एम्नेस्टी इन्टरनेशनल नेपालको २७ औं वार्षिक साधारणसभा तथा अधिवेशन चितवनको रत्ननगरमा सुरु 

चितवन, असोज ६

एम्नेस्टी इन्टरनेशनल नेपालको २७ औं वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार देखि चितवनको रत्ननगरमा सुरु हुँदैछ । साधारणसभाले एम्नेस्टी नेपालको नयाँ कार्यकारी बोर्डको निर्वाचन समेत गर्नेछ । आज भरतपुरमा पत्रकार सम्मेलन गरी एम्नेस्टी नेपालले साधारणसभाको सबै तयारी पुरा भईसकेको जानकारी दिएको छ । रत्ननगरस्थित हाटेल स्टार व्याङक्वेटमा हुने साधारणसभाको भोलि दिउँसो १ बजे पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले समुद्घाटन गर्ने कार्यक्रम रहेको एम्नेस्टी नेपालका कार्यकारी निर्देशक निराजन थपलियाले जानकारी दिए ।

उनले उद्घाटन सत्रपछि कैदमा राखिएका बंगलादेशका फोटो पत्रकार शहिदुल आलम, म्यानमारका पत्रकारद्धय क्या सो ओ र वा लोनको रिहाई तथा गतसाल हत्या गरिएकी भारतकी पत्रकार गौरी लङकेशका लागि न्यायको माग गर्दै एक सार्वजनिक कार्यक्रम समेत हुने जानकारी दिए । यसैगरि एम्नेस्टीको पूर्ण सत्रले नेपालमा द्धन्द्धकालीन मावनअधिकार उल्लंघनका घटनाहरुलगायत अन्य अपराधका घटनाहरुमा झ्याङिगदै गएको दण्डहीनताको संस्कृति, महिला हिंसा अन्त्यका लागि प्रभावकारी कदम चाल्न तथा नेपालका आप्रवासी श्रमिकलगायतका सीमान्तकृत समुदायहरुको मानवअधिकार सुनिश्चित गर्न राज्य बिफल भएको विषयमा समीक्षा गर्ने एम्नेस्टी नेपालका अध्यक्ष राजन कुईकेलले जानकारी दिए । साधारणसभा कार्यक्रम अन्तरगत नै एक्नेस्टी नेपालमा आवद्ध रामपुर युथ नेटवकका सदस्यहरुले असोज ७ गते साँझ सौराहा चोकमा महिला हिंसा र महिला हिंसासम्बन्धी घटनाहरुमा व्याप्त दण्डहीनता अन्त्यको माग गर्दै एक सार्वजनिक प्रस्तुती समेत रहनेछ । साधारणसाभामा एम्नेस्टी नेपालका ७० समूहका १४० जना प्रतिनिधि, निर्माणधिन समूह, युथ नेटवर्कका पर्यवेक्षकहरु, बोर्ड पदाधिकारी, सल्लाहकारहरु, पूर्व पदाधिकारी तथा निर्देशकहरु र कर्मचारीगरी १८० जनाको सहभागिता रहने छ ।

अध्यक्षमा तीन जनाको उम्मेद्वारी

एम्नेस्टी नेपालको अध्यक्षका लागि तीन जनाले उम्मेद्वारी दिएका छन् । अध्यक्षका लागि उत्तम सापकोटा, विक्रम धुकुछु र यशोधा उपाध्यायले उम्मेद्वारी दर्ता गराएको एम्नेस्टी नेपालका अध्यक्ष राजन कुईकेलले जानकारी दिए । अध्यक्षका लागि उनीहरुबीच सहमतिको प्रयास पनि जारी रहेको अध्यक्ष कुईकेलले बताए ।

११ सदस्यीय बोर्डमा अध्यक्ष, कोषाध्यक्ष, ४ जना खुल्ला, ३ महिला सदस्यको लागि निर्वाचन हुनेछ । यस्तै दुई युवा सदस्यमा यसअघि नै बिपिन बुढाथोकी र समिक्षा कोइराला चयन भईसकेका छन् । बोर्डको उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा सदस्यहरुबाट मनोनित गरिने अध्यक्ष कुईकेलले जानकारी दिए

 

Back to top button