“दरबन्दी मिलान कार्यक्रमको निर्णयले ल्याएको नमिठो तरङ्ग”

नेपाल सरकारको केन्द्रीय निर्णय र निर्देशनमा देशभरि शिक्षक–विद्यार्थी अनुपातको आधारमा जुन दरबन्दी मिलान कार्य अघि बढिरहेको छ, त्यसले पालुङटार नगरपालिकामा नमिठो तरङ्ग उत्पन्न भएको देखियो । राज्य सक्षम हुँदा नपुग ठाउँमा केन्द्रबाट दरबन्दी थप गरिदिने हो तर नसकेको अवस्थामा जुन विद्यालयमा शिक्षक विद्यार्थी अनुपात, हिमाली क्षेत्रमा १ः४०, पहाडी क्षेत्रमा १ः४५ र मधेस तथा उपत्यकामा १ः५० भन्दा कम छ त्यसका आधारमा पालिकाभित्र मौज्दात दरबन्दीबाट शिक्षक नपुग भएका ठाउँमा व्यवस्थापन गर्नुपर्ने निर्देशन केन्द्रको हुँदो रहेछ । यही कुरालाई सिरानी हालेर पालिकाले गरेको निर्णय बदनियतपूर्ण र दुरासययुक्त छैन भन्ने लाग्दछ । सम्बन्धित स्कूलका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, अभिभावकलाई आफ्नो विद्यालयमा भएको दरबन्दी घटेर नजाओस् भन्नु स्वभाविक होला तर नगरपालिका त पालिका भित्रका सबै विद्यालयको अभिभावक हो । उसले कुन सन्तानले डकारुन्जेल खाउन्, कुनै भोकभोकै मरुन् भन्न त मिल्दैन होला । भन्न मिल्छ भने हामी समाजवाद/साम्यवादको नारा किन लगाउने त ? कुनै पुराना र इतिहास बोकेका स्कूलबाट जति विद्यार्थी भए पनि दरबन्दी चलाउन मिल्दैन भनी बम्किनेले अहिले पनि उत्पादन राम्रो निकाल्न पर्छ कि पर्दैन ? बाजेले लगाएको सावाँको ब्याज खाएर ठुलाकुरा गर्न सुहाउँछ ? मेरो टालामा अहिले पनि हिङको वास्ना आईरहेको छ भन्ने कि टाला भित्र हिङको डल्लोपनि राख्ने ? अनि स्थापित भनिएका विद्यालयका शिक्षक तथा प्रशासकले एकपल्ट बालकल्याण, धर्मोदय, मदनेडाँडा, रजगरे, त्रिवेणीको प्र.अ वा शिक्षक भएर सोच्ने कि नसोच्ने ? घरमा खाने गाँस कटाएर विद्यालयमा शिक्षक राख्न शुल्क तिर्नुपरेको मर्मलाई आत्मसात गर्ने कि नगर्ने ? अनि म पढेको स्कूल हो भनेर दरबन्दी नकाटी राख्दा अरुबाट आक्रोस आउला कि नआउला ? हाम्रा विद्यालयमा भएका जति सबै दरबन्दी हाम्रै बाजेका बकौती त होइनन् होला ? तपाईँ व्यक्तिवादी बनेर ठुला–ठुला दर्शन छाट्नेको कुरा सुनेर बरु कम दरबन्दी भएका विद्यालयका विद्यार्थी र अभिभावकले बरु तपाईंलाई श्राप देलान्, अर्कालाई एउटा चोर औँला ठड्याउँदा आफूलाई बाँकी औँलाले खबरदारी गरिरहेको हुन्छ, ख्याल गर्नुहोस् ।अब रह्यो पायक–अपायक, जेष्ठ कनिष्ट, विषय मिलेको–नमिलेको, नियम वा नियतका कुरा । यस सम्बन्धमा सबै कुरा एउटा साँचोमा ढाल्नुपर्दछ भन्ने लाग्दछ । कसैमाथि पनि आग्रह–पूर्वाग्रह राखिनु हुँदैन । विद्यालयको आवश्यकता र व्यक्तिको क्षमताका बीचमा मेल खानुपर्दछ । विषयगत, सङ्ख्यागत, क्षेत्रगत, तारतम्य मिलाइनुपर्दछ । पूर्वाग्रहले पीडित कोहीपनि हुनुहुँदैन । जहाँ नगर सरकार, शिक्षा प्रशासन, विद्यालय व्यवस्थापन समिति, प्र.अ, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावको बीचमा सुमधुर सम्बन्ध स्थापित हुन्छ, त्यहाँनै शैक्षिक उत्पादन राम्रो हुन्छ । त्यसैले बुझक्कड भनिने वर्गलेनै समाजमा असहिष्णुता, अशिष्टता र वैमनस्य ल्याउने काम नगरौं । शालीनतापूर्वक उत्पन्न समस्याको समाधान गरौं ।सुनाैलाेपत्रिकाबाट

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.