लोकतन्त्रमाथि तरबार

दीपकुमार उपाध्याय
उपनिर्वाचनमा भाग लिएका राजनीतिक दलले कर्मअनुसार फल प्राप्त गरे। तीन तहका सरकारका कार्यशैली मतदानमा देखियो। कतिपय ठाउँमा अघिल्लो निर्वाचनभन्दा भिन्न परिणाम आउनुका कारण सत्ता पनि बन्यो। दलहरू नागरिकका परीक्षामा पनि उत्तीर्ण हुनुपर्दो रहेछ भन्ने पुष्टि पनि उपनिर्वाचन परिणामले देखायो। कतिपय महत्त्वपूर्ण ठाउँमा सत्तासीन नेकपा पराजित भयो भने ती ठाउँमा विजय हासिल गरेको प्रतिपक्षलाई पनि त्यति उत्साहित हुनुपर्ने परिणाम आएन। थोरै ठाउँमा निर्वाचन भए पनि नतिजाले नागरिकप्रति उत्तरदायी बन्नुपर्ने सवक सिकाएको छ। यसलाई सकारात्मक संकेतका रूपमा बुझ्नुपर्छ। यही गति कायम राखेर अबका दिनमा जनविश्वास हासिल गर्न सकिन्छ भन्ने भ्रमबाट ठूला भनिएका दल पनि मुक्त हुन आवश्यक छ। विचारमा स्पष्टता, राजनीतिमा निष्ठा र इमानदारी नागरिकका अपेक्षा हुन्। विद्यमान राजनीतिक पुस्तामा यी तीनै वस्तुको खडेरी छ। अब आलोचना, आरोप–प्रत्यारोप, ढाँट र छलको राजनीति बिकाउ हुन सक्दैन भन्ने चेतना सत्तासीन र प्रतिपक्षी दुवै दलले मनन गर्न आवश्यक छ।

नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा झण्डै दुईतिहाइ बहुमतको सरकार छ। २२ महिनाको अवधिमा सरकारका गति, मति र प्रवृत्तिमा खासै सुधार हुन सकेको छैन। आवरणमा संघीय लोकतान्त्रिक भनिए पनि शैली हुकुमी नै छन्, राणा र निर्दलीय व्यवस्थामा जस्तै। यही शैलीको निरन्तरता कायम रहे आगामी निर्वाचन सत्ताका पक्षमा रहन सक्दैन भन्ने सन्देश धरानको मतपरिणामले दिएको छ।

संवैधानिक अंगलाई आफ्ना पक्षमा पार्ने मात्र नभई लोकतन्त्रका आधारभूत मान्यता कानुनी शासन, मानव अधिकार र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने चलखेल भइरहेका छन्। संविधानका मौलिकता मास्ने काम भइरहेको छ। मिडिया काउन्सिल, राष्ट्रिय सुरक्षा परिषद्, मानवअधिकार आयोगको स्वतन्त्रता र कार्यक्षेत्र, गुठी व्यवस्था, महालेखा नियन्त्रक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वायत्ततालाई नियन्त्रण गर्ने प्रयास संसद्मा प्रस्तुत विधेयकका मस्यौदाबाट स्पष्ट हुन्छ।

सेवानिवृत्त राष्ट्रसेवकले सरकारको आलोचना गरे निजको खाइपाइ आएको निवृत्तिभरण रोक्कासमेत गर्नेसम्मका हर्कत हुकुमी शैलीलाई निरन्तरता दिने अभ्यास हो। यस्ता प्रवृत्ति र गतिविधिको निरन्तरता कांग्रेस मात्र होइन, लोकतन्त्रमा विश्वास गर्ने सबैलाई चुनौती हो। के यस्ता गतिविधिलाई निरन्तरता दिएर संविधानको रक्षा हुन्छ त रु रंगशालामा पत्रकारमाथिको आक्रमणलाई सरकारको निरंकुश शैलीको पहिलो रिहर्सल किन नभन्ने रु सर्वत्र उठिरहेका यस्ता प्रश्नको प्रतिवाद कसले र कसरी गर्ने त।

सरकारलाई हुकुमी शैलीबाट चल्न नदिन संसद्बाट सचेत र सजग गराउने जिम्मेवारी प्रमुख विपक्षी कांग्रेसकै हो। कांग्रेसका कतिपय सांसदले सरकारका हुकुमी शैलीविरुद्ध आवाज उठाउँदै आएका पनि छन् तर ती प्रभावकारी भएका छन् कि छैनन् त भन्ने समीक्षा गर्न जरुरी छ। त्यसो त कांग्रेस आफैं एक भएर आदर्शमा हिँड्न सकेको छैन। उपनिर्वाचनमा भने एकता प्रदर्शन गर्न सफल देखियो परिणाम जस्तो आए पनि। आफूभित्रका विभाजित मत बिर्सेर एकसूत्रीय रूपमा प्रस्तुत पनि भयो। यसलाई सकारात्मक मान्नुपर्छ। धरानको विजयलाई मात्र कांग्रेसको सफलता मान्न सकिन्न।

हो, यतिबेला कांग्रेस आकर्षणको केन्द्रमा छैन। हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टी किन ओझेलमा परेको छ त रु सरकारप्रतिका निराशा र असन्तुष्टिबाट आजित नागरिकले यतिबेला खोज्ने कांग्रेसलाई नै हो तर ऊ आन्तरिक क्रियाकलापकै कारण आलोचित भइरहेको छ। गुठी आन्दोलन, रवि लामिछाने प्रकरण होस् या गोविन्द केसीको अनशनको समर्थनमा जनमानस उल्टिएर अग्रमोर्चामा प्रस्तुत भयो। तर कांग्रेसले गरेका कार्यक्रममा किन त्यो किसिमको आकर्षण छैन रु संघीय व्यवस्थासहितको संविधान घोषणको अगुवाइ गरेको कांग्रेसप्रति किन आकर्षण घट्दै गएको हो रु यो प्रश्नको उत्तर आफैंभित्र खोज्नुपर्छ। सरकार संविधान कुल्चेर अघि बढ्दासमेत संविधान घोषणाको नेतृत्व गरेको कांग्रेस किन मौन छ भन्ने जनआवाज विस्तारै मुखरित भइरहेका छन्।

देश संघीय संरचनामा गए पनि कांग्रेस त्यसअनुकूल अघि बढ्न सकेको छैन। पार्टीले दुईदुईपटक जागरण अभियान चलायो। पहिलो जागरण अभियानमा निर्वाचनमा लज्जास्पद हारका कारण खोज्न कार्यकर्ताले सुझाएका थिए तर हारको दोष नेतृत्वले लिन चाहेन। दोस्रो जागरणमा पनि त्यति उत्साह देखिएन। कार्यकर्ताका प्रश्नको उत्तर दिन नसक्ने नेतृत्वबाट पार्टी गतिशील बन्न सक्दैन पनि। दायित्वबोध नभएपछि सबैको प्रिय बन्न सकिँदैन। नेतृत्वको अदूरदर्शी सोच, शैली र कार्यप्रणाली निर्वाचन हारको कारण थियो। कार्यकर्ताले पनि त्यही इंगित गरेका थिए। कार्यकर्ताको एउटै सुझाव थियो र छ— जागरण कार्यकर्ता तहमा होइन केन्द्रीय तहमा आउन आवश्यक छ। माथिल्लो तहले चेतोस्, माथिल्लो तह जागृत होस् भन्ने धारणा सबैतिरबाट आयो। किनकि हिजोको जस्तो मूल्य, मान्यता, आदर्श, नैतिकता र सदाचार सबै गुटबन्दीको सिकार भयो। यो संस्कृति आगामी महाधिवेशनसम्म जारी रहने निश्चित छ।

बीपी निर्णय गर्न कठिन भयो भने जमिनको एक मुठी माटो हातमा लिएर सोचौं भन्ने गर्थे। तर पार्टी अनिर्णयको बन्दी बन्दासमेत बीपीको त्यो सुझाव मान्न आजका मितिसम्म कोही पनि तयार देखिँदैन। कम्तीमा आफ्नो विवेक प्रयोग गरेर अन्तरहृदयबाट सत्य के हो, असत्य के हो पहिचान गरेर सत्यका पक्षमा उभिने संकल्प गरौं।

नेताहरूले अब हामीले गुटबन्दी गर्दैनौं, हिजो जे भयो, भयो अब त्यस्तो गल्ती दोहोरिँदैन भनेर केन्द्रीय समितिले एउटा संकल्प प्रस्ताव पास गरोस् सर्वप्रथम। त्यो किसिमको प्रस्ताव ल्याउने संकेतसम्म कसैले देखाउँदैन। कम्तीमा शुभेच्छुक संस्था नेविसंघ र तरुण दलजस्ता पार्टी पिलरलाई समेत मतबुत राख्न सकेको भए प्रश्न गर्ने ठाउँ उठ्ने थिएन। ती पिलर अहिले आन्तरिक शक्तिसंघर्षको सिकार भएका छन्। यसको जिम्मेवारी नेतृत्वको नाताले सभापतिले लिनुपर्छ। नैतिकताको मापन पनि यसैमा निर्धारित छ। आफ्नो पक्षको उपस्थितिका लागि नेताहरू हदैसम्म गिरेको अवस्था छ। अझै जागरण चेत पलाउन सकेको छैन। कांग्रेस आकर्षणको केन्द्र बन्न नसक्नुको परिणाम आपसमा व्यक्ति, व्यक्तिका पूर्वाग्रह, अभीष्ट र स्वार्थ नै हो। मूल्य, मान्यता र आदर्श राजनीति गरेका भए यो अवस्था आउने नै थिएन। एकले अर्कालाई दोषारोपण गर्ने र उम्किने प्रवृत्ति कहिल्यै हट्न सकेन। संस्थापन भन्छ– अर्को पक्षले काम गर्न दिएन, अर्को पक्ष भन्न नेतृत्वले काम गर्न सकेन। आजका दिनदेखि व्यक्तिगत स्वार्थ मैले छाडें भन्ने संकल्प किन नेतृत्व तहमा बस्नेले गर्न सक्दैन रु सबैभन्दा पीडादायी अवस्था हो यो।

पार्टीको नयाँ विधानअनुसार अब सबै नेता प्रतिस्पर्धाबाट केन्द्रीय तहका नेतृत्वमा आउनुपर्ने भएपछि थोरै भए पनि गुटको राजनीतिको अन्त्य हुने विश्वास गर्न सकिन्छ। आआफ्नो कर्मका आधारमा स्थान सुरक्षित हुने भएपछि केही आशा भने पलाएको छ। अब कसैले कसैलाई सुध्रियोस् नभनेर आफैं सुध्रिने संकल्प आजको आवश्यकता हो। बीपी निर्णय गर्न कठिन भयो भने जमिनको एक मुठी माटो हातमा लिएर सोचौं भन्ने गर्थे। तर पार्टी अनिर्णयको बन्दी बन्दासमेत बीपीको त्यो सुझाव मान्न आजका मितिसम्म कोही पनि तयार देखिँदैन। कम्तीमा आफ्नो विवेक प्रयोग गरेर अन्तरहृदयबाट सत्य के हो, असत्य के हो पहिचान गरेर सत्यका पक्षमा उभिने संकल्प गरौं। हामी आजबाट व्यक्तिगत रूपमा कुनै नेताका पछाडि लाग्दैनौं, मेरिट बेसमा पार्टीले गरेको विवेकसम्मत निर्णय मान्न हामी तयार छौं भन्ने संकल्प कार्यकर्ता तहबाट आउने हो भने नेतृत्व लाचार भएर पनि त्यो निर्णय मान्न तयार हुन्छ। मूल्य, मान्यता र इमानदारको राजनीतिलाई स्थापित गर्ने हो भने त्यो अभियान तत्काल चलाउनुपर्छ।

नेतृत्वका लागि आगामी महाधिवेशनमा हामीले योग्य व्यक्तिलाई चुन्नेबाहेक अर्को विकल्प हामीसँग छैन। माथि भनिए झैं आउँदो महाधिवेशनसम्म नेतृत्वका क्रियाकलाप सुध्रिने संकेत देखिएको छैन। नेतृत्वले सुधार गर्ला भन्ने आशा झन्झन् क्षीण हुँदै गएको छ। एकले अर्कालाई दोषारोपण गर्ने र समस्या यथावत् पाल्ने संस्कृतिबाट लोकतन्त्रका विश्वास गर्ने कार्यकर्ता आजित भएका छन्। आफ्नै सहकर्मीको पराजयमा खुसी हुने संस्कृति कायम रहेसम्म पार्टी पराजित भइरहने छ।

लोकतन्त्रका नारा जपेर मात्र लोकतन्त्रवादी भइँदैन। एउटा निर्वाचन हार्दैमा ऐतिहासिक छवि सकिँदैन। विचार, मूल्य र मान्यता र निष्ठा म¥यो भने पार्टीको अस्तित्व रहँदैन। त्यसैले हामी सबैले एउटा कांग्रेसीको हार सबैको हार हो भन्ने संकल्पसहित एकजुट हुनुपर्छ। किनकि हरेक कोणबाट हामी यतिबेला इतिहासकै संवेदनशील मोडमा छौं। सरकारले लोकतन्त्रमाथि तरबार तेस्र्याएको छ। त्यसैले पनि विमति र आग्रह–पूर्वाग्रहहरू थाँती राखेर कांग्रेस कार्यकर्ताका मात्र नभई सिंगो मुलुकवासीको पथप्रदर्शक हुन सक्नुपर्छ। गुट–उपगुट र अन्तर्घातको राजनीति सकिएको सामूहिक उद्घोष गर्नुपर्छ। परम्परागत भूमिकाले न पार्टी बलियो हुन्छ न त जनताका पथप्रदर्शक नै बन्न सकिन्छ। संसद्मा पनि प्रतिपक्षको भूमिका आमनागरिकले देख्ने र सुन्ने गरी नयाँ ढंगले निर्वाह गर्न जरुरी छ।

सरकार अधिनायकवादी र आफ्नो अनुकूलको शासन व्यवस्था लाद्न उद्यत् छ। निर्वाचित राष्ट्रपतिको फ्रेमवर्कमा जाने तयारी गरिरहेको छ। जनता जागेनन् र सरकारका विद्यमान शैली कायम रहे भने अधिनायकवाद आउन सक्छ। यसतर्फ जनतालाई सचेत र सजग गराउन पनि कांग्रेस एकजुट भएर मैदानमा उत्रनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker