असार मसान्त सम्ममा गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने–मन्त्री बस्नेत

राजेश पौडेल, गोरखा संसार

गोरखा,मंसिर २१
गण्डकी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण वस्नेतले असार मसान्त सम्ममा गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने बताउनुभएको छ । पालुङटार सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री वस्नेतले असार मसान्त सम्ममा प्रदेशका ठूला, साना, वस्ती र घरहरु नभनीकन सबै घरहरुमा बत्तीको व्यवस्था गरि गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने बताउनुभएको हो । सोहि अवसरमा उहाँले प्रदेश सरकारले अवको पाँच वर्षमा देखिने गरि स्थायी संरचना सहितको विकास गर्ने बताउनुभएको छ । मन्त्री वस्नेतले प्रदेश सरकारले दिगो विकासका लागि एक घर एक धारा, प्रत्येक स्थानिय तहमा पिच सडक, ठूला नदीहरुमा मोटरेवल पुलको व्यवस्था गरिने वताउनुभएको छ । सोहि अवसरमा उहाँले वर्तमान सरकार हातमा ठेला उठाउनेहरु, पसिना तपतप चुहाउनेहरु र श्रम गर्नेहरुको प्रतिनिधित्व गर्ने र जनताका समस्याहरु संग हातेमालो गर्ने सरकार भएकाले यो सरकार जनता प्रति उत्तरदायी रहेको विश्वास व्यक्त गर्नुभयो । उद्योग च्याङलीमा हुन्छ की हुँदैन, हाईटेन्सन लाईन कतातिर जान्छ भन्ने कुरा प्रदेश सरकारलाई राम्रो संग थाहा भएको भन्दै च्याङलीमा औद्योगिक क्षेत्र निर्माणको लागि प्रदेश सरकारले प्रक्रिया अगि बढाईरहेको र प्रदेश सरकारले प्रत्येक गाउँपालिका र नगरपालिकाहरुमा उद्योगिक ग्राम बनाउने तयारीमा रहेको र कतिपय स्थानिय तहहरुले जग्गाको व्यवस्था समेत मिलाइ सकेको बताउनुभएको छ । प्रदेश सरकार गोरखा र नवलपुरमा ठूला द्यौद्योगिक क्षेत्रको विस्तार गर्ने पक्षमा रहेको भन्दै मन्त्री वस्नेतले गोरखामा औद्योगिक क्षेत्रको विस्तार गर्न सकियो भने गोरखालीहरुले रोजगारीको अवसर पाउने बताउनुभयो । सोहि अवसरमा मन्त्री वस्नेतले सहकारीहरुले सिर्जनात्मक र रचनात्मक काम भन्दा पनि उत्पादन मुलक काम गर्नु पर्ने र फर्महरु सञ्चालन गर्नु पर्ने बताउनुभयो । उहाँले गाउँ गाउँमा होम स्टे सञ्चालन गर्न जनतालाई सहभागी बनाउने, विदेशीहरु गाउँ गाउँमा ल्याउने र आफ्नै ढोकामा डलर कमाउने बताउनुभयो । सोहि अवसरमा मन्त्री वस्नेतले सहकारी भनेको गरिवहरुको आर्थिक जीवनमा रुपान्तरण गर्नका लागि खोलिएको संस्था भएकाले सहकारीको मुल्य र मान्यता अनुसार काम गर्नु पर्नेमा जोडदिनुभयो । सोहि अवसरमा उहाँले पालुङटार सहकारी संस्थाको भवन निर्माण गर्नको लागि प्रदेश सरकारले चिनोको रुपमा भए पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको विषेश अतिथि समेत रहनुभएका प्रदेश सभा सदस्य हरिशरण आचार्यले पालुङटारमा औद्योगिक क्षेत्र स्थापना गर्नबाट रोक्न केहि जग्गा दलालहरुले चलखेल गरिरहेको र हामीबाट त्यो अन्त उछिट्टिने खतरा बढेको बताउनुभयो । त्यसको लागि स्थानिय तहले त्यस भुगोलका बासिन्दाहरु संग अन्र्तक्रिया गर्ने वातावरण नबनाएको हुँदा समस्या समाधान गर्न गाह्रो भएको बताउनुभयो । सोहि अवसरमा आचार्यले सहकारी सहकार्यको माध्यम बनाउने संस्था भएकाले पालुङटार सहकारी सबैको भावनालाई एकताबद्ध संस्था बन्ने विस्वास व्यक्त गर्नुभयो ।
सोहि कार्यक्रममा पालुङटार नगरपालिकाका नगर प्रमुख दिपक बाबु कंडेलले सहकारीहरुले उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । सोहि अवसरमा उहाँले पालुङटार नगरपालिका सहकारीहरुसंग हातेमालो गर्दै अघि बढ्न चाहेको बताउनुभयो । पालुङटार नगरपालिकाको उपप्रमुख पम्फा बसेलको उपस्थिति रहेको कार्यक्रममा पालुङटार नगरपालिका वडा नं.४ का वडा अध्यक्ष ठाकुर कान्त रानाभाट, नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश कमिटी सदस्य जुद्ध विलास भण्डारी, नेपाली कांग्रेस नगर कमीटीका सचिवविमल ढकाल, समाजवादी पार्टीका नगर संयोजक अशोक देवकोटा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । पालुङटार सहकारी संस्थाका अध्यक्ष कमल बोगटीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सहकारीका सचिव सूर्य कुमार श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker