१२ बर्षभन्दा बढी हराएका मानिसहरुको न्यायिक मृत्युको प्रमाण पत्र प्राप्त हुने

रविन्द्र कंडेल
माघ ३, गोरखा ।
१२ बर्षभन्दा बढी हराएका मानिसहरुको न्यायिक मृत्युको प्रमाण पत्र प्राप्त गर्न सकिने देवानी तथा फौजदारी ऐनमा उल्लेख भएको छ । गत भदौदेखि कार्यान्वयनमा आएको कानुनी व्यवस्थामा अदालतबाटै प्रमाण पत्र दिने व्यवस्था भएको कुरा माघ ३ गते पालुङ्टार नगरपालिका वडा नं. ७ मा सञ्चालित एक कार्यक्रममा राष्ट निर्माण मञ्च ले जानकारी गराएको हो । वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको भूकम्प पछिको पुननिर्माण तथा महत्वपूर्ण कानुन सम्बन्धी सामुदायिक घुम्ती कानुनी क्लिनिकमा सो कुरा बताइएको हो । वडा नं. ७ कार्यालय र च्याङ्ली सामुदायिक सिकाइ केन्द्रको समन्वयमा सञ्चालित अन्तरक्रिया कार्यक्रममा वडा कार्यालयका वडा सदस्यहरु, सम्पूर्ण टोल विकास संस्थाका अध्यक्षहरु एवं प्रतिनिधीहरु, भूकम्पका लाभग्राही तथा अन्य गरी १०० भन्दा बढीको उपस्थिति रहेको थियो । राष्ट निर्माण मञ्चका केन्द्रिय अध्यक्ष निर्मल उप्रेतीले स्वागत सहित कार्यक्रमको औचित्यको बारेमा बताउनुभएको थियो । सो कार्यक्रममा पुन निर्माण प्राधिकरणका गुनासो शाखा प्रमुख लाल बहादुर बस्नेतले समग्र पुननिर्माण अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । कतिपय स्थानहरुमा प्राविधिकहरुले गरेका कमजोरी तथा अन्य विभिन्न पक्षका कमजोरीका कारण समेत लाभग्राही सूचीमा पर्नुपर्नेको नाम पनि पर्न नसकेको समेत उहाँले बताउनुभयो । आँशिक क्षति भएका लाभग्राहीहरुले पनि पूर्ण क्षतिको अनुदान लिन चाहेमा पुरानो घर भत्काउनुपर्ने पनि उहाँले बताउनुभयो । यस अघि भत्काउनुपर्ने बाध्यता नभए पनि पछिल्लो समयमा गैर लाभग्राहीले पनि पाउनुपर्ने माग गर्न थालेपछि अनुदानको दुरुपयोग नहोस भनि यस्तो व्यवस्था गरिएको समेत उहाँले बताउनुभयो । कार्यक्रममा राष्ट निर्माण मञ्च नेपाल गोरखाका रमेश अधिकारीले नयाँ कानुनी व्यवस्थाहरुको बारेमा समेत जानकारी गराउनुभएको थियो । त्यस्तै च्याङ्ली सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रविन्द्र कंडेलले कार्यक्रमको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले आफ्ना गुनासोहरु राखेका थिए भने कानुनी व्यवस्थाहरु तथा अन्य प्रावधानहरुका बारेमा कानुनविदहरुले जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker