफाको विशेषता के छ ? अन्य गुफा भित्र पस्दा स्वासप्रस्वासका लागि अक्सिजन सिलिण्डर लिएर जानुपर्ने हुन्छ अन्यथा भित्र पुगेपछि अक्सिजन अभाव हुन्छ । सिद्ध गुफाको दुवै तर्फ खुला भएको कारण हावा आउ जाउ हुन्छ । अक्सिजन अभाव हुँदैन । यो गुफा समुन्द्रि सतहबाट ६५० मिटरको उचाईमा रहेको छ । करिब ४४० मिटर लम्बाई र ९६ मिटर उचाई रहेको यो गुफामा सजिलै जान आउन सकिन्छ । भित्र विभिन्न प्रकारका कलाकृतिहरु देख्न पाईन्छ । कहाँबाट जाने ? काठमाण्डौ पोखरा सडक खण्डको आँवुखैरेनी, नयाँ पुल हुँदै चुन पहरा कट्ने वित्तिकै विमल नगर आउँछ । सडकको छेउमै सिद्ध गुफा यात्रु प्रतिक्षालय रहेको छ । त्यसको अर्को तर्फबाट गोरेटोबाटो वा मोटरबाटो हुँदै जाँदा विमलनगर सामुदायिक होमस्टे पुगिन्छ । त्यहाँबाट गुफा पुग्नका लागि एक हजार १९ मिटरको पैदल यात्रा गर्नुपर्दछ । होमस्टेमा के सुविधा ? विमलनगरमा रहेको मगर समुदायका महिलाहरुले यहाँका १० वटा घरमा होमस्टे सञ्चालन गरेका छन् । हाल यहाँको होमस्टेको क्षमता ४० जना रहेको छ । २०७४ सालबाट सञ्चालनमा रहेको होमस्टेमा यहाँको महिला समूहले स्वागत गर्दछ । उनीहरुले पाहुनाहरुको वासको व्यवस्थापन गर्दछन् । स्थानीय उत्पादनबाट बनेका मिठा परिकारहरु(ढिडो, गुन्द्रुक भट्टमासको अचार, लोकल भालेको मासु, सलादका प्रकार, स्थानीय चामलको भात आदि) पाहुनाका लागि तयार गरेर खुवाउँछन । साँझको खाना पछि यहाँ मगर भाषा र नेपाली भाषाको अलग अलग गीत र नृत्य अवलोकन गराउँछन् । पाहुनाहरुले चाहेमा जति पनि नाच्न र गीत गाउन पाउँछन् । अर्को दिनको विहान नहुँदै साँस्कृतिक कार्यक्रम सक्नुपर्ने नियम यहाँ रहेको छ । भोलिपल्ट विहान खाजा पछि सिद्ध गुफाको अवलोकन गराउँछन् र दिउँसो खानाले पाहुनाको सत्कार गर्छन । पाहुनाहरुलाई मायाको चिनो सहित विदाई गर्दछन् ।

Back to top button
Skip Add
Close