सिरिजंगाको लामाले किन गरे हत्या ? सिरिजंगालाई यसरी चिनौँ

लिम्बु लिपिका संस्थापकको कथा

अर्जुनबाबु माबुहाङ

लिम्बु भाषा, लिपिका सर्जक, अन्वेशक शहिद सिरिजङ्गाको जन्मजयन्ती लिम्बुवानका विभिन्न ठाउँहरूमा मनाउने चलन छ । इतिहासकार इमानसिं चेम्जोङका अनुसार सिरिजङ्गाको जन्म सन् १७०४ मा याङरुपको सिनाममा मंसिर पूर्णिमाका दिन भएको हो ।

को हुन् सिरिजंगा ?
सिरिजंगा सिं (थेबे) थरी लिम्बू गलिजङ्गाका नाति थिए । उनको हत्या सन् १७४१ मा पश्चिम सिक्किमको मार्ताममा भएको थियो । पेमायोन्चि गुम्बाका तिब्बेतियन लामाहरूद्वारा उनको हत्या गरिएको थियो ।

नेपाल सरकारले सिरिजङ्गाको तस्वीर अंकित हुलाक टिकटसमेत प्रचलनमा ल्याइसकेको छ । कक्षा १० को पाठ्यक्रममा सिरिजङ्गालाई जातीय अस्तित्वका रक्षक, अध्यात्मवादी समाज सुधारक, महान उपदेशक, ज्ञानका पुञ्ज, किराती लिपिका पुनरुत्थापक र प्रचारक, भाषा, धर्म र संस्कृतिका उत्थानकर्ता भनेर भनिएको छ ।

सिरिजंगाले चलाएको लिपिलाई नै सिरिजङ्गा लिपि भनिन्छ । जुन किरातहरुको आफ्नो लिपि हो । सिरिजङ्गाका बारेमा थाहा पाउन हामीले हडसन पाण्डुलिपिका बारेमा बुझ्नुपर्ने हुन्छ । बेलायती विद्वान ब्रायन हडसन नेपालमा रेजिडेण्ट भएर सन् १८२० देखि सन् १८४५ रहिसके पश्चात पनि फेरि १८४५ देखि १८५८ सम्म दार्जिलिङमा बसेका थिए । त्यहाँ रहँदा उनले पूर्वी नेपाल र सिक्किमका लिम्बूगाउँहरूबाट लिम्बूजातिका बारेमा सिरिजङगा र उनका चेलाहरूले लेखेका लेखोटहरू संकलन गरे ।

हडसनले मैवाखोलाका जोभानसिं फागो, छथर ताङ्खुवाका गुनमान खजुम र च्याङ्ग्रेसिं फेदाङमालाई लिम्बूका मुन्धुम, संस्कार, भाषा, इतिहास भन्न र लेख्न लगाएर संकलन गरेका थिए । यस्ता लिम्बुका सामाग्रीहरू हडसन पाण्डुलिपिका रूपमा हाल इण्डिया अफिस लाइब्रेरी लण्डनमा सुरक्षित छ । सन् १९५५ मा प्रोफेसर आर.के.स्प्रिङले हडसन पाण्डुलिपिमा पाइएका केही लिम्बु सामाग्रीहरू नेपाल ल्याएपछि इमानसिंह चेम्जोङले त्यसको अध्ययन गर्ने मौका पाए ।

उनले पाण्डुलिपिमा पाइएका सिरिजङ्गाका लेखोटहरूलाई सन् १९६१ मा ‘किरात मुन्धुम खाहुन’ भनेर प्रकाशमा ल्याएपछि मात्रै सिरिजङ्गाका बारेमा चर्चा परिचर्चा हुन थालेको भन्दा पनि हुन्छ । केही वर्ष अगाडि मात्र लिम्बू भाषा संस्कृतिका प्रकाण्ड विद्वान बैरागी काइँला र इतिहासकार डा. रमेश ढुंगेलले त हडसन परियोजना मार्फत लण्डनको लाइब्रेरीमा नै गएर अध्ययन गरे ।

पाण्डुलिपिमा पाइएका लिम्बु सामाग्रीका बारेमा बैरागी काइँलाले धेरै कुराहरू प्रकाशमा ल्याइदिए । त्यस्तै डा. ढुंगेलले पनि सिरिजङ्गाका बारेमा तथ्य कुराहरू बाहिर ल्याइदिए । यद्दपि यस्ता सामाग्रिहरू लिम्बू भाषा, इतिहास र संस्कृतिका अगुवा अभियन्ताहरूको दराजदेखि बाहिर अझै निस्कन सकेको छैन ।

बेलायती भूतपूर्व सैनिकहरू हर्कजङ्ग कुरुम्बाङ, गम्भीरध्वोज तुम्बाहाङफे लगायत उहाँका साथीहरूले हडसन पाण्डुलिपिमा पाइएका लिम्बु सामाग्रीहरू लाइब्रेरीबाट फोटोकपी गरेर किरात याक्थुङ चुम्लुङमा पठाइदिएपछि हडसन पाण्डुलिपि अध्ययन गर्न जो कोहीलाई पनि सहज भएको छ ।

हडसन पाण्डुलिपिको खण्ड ७३ र ८८ मा सिरिजङ्गा आफैंले २० वर्णयुक्त बाह्रखरी अभ्यास गरेका पत्रहरू भेटिन्छन् । लिम्बु भाषा, लिपिमा मात्रै लेखिएका यस्ता पत्रहरूमा आफू ससुवा लिलिम याक्थुङहाङको सन्तानले मुबोक्वामा (तागेरा निङवाफुमामाङ/देव ) बाट पुस्तक भेटेको, बनाएको र लेख्न सिकेको भनेर चर्चा गरेका छन् ।

हडसन पाण्डुलिपिको खण्ड ८६ मा सिजिङ्गाका मुन्धुम र खाहुन (उपदेश)हरू भेटिन्छन् । मुन्धुमहरू जुन, घाम, आकाश, पानी, पशुपंक्षी, रुखपात, मनुष्यको उत्पत्तिसँग केन्दि्रत छन् ।

सिरिजंगाले पशुपंक्षीको उत्पत्ति पुधामलुङमा, साधामलुङमा भनेर ताप्लेजुङको इङलेक्पा पहाडलाई भनेका छन् । जसलाई आजभोलि मानाभरा भनिने गरिन्छ । त्यस्तै मानिसको उत्पत्ति इमि लुङधुङमा भएको भनेर लेलेपको लुङधुङ गाउँको गोला जाँदा बाटोमा पर्ने हल्लिने ढुंगा *(जसमा सानो ओढार पनि छ) लाई भनेका छन् ।

मुन्धुम अनुसार त्यहाँ लिम्बू जातिका पहिला पूर्खा मुजिङना खेयङनाका नातानातिनाहरू छुच्छुरु छुहाम्फेबा र तेत्लारा लाहादङ्नाहरू हाडनातामा बिग्रिएका थिए । सिरिजङ्गाले खण्ड ८८ का केही पत्रहरूमा वर्तमान ताप्लेजुङको पाथिभरादेवीलाई मुक्तिफोमामाङ/देउता लेखेका छन् ।

त्यस्तै मेहेले, सुरुङखिम, सादेवा, साप्लाखुमाथिको सिरिङचोक्मा भनिने डाँडालाई सिदिङचोक्मामाङ, फलैंचा च्याङथाप्पुको पहाडलाई चाङधुम्बो र फालेलुङ पाहाडलाई इसाङलेमामाङ भनेर देउ-देउताको नाममा चर्चा गरेका छन् ।

खण्ड ८६ कै धेरै पत्रहरूमा खाहुन (उपदेश) को बढी चर्चा छ । देउतालाई स्तुति गाएर रिझाउनुपर्ने, घर बिगि्रएमा दुःख पाइने, गाउँ बिग्रिएमा बिमार निस्कने, एक अर्कामा मानमनितो पुग्यो भने भेला भइने, नोकर चाकरलाई खान दिएर रिझाउनुपर्ने, बिगार गर्ने मान्छेलाई शिकारमा पठाएर तह लगाउनुपर्ने जस्ता कुरा उल्लेख छन् ।

त्यसैगरी श्रीमतीको स्वाभाव राम्रो नभए कुरा काटिने, खर राम्रो छापिएन भने छाना चुहिने, चुुला मिलेन भने आगो नबल्ने, ओछ्यान नमिलेमा शरीर दुख्ने, बच्चाहरूलाई दूध पिलाएर फकाउनुपर्ने, मान्छेलाई बानी ब्यहोरा राम्रो सिकाएमा सज्जन बन्ने, मीठो मात्रै खाएमा कङगाल भइने, भीरमा पानी लगाइदिए हराउने, पहिरोले मात्रै ढुंगालाई बगाउने, मीठो स्वरमा गाइयो भने फूल जग्मगाएर आउने, दह्रो ढुंगाको मूल खाँबो राम्रो हुने, लेखाइ राम्रो भएमा मात्र राम्रो चित्र कोरिने आदि, इत्यादि सिरिजंगाको उपदेशमा पाइन्छ ।

सिरिजङ्गाले आफैं लेखेका लेखोट अध्ययन गर्न निकै चर्को पर्छ । उनले शब्दहरू असरल्ल ढंगले लेखेका छन् । बिराम राखिए पनि वाक्य बन्न अर्को विरामसम्म पनि पुग्नुपर्ने हुन्छ । कतिपय शब्दहरू सिरिजङ्गा आफैंले बनाएका छन् । वाक्य बुझ्न एउटै व्यञ्जन संयोगले धेरै शब्दहरू अथ्र्याउनुपर्ने हुन्छ । मुन्धुमी शब्दहरू छन् । र, ती लिम्बु भाषा लिपिमा मात्रै लेखिएका छन् । यस्ता खण्डहरूको लिप्यान्तरण र उल्था पनि छैन ।

यी खण्डहरू अध्ययन गर्न पाण्डुलिपिकै ८५ खण्डका ‘लक्ष्मी सम्वाद’ पत्रहरू हेरेमा सजिलो हुने देखिन्छ । उक्त खण्डमा जोभानसिं फागोले सिरिजङ्गाले लेखेका मुन्धुम र उपदेशहरूलाई भ्याएसम्म उल्था गरेका छन् । त्यस्तै इमानसिं चेम्जोङको ‘किरात मुन्धुम खाहुन’ले पनि यसमा सहयोग गर्छ ।

सिरिजङ्गाले मुन्धुम र खाहुन लेख्ने क्रममा लामाहरूसँग सम्बन्धित मन्त्रहरू पनि लेखेका छन् । जस्तो- तोलिङ सोमु वरक चामे मुमे मिमे…आदि, इत्यादि । त्यस्तै सम्वोधनको क्रममा आफ्ना लामा गुरुहरूका नाम पनि लेखेका छन् । जस्तोः गेवा लामा, उगेन पोमा, गेवालानी… इत्यादि । त्यस्तै लामाखाम पाम.. लामाको ठाउँ लेखेका छन् ।

यसदेखि बाहेक उनले विभिन्न प्रसंगमा धर्म, पाप, पापी, चोरी, राजा, काशी, खण्ड, गोत्र, माहादेवा, गङ्गा जि, धुँवाखानी जस्ता शब्दहरू पनि प्रयोग गरेका छन् ।

सिरिजङ्गाका बारेमा सिरिजङ्गा पहिलो र सिरिजंगा दोस्रोका विषयमा मत मतान्तर छ । त्यस्तै सिरिजङ्गाको जन्म मितिलाई लिएर पनि मतमतान्तर रही आएको छ । हडसन पाण्डुलिपिमा सिरिजङ्गाले पुस्तक लेखेको, निकालेको चर्चादेखि बाहेक ठाउँ, ठेगाना समय केही पनि खुलाएको पाइँदैन ।

चेम्जोङले सिरिजङ्गाको जन्मस्थल ताप्लेजुङ जिल्लाको सिनाम भन्नुभए पनि सिनाममा सिंथेबे परिवारका लिम्बु छैनन् । तेल्लोकमा मात्रै छन् । सम्भवतः सिनाम गाउँको चर्चा बढी भएर होला, चेम्जोङले तेल्लोकको पनि परिचय सिनामबाटै सुनेको हुनुपर्छ ।

तिरिङगे र सिकैंचाबीच फावाखोलाको किनारमा सिरिजङ्गा फुक्कु (ओढार)मा सिरिजङ्गा लुकेर बसेको भनेर हाल सम्म पनि चर्चा गरिन्छ । काबेली, इवा, तावा खोलाका दोभान, किनारमा सिरिजङ्गा लुकेर हिँड्थे भन्ने लोकोक्ति पाइन्छ । बंगाली लेखक बाबु सरदचन्द्र दासले सन् १८८१ ब्ााट दार्जिलिङ हुँदै सिक्किमबाट लाशा सम्मको यात्रामा सिक्किमका हि (गाउँ), कालिखोला, लिङचोमका लिम्बूहरूले सिरिजङगालाई एक दैविक शक्तिका दाता र झारफुक गर्दै देवारीका रुपमा पाएको टिपोट गरेका छन् ।

उनले सिरिजङ्गालाई बुद्घष्टि गुरु पद्मसंभवको अवतारको रुपमा हिमालयन भुटीयाका रुपमा चिनिने नवौं शताब्दिका दैविक स्वभाव भएका देवबंशीका रुपमा प्रस्तुत गरेका छन् । उनै सिरिजङ्गाले लिम्बू लिपि पनि आविष्कार गरेको लेखेका छन् ।

त्यस्तै अर्का ब्रिटिश लेखक एच.एच. रिस्ले (सन् १८९४/१९७२) का अनुसार तागेरानिङवाफुमाङको आत्मा मुबोक्वामाको देहमा प्रवेश भएपछि मुबोक्वामाले पुस्तक निकालिन् । धेरै समयपछि याङरुपका दोर्जी लामा भनिने लिम्बू सिरिजङ्गाको देहमा मुबोक्वामाको आत्मा प्रवेश भयो ।

उनै मुबोक्वामाले सिरिजङ्गालाई ढुंगामा कोरिएको लिम्बू भाषाको लिपि देखाए । सिरिजङ्गाले लिम्बु लिपि लेख्ने प्रचार गर्ने क्रममा लिम्बू भाषा लिपि सिक्ने आफ्ना आठजना चेला बनाए । यस्तोदेखि सिक्किमका राजामा इर्ष्या भई राजकाजमा धोखा भएको भनेर टाछोङ (गोम्बा) भिक्षुहरूले सिरिजङ्गालाई पक्डिएर उनको दैविक आत्मा चराजस्तै उडेर जाओस भनेर चराको बिष्टा खुवाइदिए । उतिबेला नेपालमा प्रतापसिंह शाह राज्य गर्दै थिए, वा पृथ्वीनारायण शाह नै राजा थिए ।

सिरिजङ्गाको समय राजा प्रतापसिंह शाहसँग जोड्दा जोड्दै रिस्लेले नै सिरिजङ्गाका जन्म विक्रमजित (विक्रमादित्य) को राज्यकाल भन्दा ९५ वर्ष पछि अथवा सन् ३८ मा भएको भनेर पनि लेखेका छन् ।

हडसन पाण्डुलिपिका अध्येता इतिहासकार डा.रमेश ढुंगेलले पाण्डुलिपिको खण्ड ८८ को पत्र ६ (क) मा रुपिहाङले जयप्रकाश मल्ललाई पत्र लेखेको भनेर यसरी उल्लेख गरेका छनः- पाठ ‘स्वस्ति श्री सरव मंग (लं) (म) महाराज झा व्रराकाास मल जय । श्री रुपिहां र योको सेव । सेव ।’ उक्त पत्रमा एकातिर बाह्रखरी लेखेर उल्टोपट्टिबाट माथिका पङ्क्तिहरू लेखिएका छन् । ‘सरव मंग’हो वा ‘सवव म’ अलिकति प्रष्टिन नसके पनि बाँकी टिपोट भने ठीक छ । उहाँका अनुसार रुपिहाङले जयप्रकाश मल्ललाई पत्र लेखेर छोडेको बुझिएकाले यी हरफहरू शिरिजङ्गा आफैंले तयार गरेकोले सिरिजङ्गा नै नाम रुपिहाङ हुन् । रुपिहाङको नाम भने हडसन पाण्डुलिपिका अरु खण्डहरूमा भेटिँदैनन् । बरु इमानसिं चेम्जोङले सिरिजङ्गाका चेला योङजोङगाको उपदेशको चर्चा गरेको पाइन्छ ।

रुपिहाङलाई नै स्वयम सिरिजङ्गा हुन भन्न त गाह्रो होला । तर, सिरिजङ्गाका समकालीन आठजना चेलामध्ये एउटा प्रमुख चेला चाहिँ अवश्य हुन सक्छन् । त्यस्तै प्रेमबहादुर माबोहाङ र भुपेन्द्र शर्मा ढुङ्गेल (वि.सं २०११/२०४७) ले वि.सं १८४५ मा चयनपुरबाट लिम्बु भाषा, लिपि पढाउने सिरिजङ्गालाई गोर्खालीहरूले लखेटेका भनेर लेखेका छन् ।

वास्तवमा दास र रिस्लेका पुस्तकबाट हामी सिरिजङ्गा पहिलो र दोस्रो भएको भ्रममा परेको जस्तो लाग्छ । रिस्लेले त मुबोक्वामा (तागारा निङवाफुमा) ले निकालेको पुस्तकलाई सिरिजङ्गाले पुनर्लेखन गरेको भनेर प्रष्ट लेखेका छन् । मुबोक्वामा त देउतालाई भनिएकाले लेखनको सुरु गर्ने नै एउटै मात्र सिरिजङ्गा भएको प्रष्टिन जान्छ ।

तिनै सिरिजङ्गा जसले लामा गुरुहरूबाट धेरै बौद्घष्टि मूल्य मान्यताहरु सिकेका थिए । यसकारण उनलाई नै गुरु पद्मसंभवका अवतारका रुपमा पनि चिनियो । उनलाई नै हिमालयन भुटिया पनि भनियो । याङरुपका दोर्जी लामा पनि भनियो ।

चेम्जोङले सरतचन्द्र दासले भने जसरी पद्मसंभवको अवतारी नवौं शताब्दीकालाई पहिलो सिरिजङ्गा र एच. एच.रिस्लेले भने जसरी विक्रमादित्यको शासनकाल पछिकालाई दोस्रो सिरिजङ्गा बनाएर दोस्रो सिरिजङ्गाको त जन्म मिति सन् १७०४-१७४१ तोकिदिए ।

वास्तवमा सिरिजङ्गा एउटै मात्र देखिन आउँछन् अठारौं शताब्दीको पूर्वार्द्घकालका । रिस्लेले भने जसरी सिरिजङ्गाका समयमा प्रतापसिंह शाह वा उनका बाबु पृथ्वीनारायण शाहको शासनको चर्चा हुनु, डा. रमेश ढुंगेलले पाण्डुलिपिबाट टिपोट गरे जसरी सिरिजङ्गाका समकालीन चेला रुपिहाङले जयप्रकाश मल्ललाई पत्र लेख्नु र वि.सं १८४५ मा चैनपुरबाट सिरिजङ्गा लखेटिनु जस्ता घटना र परिस्थितिका समयकालहरू धेरै नजिकिन्छन् ।

किन भयो सिरिजंगाको हत्या ?
पाण्डुलिपिको खण्ड ७३ को पत्र १५६ (दुई थान) मा सिरिजङगाले नै लिम्बू लिपि बनाएर लेखन सुरु गरेपछि लिम्बूहरू ज्ञान, बौद्घष्टिका धनी भएपछि राजकाजमा विद्रोह उठाउँछन् भनेर लामाहरूले उनको हत्या गरेको प्रष्ट पढ्न पाइन्छ ।

पश्चिम सिक्किमको मार्ताम गाउँको चिप्लेटी ढुंगामा आफ्ना चेलाहरूलाई लिम्बू भाषा लिपि पढाइरहेका बखत टासोङ भिक्षुहरूले सिरिजङ्गालाई पक्डिएर चराको बिस्टा खुवाई रुखमा बाँधेर धुनकाँणले हानी हत्या गरी रेसी खोलामा बगाइदिए ।

बौद्घ र हिन्दु दुइटै सभ्यताबाट पनि दीक्षित सिरिजङ्गाले संकलन गरेका मुन्धुम र खाहुनहरूमा लिम्बु जातिको सामाजिक विकासको इतिहास भेटिन्छ । लिम्बू जातिको दर्शनको प्रारुप पनि पाइन्छ । लिम्बु शब्दहरूको त भण्डार नै भेटिन्छ र सिरिजङ्गाका बारेमा थप अनुसन्धान र उनका कार्यको विशेषगरी उनले आविश्कार गरेको सिरिजङ्गा लिपिको प्रचार-प्रसार गर्न सके सिंगो विश्वमा नेपालको सभ्यताको परिचय बन्ने निश्चित छ ।

(लेखक किरात संस्कृतिका अध्येता हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker