Trending

कथा न्यायको धब्बा

डा. अम्बिका अर्याल

“हेलो” !
“हेलो, हजुर… हजुर दिदी ।”
“यता सुन त, केही दिनका लागि अफिस विदा लेऊ ल ।”
“हजुर, किन र ?”
“मेरा लागि । धेरै दिन पर्दैन, दुई तीन दिन भए पुग्छ ।”
“हस्पिटलमा केही समस्या परेको हो र ? भिनाजुलाई कस्तो छ ?”
“होइन, होइन । यता उपचार हुँदैछ । पर्सि अप्रेसनको कुरा छ । यहाँ फेरि उहाँलाई कुर्न भाइ बोलाएकी छु । तर मेरो पनि यही बेला…..”
“के भयो र दिदी ?”
“ए, नराम्रो त होइन क्या । अस्ति नै हो अन्तर्वार्ताको लागि मिति तोकेको त । अब एकदिन मात्र बाँकी रहेछ । कति छिटो आइसकेछ भन्या । केही तयारी छैन । फेरि परीक्षा दिन पनि यहीँ पाइएको भए पनि त हुने नि । पोखरा पो पुग्नु पर्छ त । भोलि नै यहाँबाट हिँड्नु पर्ने भो । सँगै साथी जान्थ्यौ कि भनेर । केही आइडिया पनि छैन । पहिलो पटक सरकारी जागीरको लिखितमा त नाम निस्कियो । तर अन्तर्वार्ता फेस गर्ने कसरी । मनमा डर लागिरहेको छ । तिमी सँगै गए मलाई हिम्मत बढ्ने थियो । तिमी त्यही क्षेत्रमा पहिले नै उत्र्तीण भएर जागिरे भइसकेकी मान्छे । तिमीसँग धेरै सिक्न पनि पाउँथेँ भनेर ।”
“त्यो त ठिकै हो दिदी । तर बच्चाहरूलाई कसरी व्यवस्था मिलाउने नि ? उता पनि बाबु नानीहरू एक्लै हुन्छन् । दिउँसो विद्यालयबाट फर्किएपछि घर लैजाने कसले ? खाना पकाएर खुवाउने कसले ? स्कुल छुट्ने बेलामा हजुर हस्पिटलबाट घर पुग्नुहुन्थ्यो र पो । के विचार गर्नुभयो ?”
“तिम्रो घरमा छाड्नुपर्ला । हामी नफर्किउञ्जेलका लागि । हुन्न र ? ज्वाईँ भइहाल्नुहुन्छ नि घरमा । उहाँलाई पनि विदा लिन लाउनुपर्ला ।”
“हुन्छ दिदी । उहाँलाई भन्छु अनि भोलि अफिसमा छुट्टी पनि मिलाउँछु नि त ।”
“हुन्छ ल । त्यसै गर है त । अहिले म फोन राख्छु ।”
दिदी मलाई योजना सुनाएर ढुक्क बन्नुभयो होला सायद । तर दुई तीनदिनसम्म केटा मान्छेले चारचार जना बच्चाहरुलाई पकाउने, खुवाउने र खेलाउने गरेर कसरी हेर्नुहोला भन्ने सम्झेर डराएँ । अफिसमा पनि सजिलै विदा मिल्ला नमिल्ला भन्ने चिन्ता बढ्यो । तर सजिलै उहाँले दिदी भिनाजुलाई गाह्रो परेको बेला सहयोग नगरे कहिले गर्ने भनेर घरायसी समस्याको त समाधान दिनुभयो । म जुन तरिकाले भए पनि बच्चाहरुलाई खुसी राखौँला यताको केही चिन्ता नलिनू भनिदिएपछि आधा तनाव घटेको थियो मेरो ।
अफिसमा पनि यथार्थ कुरा हाकिमलाई बताएँ । उहाँले यस्तो अवस्थामा सहयोग गर्नुपर्ने तर्क गर्दै तीन दिनका लागि बिदा दिनुभयो । त्यसपछि घरमा आएर दिदीलाई तयारी हुन फोन गरेँ ।
उहाँ हस्पिटलमै हुनुहुँदो रहेछ । त्यहाँ डाक्टर रनिङमा आउने समय भएकाले बिरामीको मान्छे खोजे भने कोही छैनन् भन्दै बसिरहनुभएको । मैले उहाँलाई आधा दिनसम्म यहीँ भएपछि कहिले पुग्ने त पोखरा ? भनेर कराएँ । तर मेरो भन्दा त उहाँकै पेट भतभती पोलिरहेको हुँदो हो । भोलिको परीक्षा आजसम्म न त केही तयारी गर्न पाइएको छ न त कुनै वैकल्पिक उपाय नै छ । भाइ पनि बिहानै बाहिर निस्किएको अहिलेसम्म आइपुगेको छैन । आउँदैछु भनेको पनि दुई घन्टा भइसक्यो । अहिले त झन् फोनै लाग्न छाड्यो भन्दै उहाँ आत्तिन थाल्नुभयो ।
डाक्टरी चेकजाँचपछि उहाँले बिरामीलाई एक्लै छाडेर कलङ्कीको गाडी समाएपछि म घरबाट निस्किएँ ।
बिस्तारै दिन ढल्किन थालिसकेको थियो । हामीलाई आज नै जसरी भए पनि पोखरा पुगेर बास बस्नु थियो । चिनेजानेका कोही छैनन् त्यहाँ । होटलमै बस्नुपर्ने हुन्छ । कतिबेला पुगिने हो भन्ने डर उस्तै ।
कलङ्कीदेखि नागढुङ्गाको बाटो सँधै जाम हुने । सडक निर्माण थालेको पनि महिनौँ बितिसक्यो । कामको मेसो कहिल्यै सरेको देखिन्न । त्यो जाम भनेको दुईदेखि चार घन्टासम्म जति पनि लामो हुन सक्थ्यो । सँधैको समाचार यसरी नै आइरहेको हुन्थ्यो । मोटरसाइकल तथा स्कुटरले भने त्यो जामलाई छल्दै अघि बढ्न सक्थ्यो । सानोसानो बाटोबाट पनि छिर्न सक्ने सिकुटे शरीरको राम्रो उपभोग गर्ने सही समय यही नै थियो तिनको । अरु बेला हेप्ने गाडीवाला पनि जामका बेला बाइकको गुणगान गाउँथे ।
मैले पनि समयमै पोखरा पुगेर होटलमा बस्ने व्यवस्था गर्नुपर्ने भएकाले साँझपख गाडी पर्खेर बस्ने अनि जाममा फस्ने उपायबाट उम्किने उपयुक्त बाटो यही देखेँ । त्यसपछि दुईजना स्कुटरमा नै सवार भएर पोखरा पुग्ने योजना बनाई कलङ्की पुगेँ । एक मनचाहिँ लाग्दै थियो, यति लामो बाटोमा स्कुटर लिएर जानु राम्रो हुन्न । घरमा पनि श्रीमान्ले त्यही भन्नु भएको थियो । जुन पसलमा पुगेर छहारीमा बसेँ । त्यहीँका मान्छेहरु पनि मलाई त्यही सल्लाह दिँदै थिए । तर दिदीसँग भेट भइसकेपछि निर्णय लिने निधो गरेर उहाँलाई पर्खिरहेँ ।
उहाँसँग भेट भइसक्दा बेलुकीको चार बज्न आँटिसकेको थियो । अब गाडी खोज्ने र जाम छिचोलेर पोखरा पुग्ने समय दुई बहिनी मिलेर हिसाब गर्न थाल्यौँ । हामी कसै गरे पनि बाह्र बजेभन्दा अगाडि पुगिएला जस्तो लागेन । भोलिपल्ट बिहान सातै बजे परीक्षामा सामेल हुनुपर्ने समय तोकिएको थियो । त्यसैले स्कुटरमै गयौँ भने कम्तीमा दश बजेसम्म त अवस्य पुगिएला । बरु बिस्तारै जाउँला भन्ने निधोमा पुगेर बाटो लाग्यौँ ।
दिदीबहिनी सुखदुःखका कुरा गर्दै नागढुङ्गाको ओरालो लाग्यौँ । सहरिया कोलाहलपूर्ण भीडभाडबाट प्रकृतिको काखमा पुग्दा साँच्चै मिठो आनन्द मिल्यो । दिदीले भोलिपल्टको परीक्षाको भन्दा पनि भिनाजुको अप्रेसनको चिन्ताको कुरा निकालेपछि त्यो रमाइलोसँग हामी धेरैबेर रमाउन सक्ने परिस्थिति रहेन ।
भिनाजुलाई टिपरले च्यापेको थियो । धन्य, उहाँको ज्यान जोगियो । मृत्युको मुखमा पुगेर कोलाहल गरेको दृश्य जति सम्झन्छु उति मन भकानिएर आउँछ मेरो । झन् दिदीलाई कस्तो भयो होला ? साँघुरो बाटोमा खुट्टामा ठक्कर दिएपछि पैदल हिँडिरहनुभएको भिनाजु सडकमा पछारिनुभयो । उहाँले आफूलाई सामान्य चोट मात्र लागेको र टिपर ब्याक नगर्न गरेको टिपरचालकसँग गरेको रोदनले वरपरका बासिन्दाहरु तर्सिएका थिए । जति चित्कार गरे पनि चालकले पूनः भिनाजुलाई च्याप्न आएपछि उहाँले ज्यानको माया मारेर आफूलाई साँघुरो बाटोमा थोपरिएको एक ट्रक ढुङ्गामाथि हेल्नुभएछ । टाउको, छाती र कम्मरको भागलाई जोगाउन सके पनि उहाँले खुट्टालाई जोगाउन सक्नुभएन । टिपरको तेहेरो किचाइपछि गाउँलेहरु जम्मा भएर गाडीलाई नियन्त्रणमा लिएर उहाँलाई हस्पिटल पु¥याएछन् । यसरी मृत्युको मुखमा पुगेर बाँच्न त बाँच्नु भयो तर दुवै खुट्टामा लागेको चोट निको हुने कहिले हो ? अप्रेसन गरेपछि ठीक हुने हो वा होइन ? फुटेका हड्डीहरु जोडिने हुन् या होइन ? भन्ने आफ्नो मनभित्रको त्रास दिदी मलाई सुनाउँदै हुनुहुन्थ्यो ।
“अब डाक्टरी उपचारमा लगेकै छौँ । उपचार लाग्न समय त लाग्ला । निको भइहाल्छ नि” भन्दै म आश्वासन दिँदै थिएँ । दिदी मेरो आश्वासनमा के कति मन बुझाइरहनु भएको थियो कुन्नि ? उहाँको चिन्ता त झनै भिनाजुको अप्रेसनप्रतिको भयमा गएर रोकिएको थियो ।
“जे जस्तो दशा लाग्नुपरे पनि मलाई लागेको भए हुने । उहाँ केही सहन सक्नुहुन्न ? किन उहाँलाई चोट लागेको होला ? भगवान्ले पनि किन जो डराउँछ उसैलाई पटकपटक परीक्षा लिइरहनुपर्दो हो ?” भन्दै भकानिनुभयो ।
यसमा मैले भने भिनाजुप्रतिको दिदीको प्रेमको मूल्य नै मापन गर्न सकिरहेकी थिइनँ । तर उहाँलाई सम्झाइबुझाइ गर्ने प्रयत्नमा भने लागिरहेँ ।
जाम खानीखोला पुग्दा पनि सकिएको थिएन । ओरालो बाटो, जाममा ब्रेक लगाउँदै लगाउँदै बिस्तारै झर्नुपर्दा मेरा पाखुरा नराम्ररी गलिसकेका थिए । त्यसैले यो जाम कहाँसम्म पुगेर सकिने हो भन्ने एकिन नै नभएपछि खाजा खाएर थकाइ मार्ने योजनामा खानीखोलामा रोकिएका थियौँ । खाजा खाँदै गर्दा भने दिदीले भोलिको परीक्षाको चिन्तातिर कुरा मोड्नुभयो ।
त्यसपछि आफूले परीक्षा दिँदा आएका प्रश्नका ढाँचा र उत्तर दिने शैली सिकाउन थालेँ । म पनि जान्ने त कहाँ थिएँ र ? तर पनि अन्य क्षेत्रमा मेरा भन्दा दिदीकै अनुभव बढी भएको पक्का हो । यो जागीरमा भने मैले तीन वर्षको अनुभव लिएर उहाँभन्दा भोगी बनिसकेकी थिएँ । त्यसैले आफूले सम्झे जति र जाने जति उहाँसँग बाँडेँ ।
गफैगफमा आधा घन्टा पो बसिएछ । हाम्रो त गफ जुनीभरि पनि सकिन्न होला भन्दै हाँस्दै दिदीले घडी हेर्नुभयो । अब जाऔँ । भरै कतिबेला पुगिने हो ? भन्दै उठ्नुभयो । त्यसपछि हामी गजुरीतिर लाग्यौँ ।
भर्खरै गजुरी कटेका थियौँ । बाटोमा हिलो रातो माटोको लेदो त परैदेखि देखिएको हो । हिलैमाथि कुद्नुपर्दा कति बाइक चिप्लेका पनि थिए । हामी पनि एक ठाउँमा त झण्डै पछारियौँ । लेदो झरेको दृश्य पर सडकमा पनि देखिन्थ्यो । हामी र त्यो लेदो झरेको भीरको लगभग बीचमा बैरेनीतिर लाग्दा एउटा पुल रहेछ । त्यतैतिर जाममा बिस्तारै अगाडि बढिरहेका गाडीहरुका पछिल्तिर हामी पनि गुडिरहेका थियौँ ।
अचानक पछाडिबाट जामलाई उछिन्दै आइरहेको एउटा भ्यानले हामीलाई नराम्ररी ठक्कर दियो । मलाई सपना हो या विपना ? छुट्याउनै गाह्रो भयो । पुलको किनाराको बारमा गएर स्कुटर नराम्ररी पछारियो ।
म स्कुटर र बारको चेपमा नमिठोसँग चेपिएँ । हात खुट्टा कुनै थुत्नै मिलेन । दिदीलाई के भयो भनेर ध्यान मोडियो । दिदी कसो कसो हाम्फालेर पर पुग्नुभएछ । पछि उहाँ नै मलाई उठाउन दौडिएर आइपुग्नुभयो । म न त रुन सकेँ न त बोल्न नै ?
स्कुटर चलाएर हिँडेको पनि दश वर्ष पुग्न लागिसकेको थियो । आजसम्म कहिल्यै यसरी दुर्घटनामा परेकी थिइनँ । आज नसोचेको भयो । जसोतसो उठेँ । दिदीलाई केही भएको रहेनछ भन्ने पत्तो पाएपछि मन हल्का भयो । आफ्ना दुःखाईलाई सहन खोजेँ ।
दिदी हतारहतार हामीलाई हान्ने गाडीलाई रोक्न पुग्नुभयो । मेरो त्यति होस पनि थिएन । उसलाई रोकेर राख्ने सोच नै आएनँ । म त सकीनसकी स्कुटर कुँदाएर गन्तव्यतिर लाग्न खोज्दै रहेछु । स्कुटरमा चढेर तान्न लाग्दा पो थाहा भयो । मेरो एउटा खुट्टाले राम्ररी टेक्न नै सकिरहेको रहेनछ । हातहरु थरथर काँप्दै थिए । तर मन भने हिम्मत गर्दै थियो । शरीरभन्दा मन चाहिँ दरिलो रहेछ भन्ने लाग्यो पछि सम्झँदा ।
गाडी चालक अल्लारे रहेछ । ऊसँग लाइसेन्स पनि थिएन । ब्ल्युबुक मात्र भए पनि दिदीले खोस्नुभएछ । त्यसपछि कुन त जाम भएको बाटो झनै जाममा जित्दै आउने गाडीहरुको समेत लर्कोले सडक पुरै ब्लक भयो । त्यहाँका प्रत्यक्षदर्शी गाउँलेहरु कोही हाम्रा पक्षमा थिए कोही गाडीवालाका । गाडीवाला साहु उनीहरुकै चिनजानको मान्छे रहेछ । त्यसैले उनीहरु निर्दोषमाथि दोष थुपारेर आफ्नो मान्छेलाई उम्काउने बहाना गर्दै थिए ।
तर मेरो नटेकिएको गोडा र आधाजसो धुजाधुजा भइसकेको स्कुटर देखेर हतारहतार गाडी साहु डराएर मसँग माफी माग्न आएको अरु देख्दै थिए । तर उसको बोल्ने शैली माफी मागेको नभएर धम्काएको जस्तो सुनिन्थ्यो ।
“तिम्रो स्कुटर किनिदिन्छु” भनेर बारम्बार दोहो¥याएको त्यसको वाक्य त सच्चा कहाँ रहेछ र ? पछि पो थाहा भयो । उसले त कवाडी मूल्यमा उसलाई हामीले हाम्रो स्कुटर बेच्नुपर्ने पो भन्दै रहेछ । हामी भने उसले “बिग्रिएको स्कुटर मर्मत गर्ने मात्र कहाँ हो र ? नयाँ नै किन्नु परे पनि किन्न तयार छु” भनेको हो भन्ने अर्थ लगाइरहेका थियौँ । अनि उसलाई इमान्दार ठानिरहेका थियौँ । चालक भने अरु नबोले पनि मैले स्कुटर देख्दै देखिनँ भन्न छाडेको थिएन ।
हामीले पुलिसलाई फोन ग¥यौँ । पुलनेरको घटनाका बारेमा सबै थाहा भइसकेको पुलिसले बतायो । पछि उसले भन्यो ः “मैले अगि नै पुलिसलाई फोन गरिसकेँ ।” आफैँ घटना घटाउने र आफैँ पहिले पुलिसलाई फोन गर्ने हामीले देखेको पहिलो मान्छे थियो ऊ । स्कुटरलाई उसैले लिएर पुलिस चौकीतिर लाग्यो । हामीलाई उसकै गाडीमा गाउँलेले चढ्न अह्राए । भर्खरै राम्ररी चलाउन नजानेर हामीलाई हान्ने चालकसँग चढेर चौकी कसरी जाने ? म मानिनँ । हिँडेर जान पनि निकै पर रहेछ चौकी । त्यसमाथि घाइते ।
“सँधै चलाउने चालक हो यो । किन नजान्नू ? उसले नदेखेर ठक्कर दिएको भनिसक्यो त” भन्दै उल्टै हामीलाई थर्काउने धेरै भए । यो पितृसत्तात्मक समाज साँच्चै निर्दोष हुँदाहुँदै पनि नारीको पक्षमा बोल्न कहिल्यै नसक्दो रहेछ ।
“भैगो । चौकीसम्म त पुगौँ । जाऔँ हिँड” भनेर दिदीले मलाई उसकै गाडीमा चढाउनुभयो । म पनि प्रहरीबाट पक्कै न्याय मिल्ला भन्ने भरोसामा मन नलागेरै चढेँ । दिदीले “अगाडि सडकमा राम्रोसँग हेरेर बिस्तारै गाडी चलाऊ” भन्दै त्यो चालकको ध्यान खिचिरहनुभयो ।
प्रहरी चौकीमा पुगेपछि मेरो मन भकानिएर आयो । अब त केही सहयोग मिल्ला भन्ने आशामा सायद कोही अभिभावक भेटेझैँ । तर कानुनी न्याय दिने प्रहरी प्रमुखको रुखो बोलीले एकैछिनमा त्यो आशाको तुवाँलो कता मडारियो । अनन्त आकाशमा बिचल्ली बनिदियो ।
कसले कसलाई हानेको रे ? कसरी भएको रे दुर्घटना ? भनेर जिज्ञासापूर्वक ऊ सोधिरहेको थिएन । उसले मेरो लाइसेन्स र ब्ल्युबुक मागेर दिन ढिलो हुँदा पो थर्काइरहेको थियो ।
गाडी चालकको पनि काजगात माग्ला भन्ने लागेको थियो । मतलबै गरेनँ ।
एकछिनपछि दिदीले भन्नुभयो ः “सर, हामी त पीडित पो हौँ त । उनीहरु हुन् नि हामी निर्दोषलाई क्षति पु¥याउने । उनीहरुसँग पनि कागजात माग्नुपर्ला नि ।”
त्यसपछि मात्र उसले ध्यान चालकप्रति खिचेझैँ ग¥यो । अनि भन्यो ः “खै दिनुस् त तपाईँहरुको” ।
गाडी साहुले भन्यो ः “जे छ उनैले लिइसकेका छन् ।”
दिदीले लिएको ब्ल्युबुक दिनुभयो तर लाइसेन्स नभएको जानकारी पनि दिनुभयो । गाडी साहुले प्रहरीतिर फर्किएर खै के इसारा गर्दै थियो प्रहरी प्रमुखले सुनेको नसुन्यै टारिदियो ।
एकछिनपछि गाडी साहुले प्रहरीलाई “स्कुटर भएको तिर जाऔँ” भन्दै लिएर गयो । हाम्रो छेऊमै चालकले स्कुटर लिएर आएपछि फर्कियो ।
“स्कुटरमा त खासै क्षति भएको रहेनछ” भन्दै कति छिटै मूल्याङ्कन गरिदियो । भर्खरै पछारिएर त्यत्रो मार खाएर आएको त्यो स्कुटरले आफैँ चल्न सक्ने भए ती दुवैलाई हानेर उसैगरी त्यहीँ लडाइदिने थियो होला । अनि भन्ने थियो होला ः “लडे पनि खासै चोट छैन तिमीहरुलाई ।”
कति निर्दयी न्याय । न्यायका खोल ओड्नेका व्यवहार देखेर न्याय नै लोक पलायन भए जस्तो ।
मेरो दुःखाइ बढ्दै थियो । तर त्यो प्रहरी प्रमुखको ध्यान केही गरी हामीतिर खिचिने छाँटकाँटै थिएनँ । एकछिनमा ऊ निस्केर कतातिर लाग्यो पत्तो भएन ।
अर्को प्रहरी प्रमुख आइपुग्यो । उसले भने ध्यान दिएर सोधखोज ग¥यो । त्यसलाई देखेपछि गाडीको साहु परपर हुन थाल्यो । दालमा केही कालो छ भन्ने प्रस्टै बुझ्यौँ हामीले पनि । उसले “स्कुटरको भन्दा पहिले स्वास्थ्यको चिन्ता गर्नुहोस्” भनेर हामीलाई हस्पिटल लैजान त्यो गाडी साहुलाई अह्रायो । हामी पहिलेझैँ डराइडराइ उसकै गाडीमा हस्पिटल जान बाध्य भयौँ ।
हस्पिटलमा गएर भर्ना भएर बस्ने हाम्रो स्थिति नै थिएन । एक्सरे र दुःखाइ कम गर्ने औषधी लिएर हामी पुलिस चौकी फर्कियौँ । त्यसपछि प्रहरीलाई परीक्षाका कारणले पोखरा जानै पर्ने स्थिति बताएर बाँकी कामकारवाही फर्केपछि गर्ने गरी मिलाउन आग्रह ग¥यौँ । प्रहरी प्रमुखले हामीलाई ठक्कर दिने गाडीलाई र हाम्रो स्कुटरलाई मुद्दा नमिलेसम्म छाड्न नमिल्ने बतायो । हामी रातको समयमा गाडी चढेर पोखरातिर लाग्यौँ ।
गाडीमा ब्यान्डेज गरेको गोडा देखेपछि सबैका ध्यान मतिरै खिचियो । मेरो सिट नजिकै बस्ने दाइले विशेष ध्यान दिएर सोध्न थाल्नुभयो । उहाँलाई यथार्थ सबै बताएँ ।
रातको समयमा अब धेरै होटलहरूसमेत बन्द हुने र केटीकेटी देखेपछि नराम्रो सोच्ने मानवीय स्वभावका बारेमा पनि उहाँले जानकारी गराउनुभयो । ठूलै समस्यामा परेको देखेर उहाँका मन बदलिए ।
“सानोतिनो भए पनि मेरो घर छ । आज त्यहीँ बसौँला । जे सकिन्छ त्यही खुवाउँला । म मेरी श्रीमतीलाई हजुरहरूलाई समेत खाना पकाउन भन्छु है” भनेर उहाँले घरमा फोन गर्नुभयो ।
पहिले त हामीलाई धेरै असहज लाग्यो । पहिलोपटक भेटिएको लोग्नेमान्छेसँग उनकै घरमा गएर बास बस्ने कहाँ सोच्न सक्नु र ? हामीले नाइनास्ती गरिरह्यौँ । उहाँले घरमा फोन गरेर भनिसक्नुभए पनि हामी नजाने निर्णयमा पुग्यौँ । “जे पर्छ टर्छ, भगवान्ले केही उपाय त देखाइहाल्लान् नि” भनेर दिदीले जवाफ दिनुभयो ।
आफूले मानवताका नाताले सहयोग गर्न खोजेको र त्यसमा केही स्वार्थ नभएको उहाँको जवाफ थियो । हामी पनि दुईजना भएकाले खासै उहाँले दया देखाउन नपर्ने गरी मानसिक तवरले बलिया बनेका थियौँ ।
निधोमा नपुगी खैरेनीटार पुगिएछ । रातको बाह्र बजिसकेको थियो । “अब आधारातमा हामी पोखरा पुगेर बिचल्ली हुनभन्दा दाजुकै घरमा जाऔँ, आखिर परिवार भएका मान्छेसँग डराउनु पनि पर्दैन” भनेर बिस्तारै दिदीबहिनीले सल्लाह ग¥यौँ ।
झर्ने ठाउँ आएपछि उहाँले हामीलाई पहिले झर्न आग्रह गर्नुभयो । हामी केही अप्ठ्यारो मान्दै ओर्लियौँ ।
साँच्चै घर सानो भए पनि मन ठूलो भएकी दिदीलाई त्यहाँ भेट्यौँ हामीले । हामीलाई पहिले नै चिनेको नातेदारको घरमा आएको महसुुस भयो । आधारातसम्म नसुतेर श्रीमान् र अपरिचित पाहुनाका प्रतीक्षामा बसिरहेकी ती दिदी र दाइ दुवैमा दैवका रूप देख्यौँ हामीले । आतिथ्य सत्कारको स्वाभाविक तरिकाले झनै प्रभावित बनायो । छोराहरुमा भएको अनुशासन र आमाबाबुप्रतिको बफादारिता सह्रानीय थियो । जेहोस् बाटोमा अलपत्र हुनबाट बचाएर हामीलाई ठूलो गुण लगाउनुभयो उहाँहरूले ।
रातभरि दुःखाइले निदाउन गाह्रो भो मलाई । दिदीलाई पढाइको छटपटीले । भोलिपल्ट जसोतसो परीक्षामा सामेल हुनुभयो । परीक्षाकेन्द्र पत्ता लगाउन उस्तै गाह्रो भयो । पहिलेको शिक्षा कार्यालयबाट अन्यत्र सरिसकेको धेरै कमलाई मात्र जानकारी रहेछ । जसलाई सोधे पनि देखाए एकातिर । जानुपर्ने रहेछ अर्कैतिर । धन्य, परीक्षा ढिला सुरु भएकाले हानी भएन ।
दिदीले अनेक कठिनाइका बीचमा परीक्षा दिनुभयो । सँधै मलाई हिम्मत दिने मेरी दिदीलाई त्यस दिन म हिम्मत भर्दै थिएँ । त्यसले के कति आश्वासन मिलेको थियो वा फाइदा पुग्यो त्यो त उहाँलाई नै थाहा होला । यति हो, हामीले सङ्घर्षमा चालेका कदमहरुले शिखर चुमोस् भन्ने विन्ध्ववासिनी माईसँग प्रार्थना गर्दै घरतिर फर्कियौँ ।
बाटोमा अलपत्र परेको स्कुटरको जीवनरक्षा र आफ्नो उपचारका लागि ध्यान खिचिए । प्रहरीले गाडी धनीकै हित सोचेर गाडी छाडिदिइसकेछ । गाडी साहुका अनेक ठूला कुरा सुनिए फोनमा । न्यायले न्यायभन्दा महिलामाथि हेपाहाचेपाहा व्यवहार गर्न नसकेको देखेर खिन्न लाग्यो । तर पनि आफ्नो अधिकारका लागि लड्ने सोचले घुँडा टेकेन ।
प्रहरी चौकीमा आएर त्यहाँबाट न्याय दिन नसक्ने भए केन्द्रमा मुद्दा लिएर जाने बतायौँ । त्यसपछि ठूलै विवाद र चर्काचर्की भयो । सुनिएर चलाउन नमिल्ने भएका मेरा गोडालाई गौर गरेर हेरेपछि उपचार गराउँदा कति खर्च लाग्ने हो भन्ने भयले बल्ल गाडी चालक डरायो ।
यता हस्पिटलमा भर्ना भएर बस्नुभएको भिनाजु र घरमा केटाकेटीहरुलाई कसरी स्याहारसुसार गर्दै बसिरहनुभएको छ होला भन्ने ज्वाईँतर्फ सम्झेर हामी दुवैले आफ्नो समस्यालाई सामान्य रुपमा लियौँ र छिटो समाधानको बाटोमा जाने निर्णय ग¥यौँ ।
हामीले घरमा पनि यो दुर्घटनाका बारेमा केही बताएका थिएनौँ । अप्रेसन गरेर बल्ल होसमा आउनुभएको भिनाजुसम्म खबर पुग्यो भने चिन्ता बढ्ला भन्ने दिदीकै योजनाअनुसार हामी सतर्क भएका थियौँ ।
समय र परिस्थितिअनुकूल हुँदो हो त, न्याय के हो ? भन्ने थाहा नभएरै बर्दी धारण गर्नेका विभेदकारी नीतिलाई बदल्ने मार्गमा सिङ्गौरी खेलेर छाड्थेँ भन्दै दिदी निकै मुर्मुरिनुभयो । भनेझैँ गर्न त कहाँ सजिलो थियो र ? एकचोटि मात्र होइन, पटकपटक यी अपराधीहरू उम्केकै हुनाले कसैले न्याय पाउन नसकेका हुन् भन्ने निष्कर्ष लिएर हामी घर फर्कियौँ ।
केही समयपछि दिदीको परीक्षाफल राम्रो आयो । दाजुसँगको नयाँ नातासम्बन्धले दीर्घकालीन मलजल पायो । भिनाजुको गोडा पनि निको भएर सामान्य अवस्थामा फर्कनुभयो । निर्दोषमाथि न्याय गर्न नसक्ने त्यही प्रहरी प्रमुख घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेर जागिरै खोसिएको समाचार पनि यत्रतत्र फैलियो । तर न्याय र कानुनप्रतिको हाम्रो सच्चा सोचमा भने सदाका लागि कालो धब्बा लागिरह्यो ।

डा. अम्बिका अर्याल
उपप्राध्यापक, त्रिभुवन विश्वविद्यालय
ठेगाना ः बूढानीलकण्ठ काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker