डुम्रे मा महाेत्सवकाे तयारी तीब्र

गाेरखा संसार

पुस ९ गते ।

तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेमा सञ्चालन गर्न लागिएको बन्दीपुर साँस्कृतिक एवं पर्यटन महोत्सव २०७६ को तयारीलाई तीब्र पारिएको छ। नेपाल आदिवासी जनजाति महासंघ बन्दीपुर समन्वय परिषद्ले यही पुस ११ देखि २० गतेसम्म सञ्चालन गर्न लागिएको महोत्सवको आवश्यक तयारीलाई तीब्र पारिएको हो । पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुरमा पर्यटकलाई थप आकर्षित गर्ने उद्देश्य सहित बन्दिपुर साँस्कृतिक एवं पर्यटन महोत्सव २०७६ गर्न लागिएको महोत्सव मूल समारोह समितिका संयोजक शिवकुमार श्रेष्ठले बताए ।

उनले भने, ‘संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यमा गर्न लागिएको महोत्सवले पर्यटकहरुलाई आकर्षित गर्न मद्दत पुग्ने र स्थानीय कला संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने छ ।’ ‘अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौं, भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं’ भन्ने नाराका साथ वडा नं. १ डुम्रे स्थित चिसापानीमा सञ्चालन हुने महोत्सव स्थलमा आवश्यक स्टल, रमाईलो मेला निर्माण लगायतका कार्य गरिएको छ भने डुम्रे बजार क्षेत्र र बन्दीपुर प्रवेशद्वार लगायतका क्षेत्रलाई ध्वजापतकाले सिंगारिन थालिएको छ ।

बन्दीपुर क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने लक्ष्यका साथ आयोजना गरिएको महोत्सवले स्थानीय आदिवासी जनजातिहरुको परम्परागत भाषा, संस्कृति, रितिरिवाजको संरक्षण एवं प्रवर्द्धन गर्दै स्थानीय स्तरमा उत्पादित कृषि उपजलाई बजारीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ ।
आदिवासी जनजातिको भाषा, कला, रहनसहन, संस्कृति आदिलाई प्रवर्द्धन र संरक्षण गर्दै, कृषि, साहित्य, कला, सांस्कृतिक पर्यटन प्रवर्द्धनका साथै प्राकृतिक स्रोत र साधनको अधिकत्म उपायोग गर्ने माध्यमका रुपमा महोत्सव आयोजना गरिएको र महोत्सवबाट भएको आम्दानीबाट बन्दिपुरमा आदिवासी जनजातिको संग्रालय र सामुदायिक भवन निर्माणमा खर्च गरिने महोत्सवका निर्देशक ध्रुबलाल प्रधानले बताए ।

यस्तै, महोत्सवमा पदयात्रा, जलविहार, गुफा अवलोकन, धार्मिक एवं पर्यटकीय स्थलको भ्रमण, हेलिकप्टरबाट दृश्य अवलोकन महोत्सवको आकर्षण रहेको बताइएको छ । महोत्सवमा व्यापारिक तथा स्थानीय सामाजिक संघ सस्थाको सहयोग र सहभागितामा गर्न लागिएको महोत्सवका निर्देशक एवं प्रचारप्रसार समितिका संयोजक सुबोध अधिकारीले बताए ।

स्थानीय उत्पादन मास, अदुवा, सुन्तला, तरकारी, खसीबोकाको प्रवर्द्धन गर्न किसानहरुलाई प्रोत्साहित गरिने महोत्सवको निर्देशक सरिता पियाले बताइन् । महोत्सवबाट हुने लाभ सिमित व्यक्तिले मात्र उपभोग गर्ने भन्दा पनि स्थानीय सबैले लाभ लिने हिसाबाट महोत्सवलाई सञ्चालन गर्ने तयारी गरिएको निर्देशक पियाले जानकारी गराइन् ।

मनाङ, लमजुङ, गोरखा र तनहुँ जिल्लाको व्यापारिक नाकाको रुपमा रहेको डुम्रे बजारमा आयोजना गरिएको महोत्सवको झिंगु नेवाः पुचः डुम्रे, नेपाल खड्गी सेवा समिति, पिछडा वर्ग सञ्जाल समिति, गुरुङ समाज, मगर समाज, नेवाः पुच, मिसा नेवाः पुच, नेपाल चेपाङ (पजा) संघ, तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाई, मिलनगर, भन्सार बजार इकाई लगायतका स्थानीय विभिन्न संघ संस्थाहरु सहआयोजक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker